३९ बीमा कम्पनीहरुले ६ महिनामा संकलन गरे ७८ अर्ब बीमाशुल्क

0
Shares

मुलुकमा सञ्चालनमा रहेका १९ जीवन तथा २० निर्जीवन बीमा कम्पनीहरुले चालू आर्थिक वर्षको ६ महिना अर्थात चालु आर्थिक वर्ष २०७७/७८ को पुस मसान्तसम्ममा कुल ७८ अर्ब ५ करोड रूपैयाँ बीमाशुल्क आर्जन गरेका छन् ।

बीमा समितिका अनुसार चालु आर्थिक बर्षको पहिलो ६ महिनामा जीवन बीमा कम्पनीहरुले जीवन बीमा बापत कुल ६२ अर्ब ८५ करोड लाख रुपैयाँ संकलन गरेका छन् । यस्तै निर्जीवन बीमातर्फ कुल १५ अर्ब २० करोड रुपैयाँ संकलन भएको छ ।

गत आर्थिक वर्ष २०७६/७७ को ६ महिनासम्म अर्थात पुस मसान्तसम्ममा जीवन बीमा कम्पनीहरुले ४६ अर्ब ८८ करोड रुपैयाँ र निर्जीवन बीमा कम्पनीहरुले १३ अर्ब ८३ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका थिए ।

विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ का बावजुत पनि समीक्षा अवधिमा जीवन बीमा कम्पनीहरुले ३४ प्रतिशत (१५ अर्ब ९७ करोड रुपैयाँ) र निर्जीवन बीमा कम्पनीहरुले प्रतिशतले गत आर्थिक वर्षको तुलनामा ९.९१ प्रतिशत (१ अर्ब ३७ करोड रुपैयाँ) ले बीमाशुल्क आर्जन वृद्धि गर्न सफल भएका हुन् ।

हरेक आर्थिक वर्षको अर्धवार्षिक अवधिलाई समीक्षा अवधिको रुपमा समेत हेर्ने गरिन्छ । कम्पनीहरुले यस अवधिमा कमाएको नाफा एवं अन्य शुल्कको आधारमा नै एक आर्थिक वर्षका लागि लिएको लक्ष्य पूरा हुन्छ वा हुन्न भन्ने पनि अनुमान गर्ने गरिन्छ ।

जीवन बीमा अन्तर्गत नेपाल लाइफले सबैभन्दा धेरै १७ अर्ब ६२ करोड बीमाशुल्क आर्जन गरेको छ भने निर्जीवन बीमातर्फ शिखर इन्स्योरेन्सले २ अर्ब ११ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ ।

यस अवधिमा राष्ट्रिय बीमा संस्थान बाहेक सबै जीवन बीमा कम्पनीले बीमाशुल्क संकलन बढाएका छन् । पाँच जीवन बीमा कम्पनीहरु रिलायन्स, सानिमा, गुराँस, प्रभु र सिटिजन लाइफले शतप्रतिशत धेरैले बीमाशुल्क संकलन बढाएका छन् । चार कम्पनीको ५० देखि १०० प्रतिशतको बीचमा बीमाशुल्क बढ्दा ९ कम्पनीले १५ देखि ४५ प्रतिशतसम्मले बढाएका छन् । यस अवधिमा राष्ट्रिय बीमा संस्थाको बीमा शुल्क भने ०.३४ प्रतिशतले घटेको छ ।

१९ निर्जीवनमध्ये १५ कम्पनीको बीमाशुल्क संकलन बढेको छ भने ४ कम्पनीको घटेको छ । नेपाल इन्स्योरेन्स, आइएमई, प्रभु, प्रिमियर, सगरमाथा, लुम्बिनी, सिद्धार्थ, शिखर, नेको, एनएलजी, जनरल, एभरेष्ट, सानिमा जनरल, अजोड, युनाइटेड इन्स्योरेन्सको बीमाशुलक १ देखि ५५ प्रतिशतसम्मले बढेको छ । नेशनल, दि ओरियन्टल, प्रुडेन्सियल र हिमालयन जनरल इन्स्योरेन्सको बीमाशुल्क घटेको हो ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।