शेयर बजार पूँजीकरण हालसम्मकै उच्च बिन्दुमा, ४४ खर्ब ६८ अर्ब पुग्यो

0
Shares

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचकले नयाँ कीर्तिमान कायम गरेसँगै धितोपत्र बजारको कुल पूँजीकरण हालसम्मकै उच्च बिन्दुमा पुगेको छ ।

लगातार उकालोको यात्रा तय गरेको नेप्से आज नयाँ उचाइमा पुगेसँग बजार पूँजीकरण पनि हालसम्मकै ठूलो बनेको हो । बुधबार मात्रै धितोपत्र बजारको कुल पूँजीकरण ५४ अर्ब ७ करोडले बढेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से हालसम्मकै उच्च बिन्दुमा पुगेको हो ।

आजको कारोबारपछि बजार पूँजीकरण ४४ खर्ब ६८ अर्ब ५० करोड ५३ लाख ९२ हजार ९१ बराबर पुगेको छ ।

शेयर कारोबार हुने साताको चौथो दिन आज नेप्से ३२.०४ बिन्दुले बढेर तीन हजार १९२.३५ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.३८ बिन्दुले बढेर ५९६.६६ मा पुगेको छ । कूल २२५ कम्पनीको तीन करोड १४ लाख ३१ हजार ८५५ कित्ता शेयर १८ अर्ब ८१ करोड ३१ लाख ६४ हजार ९९५ मूल्य बराबरको कारोबार भयो ।

कारोबार भएका १३ उपसमूहमध्ये आज चार उपसमूहको शेयर ओरालो लागेको छ भने नौ उपसमूहको शेयर मूल्य बढेको छ । होटल तथा पर्यटन ०.३५, लघुवित्त १.५१, सामूहिक लगानीकोष ०.२१ र लगानी ०.२१ बिन्दुले घटेको छ । यस्तै, बैंकिङ १४.५, व्यापार २.३८, विकास बैंक २७२.४४, जलविद्युत् ५४.३९, वित्त १०३.५२, निर्जीवन बीमा २७६.१९, अन्य २४.९२ र जीवन बीमा १११.९७ बिन्दुले बढेको छ ।

कारोबारका आधारमा आज नेशनल हाइड्रोपावरक कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ७८ करोड ८७ लाख तीन हजार ५२० बराबरको कारोबार भयो ।

यस्तै, अपि पावर कम्पनी ६३ करोड ४६ लाख ७१ हजार ९२४, लुम्बिनी विकास बैंक ५९ करोड ७६ लाख ९३ हजार ९७६, महालक्ष्मी विकास बैंक ५७ करोड ६९ लाख १९ हजार ३७६ र ज्योति विकास बैंक रु ५६ करोड १५ लाख ४४ हजार ८९४ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।

छ कम्पनीको शेयरमा सर्किट

नेप्सेका अनुसार आजको कारोबारमा विभिन्न छ कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । त्यसमा, अरुण भ्याली हाइड्रोपावर, अरुण काबेली पावर, शिवम् सिमेन्ट, जीवन विकास लघुवित्त, आँखु खोला जलविद्युत् कम्पनी र महालक्ष्मी विकास बैंक रहेका छन् ।

यसैगरी, एसबिएल डिवेञ्चर ५.८६, एनआइबिएल प्रगति फण्ड ४.६१, एनआइसी एशिया डिवेञ्चर ३.९६, आरएसडीसी लघुवित्त ३.३५ र खानीखोला हाइड्रोपावरका लगानीकर्ताले ३.१० प्रतिशतले गुमाए ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।