कसले बुझेको छ शेयर बजारको यस्तो गम्भीरता र संवेदनशिलता ?

-तिलक कोइराला ।
काठमाडौं।
१८फाल्गुन, २०७७, मंगलवार / Mar 02, 2021 15:47:pm

विसं २०७३ सालमा शेयर बजारमा लगानीकर्ताहरुको ओईरो लागि ब्रोकरहरुको कार्यालयमा पाईला राख्ने ठाउँ नहुँदा सबैभन्दा धेरै नेपाल धितोपत्र बोर्डलाई टाउको दुखेको थियो ।

उसले बजारमैत्री नीति, नियम पुर्वाधार र प्रविधिको बन्दोबस्ती गर्न छाडेर लगानीकर्ताहरुलाई तर्साउन दिनदिनै जसो वक्तब्य निकाल्थ्यो । अहिले पनि शेयर बजारमा लगानीकर्ताको भीड बढेको छ तर कोरोना त्रासका कारण ब्रोकरहरुको कार्यालयहरुमा हैन, अनलाईन युजरआईडी र पासवर्ड लिएकाहरुले नेप्सेको कारोबार सञ्चालन प्रणाली र वेवसाईटमा थामिनसक्नु ट्राफिक बढाएका छन् ।

२०७३ साल असार साउनको भन्दा बढी लगानीको चाप अहिले शेयर बजारमा आईरहेको छ तर त्यो बेला जस्तै धितोपत्र बोर्डले वक्तब्यबाजी गरेको त छैन फरक यति हो । उसले गर्नुपर्ने काम पनि फटाफट गरेको छैन, यसमा भने समानता छ ।

राजनीतिक कुरा उचालेर होस वा तरलता संकटको कुरा अगाडि सारेर नै किन नहोस, शेयर बिक्री गरेर पैसा हातमा लिई सस्तोमा किन्न चाहनेहरु अनेक बहाना गरी शेयरको मूल्य झार्न प्रयासरत छन् । कुनै बहानाबाजी गरेर शेयरको मूल्य झार्न सकिए फेरि मौकामा चौका हान्न सकिन्थ्यो भन्ने सोचले एकथरी खेलाडीहरु, कथित विश्लेषकहरु, अनलाईनहरु, सामाजिक सञ्जालहरु प्रयोग गरेर आम लगानीकर्ताहरुमा अन्योल सिर्जना गर्ने प्रयासमा छन् ।

शेयर बजारमा लाखौंको संख्यामा ओईरिएका आम लगानीकर्ताहरुको मनोबल खस्काउन सके सस्तोमा शेयर किन्न पाईन्थ्यो भन्ने सोच त्यतिखेर घातक हुनेछ जतिखेर मनोबल खस्कदै गएर लगानीकर्तामा चरम निराशा उत्पन्न हुन्छ । अहिले मनोबल खस्काउँछु भन्नेहरु नै आफैँ निराश बनेर रोईकराई गर्न थाल्नेछन् ।

शेयर बजारमा लगानीकर्ताको मनोबल खस्कन शुरु भयो र त्यसपछि नयाँ घटनाहरु थपिँदै गयो भने लामो समयसम्म बजार घटाईको कारण अरु खौज्नै पर्दैन । अहिले पनि एक महिना अघि शेयर किनेकाहरु प्राय सबैको शेयरमा नाफा छ । बजार घट्छ नै भन्ने हल्ला फैलाईयो र धेरैले नाफा सुरक्षित गर्न थाले भने त्यो आपुर्तिको बाढीलाई कसैले थाम्न सक्दैन । कुबेरको धनले पनि फ्रिफलको अवस्थामा हुने अर्बौको आपूर्ति थेग्न सक्दैन । मूल्य घट्छ भन्ने त्रास सिर्जना गरियो र त्यसले आम रुप लियो भने हुने नै त्यही बर्बादी हो ।

लगानीकर्ता भन्छन् 'तरलता संकुचनको हल्ला घातक, सुजबुझमा निर्णय लिन जरुरी'

प्रधानमन्त्री हट्ने कि नहट्ने, अर्को प्रधानमन्त्री को बन्ला भन्ने कुराले अहिले शेयर बजारका लगानीकर्ताहरु चिन्तित बन्नुपर्ने कुनै आवश्यकता छैन । जो प्रधानमन्त्री बने पनि हिजो जस्तो डा युवराज खतिवडा आएर शेयर लगानीकर्ताको मनोबल खस्काए जस्तै अब आउने कुनै पनि अर्थमन्त्रीले त्यो हिम्मत गर्न सक्ने छैनन् । न त डा. बाबुरामले फेरि आएर जूवाको खाल नै भन्नेछन् । अहिलेका अर्थमन्त्री बिष्णु पौडेलले पनि खतिवडाकै लाईन समात्न खोज्नुका साथै एउटा सिमित बर्गको हितमा काम गर्न चाहे पनि त्यो बाटो बन्द भईसकेको छ।

अहिले बैंकिङ प्रणालीमा तरलता घटेर ७० अर्बमा झरेको कुरालाई लिएर केही विश्लेषक, लगानीकर्ता र मिडियाहरुले अतिरञ्जित प्रचारबाजी गरेका छन् तर तीन बर्ष अगाडि तरलता घटेर १२ अर्बमा झरेको बेलामा पनि शेयर बजार टिकेकै थियो । अहिले त झन् आर्थिक वर्ष समाप्त हुन चार महिना मात्र बाँकी हुँदा सरकारी खर्च बढ्दै जाने हुनाले पहिले जस्तो तरलताको चाप पर्छ भन्दै शेयर लगानीकर्तालाई तर्साउने प्रयास गर्नु एकदम आपत्तिजनक कुरा हो ।

बैंकको कर्जा पूँजी निक्षेप अनुपात अर्थात सीसीडी सरदर ७६ प्रतिशतको हाराहारीमा रहेकाले राष्ट्र बैंकले दिएको नयाँ सुविधा अनुसार बैंकले त्यसलाई ८५ प्रतिशतसम्म पुर्याउँन सक्छन् । त्यो हुँदा कर्जा लगानी हुने ठाउँ धेरै नै बाँकी छ भन्ने देखिन्छ । कतिपय बैंकको सीसीडी त ६६, ६७ प्रतिशत नै रहेकाले कर्जा परिचालन गर्न नै बैंकहरुलाई कठिन भईरहेको छ ।

आयस्रोत प्रमाणित गर्नुपर्ने र लगानीको वातावरण पनि नभएकाले पहिलेको जस्तो कर्जाका लागि रकमको तानातानको अबस्था तत्काल आउने संभावना छैन । कोषको लागत नै बढी हुने गरी पहिले जस्तै मुद्धती निक्षेपको ब्याज दर नै १३ प्रतिशत बनाएर अब कुनै पनि बैंकले योजनाहरु सार्वजनिक गर्ने संभावना छैन । कोषको लागत बढी हुने गरी चर्को ब्याजमा निक्षेप लिन नहुने गतिलो पाठ बैंकरहरुले सिकेकै छन् ।

तरलता कम भए पनि शेयर बजारका सबै लगानीकर्तालाई असर पर्छ भन्ने पनि हैन । जसले बैंकबाट कर्जा लिएर सेयरमा लगानी गरेका छन् र बैंकको निक्षेप निकालेर सेयर किनेका छन्, उनीहरु केही हदसम्म ब्याज बढुछ कि भन्ने कुराले प्रभावित हुने हो । अन्यको हकमा तरलतामा आउने संकुचनबाट आँत्तिनुपर्ने अबस्था छैन।

शेयर बजारबाट हुने पूँजीगत र लाभांशगत लाभ १० प्रतिशत भन्दा माथि हुने अबस्थामा तरलता घटेर सामान्य अवस्थामा आउँदासम्म आत्तिनु पर्दैन किनभने बचतको ब्याज दर भन्दा शेयर बजारको लगानीबाट हुने लाभ बढी नै हुन्छ । अहिले लाभांश र पूँजीगत लाभको हिसाब गर्दा २०० रुपैयाँ शेयर मूल्य भएको कम्पनीले १० देखि १५ प्रतिशत लाभ दिईरहेका छन् । बैंकको बार्षिक ब्याजदर १० प्रतिशत पुगेपनि आत्तिनु पर्दैन, त्यसमाथि त्यतिसम्म ब्याज पुर्याएर बैंकहरुले निक्षेप तानातान गर्ने अवस्था नै आउँदैन ।

बजारमा एकातिर आम सर्वसाधारण लगानीकर्तालाई तर्साउनेहरु सक्रिय भइरहँदा अर्कोतर्फ अर्थ मन्त्रालय र धितोपत्र बोर्ड पूँजी बजार बिकास र बिस्तारका लागि गर्नुपर्ने महत्वपूर्ण काम नगरी कानमा तेल हालेर बसेका छन् । गर्नुपर्ने काम नगर तर बक्तब्यबाजी चाँही गर भनेर अहिले यी निकायहरुलाई लगानीकर्ताहरुले आग्रह गरेका हैनौं ।

विसं २०७५ सालभित्र गरिसक्छु भनेर बाचा बन्धन र सहीछाप गरेका ५८ बुँदैका पूँजीबजारसँग प्रत्यक्ष सम्बन्धित र अति महत्वपूर्ण १८ काम तत्काल गर भनेर आमरण अनशन समेत बसेर दबाब दिएका हौं । ती कामहरु फटाफट भएको अवस्थामा अहिले पूँजी बजारमा सर्बसाधारण लगानीकर्ताहरुलाई तर्साउने गरी भएका प्रचारबाजी आफैँ समाप्त भएर जान्छन् । लगानीकर्ताको मनोबल बलियो बन्छ र बजारले सेयरको मूल्य आफैँ निधारर्ण गर्छ ।

अहिले पूँजी बजारमा आएका ३० लाख लगानीकर्तालाई आस्वस्त पार्ने, मनोबल खस्कन नदिन, लगानी सुरक्षा गर्ने र शेयर बजारलाई स्थयित्व प्रदान गर्ने प्राथमिक काम अर्थ मन्त्रालय र धितोपत्र बोर्ड कै हो । उनीहरुले तत्काल गर्नुपर्ने काम गर्न चासो दिएनन्, लगानीकर्ताको मनोबल खस्काउन खोज्नेहरु सफल हुँदै गए, बजारमा आएका लगानीकर्तामा भागदौड शुरु भयो र बजारमै बसेका लगानीकर्तामा चरम निराशाको अबस्था सिर्जना भयो भने हाम्रो बजार फेरि पाँच बर्ष पछि धकेलिन्छ । एकपटक शेयर बजारमा गुमाएर भागेको मान्छे, फेरि फर्किन समय त लाग्छ नै, कतिपय त कहिल्यै सेयर बजारको नाम सुन्न समेत तयार हुन्नन् ।

अहिले अरु क्षेत्रका कर्जाहरु समस्यामा परेको अबस्था छ, सेयर धितो प्रयोजनका लागि लिएका कर्जाहरु पनि समस्यामा परे, बैंकहरुको मार्जिन कल लगानीकर्तालाई आउन थाल्यो भने भने थेग्न को आउँछ ? यसले बैंकहरुको निस्क्रिय कर्जाको अनुपात ह्वात्तै बढाईदिन्छ । संकटग्रस्त अबस्थामा अर्थतन्त्रलाई टेवा दिने पूँजी बजारलाई संकटमा पुर्याउने खेल किन खेलिदैछ ?

यस्तो अवस्था फेरि उत्पन्न भयो भने लगानीकर्ताले त गुमाउँछन् नै, अहिले तर्साउन प्रयोग भईरहेका केही ब्रोकर, विश्लेषक र खेलाडीहरुलाई पनि ठूलो घाटा हुन्छ । ब्रोकर कार्यालयहरुमा कारोबार नभएर कर्मचारीलाई तलब दिन पनि नसकी हार गुहार गरिरहेका ब्रोकरहरुको पहिलेको नियति फेरि दोहोरिन्छ ।

सरकारलाई नै सबैभन्दा ठूलो हानी हुन्छ । अहिले असुल भईरहेको कमिशन र करको ठूलो हिस्सा गुम्छ । घरजग्गापछि शेयर बजारले राजश्वमा दोस्रो योगदान गर्यो भनी अहिले गरिएको हर्ष बढाइँको केही काम लाग्दैन । कसको पालामा शेयर बजारमा ठूलो क्र्यास भयो भन्दा अहिलेकै प्रधानमन्त्री केपी ओली, अर्थमन्त्री बिष्णु पौडेल र धितोपत्र बोर्डका अध्यक्ष भीष्म ढुंगानाको नाम आउँछ ।

बजारको यो गम्भीरता र संवेदनशिलता कसले बुझेको छ ? यदि जिम्मेवार निकायमा बसेकाहरुले बुझेका छन् भने फटाफट काम गर्न किन हिचकिच ?

(लेखक कोइराला पूँजी बजार विकास अभियानका संयोजक हुन)

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।



Share on:


Comments