सिंगटी हाइड्रोको आईपीओ बाँडफाँड, ४९० कित्तासम्म आवेदन गर्नेले मागअनुसार पाए

0
Shares

सिंगटी हाइड्रो इनर्जी कम्पनीले आयोजना प्रभावित दोलखाको कालिन्चोक र बिगु गाउँपालिकाका स्थानीयहरूका लागि जारी गरेको प्राथमिक शेयर (आईपीओ) आज बाँडफाँड भएको छ ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक मेगा क्यापिटल मार्केट लिमिटेडको कार्यालय त्रिपुरेश्वरमा दिउँसो साढे ३ बजे आईपीओ बाँडफाँड भएको हो ।

आईपीओ बाँडफाँडमा १० देखि ४९० कित्तासम्म माग गर्नेलाई माग अनुसार नै शेयर बाँडफाँड गरिएको छ । ५०० कित्तादेखि २ लाख कित्तासम्म माग गर्ने ५२३ आवेदक मध्येबाट गोलाप्रथाबाट २९९ जनालाई थप १० कित्ता शेयर बाँडफाँड गरिएको छ । यसअनुसार सबैभन्दा धेरै शेयर पाउने २९९ जनाले ५०० कित्ता शेयर हात पारेका छन् । गोलाप्रथाबाट बाँडफाँडमा नपरेका ५०० कित्ताभन्दा धेरै माग गरेका २२४ जनाले पनि ४९० कित्ताका दरले नै शेयर हात पारेका छन् ।

सिंगटी हाइड्रोले गत माघ ४ गतेदेखि फागुन ३ गते सोमबारसम्म स्थानीय बासिन्दाका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा १४ करोड ५० लाख रुपैयाँ बराबरको १४ लाख ५० हजार कित्ता आईपीओ निष्काशन तथा बिक्री खुल्ला गरेको थियो ।

स्थानीय बासिन्दाको शेयरमा १९ हजार २८२ जना आवेदकबाट १७ लाख ५० हजार ५५३ कित्ताको लागि आवेदन परेको थियो । जुन स्थानीयबाट माग गरेको (१४ लाख ५० हजार) कित्ताको तुलनामा २०.७३ प्रतिशत बढी हो ।

आईपीओ आवेदन गरेका ४६ जना आवेदकबाट माग भएको ६ हजार ८३ कित्ताको आवेदन रद्ध गरी १९ हजार २३६ आवेदकबाट माग भएको १७ लाख ४४ हजार ४७० कित्ताको माग सदर भएको बिक्री प्रबन्धक मेगा क्यापिटलले जनाएको छ ।

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि शेयर बाँडफाँड गरेसँगै दोश्रो चरणमा सर्वसाधारणका लागि २९ करोड रुपैयाँ बराबरको २९ लाख कित्ता शेयर निष्काशन तथा बिक्री खुल्ला गर्नेछ । आईपीओपछि कम्पनीमा संस्थापक र सर्वसाधारणको पूँजी संरचना ७०ः३० हुनेछ ।

धितोपत्र बोर्डले कम्पनीलाई प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ४३ करोड ५० लाख रूपैयाँ बराबरको ४३ लाख ५० हजार कित्ता साधारण शेयर (आईपीओ) जारी गर्नका पुस २१ गते मंगलबार अनुमति दिएको थियो ।

केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी डबल बी माइनस (आइएस) रेटिङ्ग प्रदान गरेको छ । यसले समयमा नै वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम रुपमा सुरक्षित रहेको संकेत गर्दछ ।

सिंगटी हाइड्रोपावरले दोलखाको कालिञ्चोक गाउँपालिका–२ बाबरे र विगू–५ चिलंखामा पर्ने सोरुङ खोलामा बाँध बाँधेर २५ मेगावट क्षमताको सिंगटी हाइड्रोपावर आयोजना निमार्ण गरिरहेको छ । आयोजनामा लाग्ने कुुल लगानी चार अर्ब ३३ करोडमध्ये आयोजनामा सिभिल बैंकको नेतृत्वमा १० वटा वाणिज्य बैंकले ७० प्रतिशत ऋण लगानी गरेका छन् ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।