साउनदेखि बढ्यो श्रमिकको न्यूनतम पारिश्रमिक, मासिक १५ हजार रुपैयाँ पाउने

0
Shares

सरकारले वृद्धि गरेको निजी क्षेत्रका श्रमिकको न्यूनतम् पारिश्रमिक साउनदेखि कार्यान्वयनमा आएको छ ।

सरकारले यही साउन १ गतेदेखि लागू हुने गरी चिया बगान बाहेकका श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गरी मासिक १५ हजार पु¥याएको छ ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय मजदूर दिवसका दिन श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गरी १५ हजार पुु¥याउने घोषणा गरेका थिए ।

अब श्रमिकले आधारभूत पारिश्रमिक बापत ९ हजार ३८५ र महँगी भत्ताबापत ५ हजार ६१५ गरी मासिक १५ हजार रुपैयाँ पाउनेछन् । दैनिक ज्यालादारीमा काम गर्ने श्रमिकको आधारभूत पारिश्रमिक ३६१ र महँगी भत्ता २१६ गरी प्रतिदिन ५७७ रुपैयाँ पाउनेछन् ।

यस्तै घन्टाको हिसाबले काम गर्ने श्रमिकको आधारभूत पारिश्रमिक ४८ र महँगी भत्ता २९ गरी प्रतिघन्टा ७७ रुपैयाँ पुगेको छ ।

यसअघि श्रमिकको न्यूनतम पारिश्रमिक मासिक १३ हजार ४५० रहेको थियो । श्रम ऐन, २०७४ मा प्रत्येक दुई/दुई वर्षमा श्रमिकको न्यूनतम पारिश्रमिक पुनरावलोकन गर्ने प्रावधान छ ।

श्रम ऐनअनुसार गत वर्ष नै न्यूनतम् पारिश्रमिक पुनरावलोकन हुनुपर्ने भए पनि कोरोना महामारीका कारण अर्थतन्त्र ओरालो लागेको भन्दै सरकारले यस वर्ष मात्र पारिश्रमिक वृद्धि गरेको हो ।

रोजगारदाताले सरकारले तोकेको पारिश्रमिकका अतिरिक्त श्रम ऐन, २०७४, योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, २०७४ र प्रचलित कानून बमोजिम श्रमिकले पाउने सञ्चयकोष तथा उपदान लगायत सुविधा प्रदान गर्नुपर्ने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।

सरकारले तोकेको न्यूनतम् पारिश्रमिकभन्दा कम पारिश्रमिक लिनेदिने गरी कुनै रोजगार सम्झौता गर्न नपाइने मन्त्रालयले स्पष्ट पारेको छ । श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धिसम्बन्धी सूचना २०७८ वैशाख २० गते राजपत्रमा प्रकाशित भइसकेको छ ।

चिया बगानका श्रमिकको पारिश्रमिक १२ हजार ८१

यसैबीच सरकारले चिया बगानमा काम गर्ने श्रमिकको न्यूनतम पारिश्रमिक तोकेको छ । श्रम मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै चिया बगानमा काम गर्ने श्रमिकको पारिश्रमिक मासिक १२ हजार ८१ तोकेको हो ।

यसअघि चिया बगानका श्रमिकको न्यूनतम् पारिश्रमिक मासिक ११ हजार ५६१ रुपैयाँ  रहेको थियो । 

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ । 

प्रकाशित मिति: २ साउन २०७८, शनिबार  १४ : ४१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।