रिडीद्धारा रैराङ हाइड्रोको शेयरमा ‘इन्साइडर ट्रेडिङ ’, दुबै कम्पनीको अध्यक्ष गुरु न्यौपाने

0
Shares

रिडी हाइड्रो पावर डेभलपमेन्ट कम्पनीले आन्तरिक सूचनाका आधारमा रैराङ हाइड्रो पावर डेभलपमेन्ट कम्पनीको शेयर बिक्री गरेको छ । दुबै कम्पनीको अध्यक्षमा गुरु न्यौपाने रहेकै अवस्थामा रिडीले रैराङको शेयर बिक्री गरेको हो ।

पछिल्लो डेढ महिनाको अवधिमा रिडीले रैराङको करिब २५ लाख कित्ता शेयर बिक्री गरेको छ । दुबै कम्पनीको अध्यक्षमा उर्जा उद्यमी गुरु न्यौपाने छन् ।

जलविद्युत कम्पनीहरुको क्रस होल्डिङ र संस्थागत सुशासनको सन्दर्भमा गलत अभ्यास भएको देखिने नेप्सेका एक अधिकारीले बताए । “पछिल्लो महिनामा रिडी हाइड्रो पावर डेभलपमेन्ट कम्पनीले रैराङ हाइड्रो डेभलपमेन्ट कम्पनीको २५ लाख कित्ता शेयर बिक्री गरेको छ,” ती अधिकारीले भने,“कानुन अनुसार दुबै संस्थाको अध्यक्षमा एकै व्यक्ति रहेको अवस्थामा शेयर बिक्री गर्न मिल्दैन ।” रिडीको प्रतिनिधि पनि रैराङको सञ्चालक समितिमा रहेको अवस्था छ । रिडी हाइड्रोमा अध्यक्ष रहेका न्यौपाने रैराङमा कार्यकारी अध्यक्ष छन् ।

संस्थापक शेयरको लकइन पिरियड सकिएको भोलिपल्ट नै रिडिले रैराङका शेयर बिक्री गर्न सुरु गरेको हो । तर, कानुनले यसरी कारोबार गर्न बन्देज गरेको छ । कुनै पनि सूचिकृत कम्म्पनीको सञ्चालकमा बाहाल रहेको वा पदबाट राजिनामा दिएको एक वर्ष नपुग्दासम्ममा सम्बन्धित कम्पनीको शेयर कारोबार गर्न बन्देज गरेको छ ।

एनआर​एन इन्फ्रास्ट्रक्चरद्धारा हिमालयन पावरको शेयरमा ‘इन्साइडर ट्रेडिङ’, दुबै कम्पनीको अध्यक्ष जीवा लामिछाने

धितोपत्र बोर्डको सूचीकृत संगठित संस्थाहरुको संस्थागत सुशासन सम्बन्धि निर्देशिका २०७४ अनुसार सञ्चालकले उस्तै प्रकृतिको उद्देश्य भएको सूचिकृत संस्थाको सञ्चालक, तलवी पदाधिकारी, कार्यकारी प्रमुख वा कर्मचारी भई कार्य गर्नु हुँदैन । यो व्यवस्था अनुसार गुरु न्यौपाने दुबै संस्थाको अध्यक्षको रुपमा रहन सक्दैनन् । निर्देशिका अनुसार सञ्चालकको पदमा बहाल रहुञ्जेल र सो पदबाट हटेको एक वर्ष सम्म सोही संस्थाको कुनै पनि प्रकारको शेयर, डिबेञ्चर खरिद बिक्री गर्न पादैनन् ।

धितोपत्र बजारमा आन्तरिक सूचनाका आधारमा शेयर खरिद बिक्री गर्ने काम संस्थाले नगर्ने एक विश्लेषकले बताए । “संस्थाको लगानी भएपनि खरिद बिक्रीको निर्णय व्यक्तिले गर्ने हो,” ती विश्लेषकले भने,“संस्थागत लगानी होस वा व्यक्तिगत आन्तरिक सूचनाका आधारमा शेयर कारोबार गर्न मिल्दैन, कानुनले छुट दिएको छ भने पनि यस्ता कुरालाई कानुन भित्र पारेर नियमन गर्नुपर्ने हुन्छ ।”

धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा १०१ को उपदफा (७) मा धितोपत्र सम्बन्धी ऐन वा ऐनअन्तर्गत बनेको नियम वा विनियम वा सो अन्तर्गत जारी गरिएका कुनै आदेश वा निर्देशन वा बोर्डले तोकिदिएका शर्तहरुको उल्लंघन गरेमा वा आफूले गर्नुपर्ने काम नगरेमा वा गर्न नहुने काम गरेमा त्यस्तो व्यक्तिलाई बोर्डले ५० हजारदेखि ७५ हजार रुपैयाँसम्म जरिवाना गर्न सक्ने व्यवस्था छ ।

त्यसैगरी सोही दफाको उपदफा (६) मा कसैले धितोपत्रसम्बन्धी ऐन वा ऐनअन्तर्गत बनेको नियम वा विनिमय बमोजिम पु¥याउनुपर्ने रीत नपु¥याई धितोपत्र निष्काशन गरेमा, धितोपत्र बजार वा धितोपत्र व्यवसायीको हैसियतले धितोपत्र कारोबार संचालन गरे गराएमा त्यस्तो काम गर्ने गराउने व्यक्तिलाई बोर्डले पचास हजार रुपैयाँदेखि एक लाख पचास हजार रुपैयाँसम्म जरिवाना गर्न सक्छ ।

त्यसैगरी भित्री कारोबार गर्नेलाई भित्री कारोबार गरेको ठहरेमा विगो बमोजिम जरिबाना वा एक वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था धितोपत्र ऐनमा रहेको छ । ऐन अनुसार कुनै सञ्चालक, महाप्रबन्धक वा सो सरहको पद धारण गरेको कुनै व्यक्तिले दफा १०१ बमोजिमको कुनै सजाय पाएमा त्यस्तो सजाय पाएको मितिले दश वर्षको अवधि पूरा नभएसम्म त्यस्तो व्यक्ति कुनै पनि पब्लिक लिमिटेड कम्पनी वा संस्थाको सञ्चालक, महाप्रबन्धक वा सो सरहको पदमा बहाल हुन योग्य हुँदैन ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।