राष्ट्र बैंकको निर्देशनले शेयर बजारमा ६० अंकको ‘बाउन्स ब्याक’

0
Shares

तरलता अभावको कारण देखाउँदै निक्षेप तान्न ब्याजदर बढाएर तीव्र प्रतिस्प्रर्धामा उत्रिएका बैंकहरुलाई नियामक निकाय नेपाल राष्ट्र बैंकले निर्देशन माफत कडाई गरेपछि बुधबार एकैदिन शेयर बजारमा ६०.५६ अंकको बाउन्स ब्याक भएको छ ।

यसअघि कार्तिक १ गतेदेखि लागू हुनेगरी एक दर्जन वाणिज्य बैंकहरुले मुद्दती निक्षेपको ब्याजदर बढाएर ११ प्रतिशतसम्म पुर्याएका थिए । त्यसको असरले सोमबार र मंगलबार मात्रै नेप्सेमा १३८ अंकको गिरावट आएको थियो ।

मंगलबार साँझ परिपत्र मार्फत केन्द्रीय बैंकले बुधबारदखि लागू हुने गरी ब्याजदर घटाउन बैंकहरुलाई कडा निर्देशन दिएपछि शेयर बजारमा रौनकता छाएको हो ।

राष्ट्र बैंकले नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ७९ ले दिएको अधिकार प्रयोग गरेर “क”, “ख” र “ग” वर्गका इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाहरुलाई एकीकृत निर्देशन जारी गरेको हो ।

निर्देशन अनुसार बैंक तथा वित्तीय संस्थाले जुनसुकै प्रकारको निक्षेपमा प्रदान गर्ने ब्याजदर अघिल्लो महिना प्रकाशित ब्याजदरमा बढीमा दश प्रतिशतका दरले मात्र परिवर्तन गर्न सक्ने व्यवस्था गरिएको छ । यस्तै, संस्थागत मुद्दती निक्षेप (बोलकबोल समेत) मा प्रदान गरिने अधिकतम ब्याजदर सर्वसाधारणलाई मुद्दती निक्षेपमा प्रदान गरिने अधिकतम ब्याजदरभन्दा कम्तीमा एक प्रतिशत विन्दुले कम हुनुपर्ने व्यवस्था गरिएको छ ।

राष्ट्र बैंकको निर्देशनले सूचक बढेपनि बजारमा हरियाली छाएपनि बजार अझ वृृद्धि हुने आशामा लगानीकर्ताले शेयर बिक्री नगर्दा कारोबार रकम भने मंगलबारको तुलनामा बुधबार घटेको छ । बुधबार नेप्सेको मार्केट डेप्थमा सबैजसो स्क्रिप्टमा बिक्रीभन्दा शेयर खरीको चाप बढी देख्न सकिन्थ्यो । मंगलबार ३ अर्ब ७८ करोड ३४ लाख रूपैयाँ बराबरको शेयर कारोबार भएकोमा बुधबार कारोबार रकम १ अर्ब १० करोडले घटेर २ अर्ब ६७ करोड ९० लाख २८ हजार १५५ रुपैयाँमा संकुचित बनेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार बुधबार कूल २१७ वटा कम्पनीको ६१ लाख १ हजार ४१४ कित्ता शेयर ३४ हजार ६४४ वटा संख्यामा खरिद बिक्री भएका छन् । नेप्से सूचक २.४१ प्रतिशत अर्थात ६०.५६ अंकले बढेर २५७१.६६ विन्दुमा पुगेको छ । यस्तै, ठूला कम्पनीके कारोबार सूचक मापक सेन्सेटिभ इन्डेक्स पनि २.५६ प्रतिशत अर्थात १२.०९ अंकले बढेर ४९४.०५ विन्दुमा पुगेको छ ।

बजार साढे ६० अंकले बढेसँगै शेयर बजारमा लगानीकर्ताको सम्पत्ति मापक कुल बजार पूँजीकरण बुधबार मात्रै ८४ अर्ब ७८ करोड रुपैयाँले बढेर ३६ खर्ब २९ करोड १३ लाख पुगेको छ ।

बुधबारको बजारमा कारोबारमा आएका सबै १३ वटै उपसमूहगत सूचकमा हरियाली छाएको छ । फाइनान्स सूचक सबैभन्दा धेरै ५.८१ प्रतिशत र र जलविद्युत ४.३१ प्रतिशतले बढेको छ । ब्यापार, होटल, विकास बैंक, र अन्य सूचक ३ प्रतिचशतभन्दा धेरैले बढ्दा निर्जीवन बीमा २.२० प्रतिशत र उत्पादनमुलक सूचक २.०६ प्रतिशतले बढेको छ । लघुवित्त, बैंकिङ, लगानी म्युचुअल फण्ड र लगानी सूचक पनि १ प्रतिशतभन्दा धेरैले बढेका छन् ।

बुधबार पनि नबिल बैंकको सर्वाधिक कारोबार भएको छ । बैंकको ९.४८ करोडको शेयर करोबार भएको छ । यस्तै हिमालयन डिष्टिलरी ७.८१ करोड र अरुण भ्याली हाइड्रोपावर ७.३१ करोडको शेयर कारोबारमा आएको छ ।

यस्तै नेशनल हाइड्रोपावर, सिद्धार्थ बैंक, सिईडिबि हाइड्रोपावरको ६ करोड बढी तथा नेपाल बैंक, निर्धन उत्थान लघुवित्त, र आइसिएफसि फाइनान्सको साढे ५ करोड बढीको शेयर खरीद बिक्री भयो ।

आजको बजारबाट आँखुखोला हाइड्रोपावर, मैलुङखोला जलविद्युत, र युनिभर्सन पावर कम्पनीको शेयरमा लगानी गरेकाले दश प्रतिशतका दरले बमाएका छन् । तीनवटै कम्पनीको शेयरमूल्य सकारात्मक सर्किट लागेर बढेको छ ।

सिईडिबि हाइड्रोपावर, नेशनल हाइड्रोपावर, युनाइटेड मोदी हाइड्रोपावर,मेरो माइक्रोफाइनान्स र अरुण भ्याली हाइड्रोपावरको शेयरमूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको छ । आइसिएफसि फाइनान्स ८ र नेपाल फाइनान्सको शेयरमूल्य पनि ७.७४ प्रतिशतले वृद्धि भएको छ ।

उता बढेको बजारमा पनि एभरेष्ट इन्स्योरेन्सको संस्थाक शेयरका लगानीकर्ताले आज सर्वाधिक ४.९६ प्रतिशतका दरले गुमाएका छन् । एनआईबिएल प्रगति फण्डका लगानीकर्ताले २.३४ प्तिशतका दरले गुमाउँदा मिथिला लघुवित्त, एनआईसी एशिया लघुवित्त र साधना लघुवित्तको शेयरमूल्य पनि १ प्रतिशत बढीले घटेको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ । 

प्रकाशित मिति: ३ कार्तिक २०७८, बुधबार  १५ : ५२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।