ट्राफिक जरिवाना ४५ वित्तीय संस्था र ७ वटा अनलाईन भुक्तानी सेवा प्रदायकबाट तिर्न सकिने

0
Shares

महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक नियम उल्लंघन गरेबापत तिर्नुपर्ने जरिवाना शुक्रबारदेखि ४५ वटा बैंक तथा वित्तीय संस्था र ७ वटा अनलाईन भुक्तानी सेवा प्रदायक संस्थाहरुबाट सिधै बुझाउन सकिने गरी व्यवस्था मिलाएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक नियम उल्लंघन गरेबापत तिर्नुपर्ने जरिवानालाई अझ प्रभावकारी र सहज तरिकाले अनलाइन मार्फत भुक्तानी गर्ने प्रणालीको विस्तार गरेको हो । ट्राफिक जरिवाना भुक्तानी गर्न आगामी दिनमा अन्य सेवा प्रदायक संस्थाहरुसँग समेत जोडिँदै जाने महाशाखाको योजना रहेको जनाइएको छ ।

महाशाखाका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक जनक भट्टराईले यसअघि नै अनलाईन सेवा प्रदायक संस्थाहरुबाट सिधै ट्राफिक जरिवाना भुक्तानी शुरु भैसकेको भएपनि शुक्रबार आफ्नै बैंक खाताबाट सिधै जरिवाना तिर्न सकिने गरि सेवा विस्तार गरेको जानकारी दिए । उनले यसले आम सवारी चालकहरुलाई जरिवाना तिर्न बैंकमा लाइन बस्नुपर्ने, लामो समय व्यर्थ खर्चिनु पर्ने बाध्यताको अन्त्य हुनेछ भने ट्राफिक कार्यालयमा हुने भीडभाडमा समेत कमी आउने बताए ।

ट्राफिक महाशाखाले ट्राफिक जरिवाना रकम ट्राफिक भ्वाइलेसन रेकर्ड सिस्टम (टीभीआरएस), नेपाल सरकारको राजश्व व्यवस्थापन सुचना प्रणाली (आरआईएमएस) र सेवा प्रदायक संस्थाहरु बीचमा आबद्ध भइ रियल टाइममा सम्बन्धित बैकंको खाता मार्फत भुक्तान हुने गरि सिस्टम सञ्चालन गरेको महाशाखाले जनाएको छ ।

शुक्रबार बैंक तथा वित्तीय संस्था र अनलाईनबाटै भुक्तानी गर्ने स्म्बन्धमा भएको सम्झौतापत्रमा हस्तान्तरण कार्यक्रममा अनलाईन सेवा प्रदायक कम्पनी फोन पे प्रा.लि.को तर्फबाट दिवस कुमार सापकोटा र नेपाल क्लियरिङ्ग हाउस लिमिेटेड (कनेक्ट आईपिएस) का मुन्नी राजभण्डारी तथा अन्य प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

महाशाखाले आगामी दिनहरुमा अनलाईन भुक्तानी प्रणाली सेवा सञ्चालन सम्बन्धी यस निर्धारित मापदण्ड पूरा गर्ने अन्य सेवा प्रदायकहरुलाई समेत आबद्ध गर्दै लाने योजना रहेको जनाएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २७ चैत्र २०७७, शुक्रबार  १७ : ४० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।