लगानीकर्ता भन्छन् ‘तरलता संकुचनको हल्ला घातक, सुझबुझमा निर्णय लिन जरुरी’


पछिल्ला दिनमा शेयर बजारमा तीब्र गिरावट आउँदै गर्दा तरलता संकुचनको हल्ला चलाइएको भन्दै लगानीकर्ता सम्बद्ध संघ संस्थाका प्रतिनिधिले सचेत भएर निर्णय लिनुपर्नेमा जोड दिएका छन् । निरन्तर उकालो लग्ने क्रममा रहेको बजार पछिल्लो समय फराकिलो अन्तरले ओरालो लागिरहेको छ ।

करेक्सनको बुझाइमा रहेका आम लगानीकर्ताहरु नोक्सान धेरै हुने चिन्तामा शेयर बिक्री गर्ने ध्याउननमा लागिरहेका छन् । जसका कारण मंगलबार मात्र बजारमा झण्डै ६० अंकको गिरावट आएको छ भने अधिकांश कम्पनीको शेयरमूल्य घटेको छ ।

शेयर बजारमा ६० अंकको गिरावट, ६ अर्ब बढीको शेयर किनबेच

बजार ओरालो लाग्दै गर्दा वित्त बजारका सम्बन्धमा भईरहेका अनौपचारिक छलफल र चर्चा परिचर्चाले बजार प्रवेश गरेका नयाँ लगानीकर्ताहरुमा त्रासको अवस्था बनिरहेको छ ।

बजार बढ्नुपर्ने ठोस कारण नभएजस्तै घट्नका लागि पनि अहिले कुनै कारण नभएको बताउने जानकार लगानीकर्ताहरु अफवाहले त्रसित वातावरण बनेको बताउँछन् ।

शेयर धितो कर्जाको सीमाका विषयमा चलेका चर्चा परिचर्चाले पनि बजारलाई असर पारिरहेको छ । केही बैंकहरुमा शेयरकर्जाको सीमा उच्च अवस्थामा पुगेकाले यस्तो कर्जा प्रवाह गर्न कडाई गर्दै गर्दा सबै बैंकमा उस्तै अवस्था आएको बुझाई आम लगानीकर्तामा छ ।

बजार घट्नु अनि बढ्नु स्वभाविक प्रकृया हो । तर, हल्ला र अरुको कुरामा लगानीको निर्णय गर्नेको संख्या अधिक भएकाले बजार कारण बिना नै तीब्र उतार-चढावको अवस्थामा पुगिरहेको छ । विश्वव्यापी रुपमा महामारीको रुपमा फैलिएको कोरोना संक्रमणका कारण विश्व अर्थतन्त्र हल्लिएका बेला लगानीका क्षेत्रहरु संकुचित हुन पुगे ।

नेपालमा मात्र नभई अन्य मुलुकमा पूँजी भएकाहरुले लगानीको रोजाइमा पूँजी बजारलाई लिए । जसका कारण सीमित तवरमा चलिरहेका विश्वका विभिन्न मुलुकको बजारमा ठूलो लगानी भित्रियो र बजार पनि माथि चढेको अवस्था छ । अहिले कोरोनाबाट तङ्ग्रिदै गर्दा लगानीका अरु क्षेत्रहरु विस्तार हुन सकिरहेका छैनन् । जसका कारण विश्व बजारमा नै पूँजी बजारमा ठुलो लगानी केन्द्रित भईरहेको छ ।

नेपालको सन्दर्भमा पनि लगानीका अरु क्षेत्रहरु पुर्ववत अवस्थामा नआएको अवस्थामा बैंक वित्तीय संस्थाहरुले सेवाग्राहीलाई कर्जा लिनका लागि ताकेता गरिरहेका छन् । फरक यत्ति हो कि केही बैंकहरुले शेयर कर्जा उपलब्ध गराउने सीमा पुरा भएकाले त्यस्तो कर्जा प्रवाहलाई नियन्त्रण गर्न खोजेका हुन् । यही विषयलाई गलत रुपमा प्रचार गराइँदा आम लगानीकर्ताको मानसिकतामा असर परेको एक लगानीकर्ताले नोटबजारलाई बताए ।

आम लगानीकर्ताले सबै किसिमका कर्जा अनि धेरै बैंकको कर्जा परिचालनको अभ्यासलाई एकै किसिमले बुझ्दा समस्या भएको उनको तर्क छ । केही बैंकले सीमा बराबरको शेयर कर्जा परिचालन गरे पनि समग्र बैंकिङ क्षेत्रमा खर्बौ रुपैंयाको सीमा बाँकी नै रहेको अवस्थालाई सबैले बुझ्नुपर्ने उनको सुझाव छ ।

कसले बुझेको छ शेयर बजारको यस्तो गम्भीरता र संवेदनशिलता ?

करोडौंको लगानीबाट नाफा सुरक्षित गरेका मझौला तथा ठूला संस्थागत तथा व्यक्तिगत लगानीकर्ताहरु शेयर मूल्य घटाउन तल्लिन रहेको नाम नखुलाउने शर्तमा अर्का एक लगानीकर्ताले नोटबजारलाई बताए । वास्तविक धरातलभन्दा बाहिरको वित्तीय अवस्था भएका कम्पनीको शेयर मूल्य अस्वभाविक रुपमा उचालेका त्यस्ता लगानीकर्ताको समुहले अहिले अरु कम्पनीको शेयर मूल्य घटाएर किन्ने योजनामा रहेको उनको भनाई छ । यस्तो अवस्थामा हतारिएर कारोबारको निर्णय लिन नहुने उनी बताउँछन् । यस्ता हल्लाका कारण नै महंगोमा शेयर किनेर सस्तोमा बिक्री गर्नुपर्ने समस्या आम लगानीकर्ताले भोग्नु परिरहेको उनको बुझाई छ ।

कहिले संकटकालको हल्ला चलाएर त कहिले बैंक वित्तीय संस्थाको व्याज बढ्ने विषयलाई चलाएर आम लगानीकर्ताको मानसिकतामा खेल्न खोजिएको विषयलाई पछिल्ला दिनका कारोबार शैलीले उजागर गरिरहेको छ । यही मौकामा दिनमा नै कम्पनीहरुको शेयर मूल्यमा फराकिलो अन्तरको उतारचढाव देखिँदा सर्टसेल गर्नेहरु पनि सक्रिय बनिरहेका छन् । जसका कारण आम लगानीकर्ताहरु स्वभाविक किसिमको कारोबारबाट लाभ लिन नसक्ने अवस्थामा पुग्न थालेका छन् ।

नयाँ तथा साना लगानीकर्ताहरु अहिले बजार बढ्दा शेयर किन्ने अनि घट्दा बेच्ने समस्यामा परिरहेको कारण पनि धैर्यताको कमी नै हो । लगानी गर्न नपाउँदै बजारमा चलेका हल्लाकोपछि लाग्दा प्राय: साना तथा नयाँ लगानीकर्ताहरुले नोक्सानीमा शेयर बिक्री गरिरहेका छन् ।

एक ब्रोकरका अनुसार पछिल्ला दिनमा शेयर बेच्नका लागि ब्रोकर धाउने र हतारमा शेयर बिक्री गर्न चाहनेहरुको संख्या बढेको छ । उनीहरु नोक्सानमा शेयर बिक्री गरेर फेरि बजार बढे पछि किन्न आउने गरेका छन् । “आइतबार शेयर बिक्री गरेकाहरु सोमबार बजार बढ्दा फेरि शेयर किन्न आए, आज बजार घटेपछि उनीहरु झनै त्रसित बनेको देखिन्छ । आइतबार नै बिक्रीको निर्णय हतारमा नगरेको भए सायद आजको अवस्था नआउन सक्थ्यो । यो अभ्यासले बजार घट्ने मात्र नभई ठूलो संख्याका लगानीकर्ताले बजारबाट नाफा कमाउन सक्दैनन्” ती ब्रोकरले नोटबजारसँग भने ।

अर्कातिर ठूलो आकारको आईपीओले पनि हरेक पटक बजारलाई अलमलमा पार्दै आएको छ । एचआईडिसीएलको शेयर सूचीकरण भएका बेला होस् वा केही समय अघिको रि-इन्स्योरेन्स कम्पनीको शेयर सूचीकरण भएका बेला होस्, बजारले एकै किसिमको गति समातिरहेको छ । अहिले इन्फ्रास्ट्रक्चर बैंकको शेयर सूचीकरण भएपछिको बजार पनि विगतका रि-इन्स्योरेन्स तथा एचआईडिसीएलको समयको जस्तै शैलीमा चलिरहेको छ ।

तीनवटै कम्पनीको शेयर सूचीकरण पश्चात बजारमा केही दिनको अन्तरमा नै नकरात्मक असर परेको देखिएको छ । रि-इन्स्योरेन्सको समयमा पनि केही दिन बजारमा नकारात्मक असर परेकोमा केही दिनमा नै बजारले आफ्नो लय लिएको थियो । अहिले निफ्राको हकमा पनि उस्तै अवस्था आउन सक्ने सम्भावना छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।