समितिले तोकेको समय सकिँदा पनि चार बीमा कम्पनी सीईओ विहीन

0
Shares

सञ्चालनमा रहेका चार बीमा कम्पनीले अझै पनि प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त गर्न सकेका छैनन् । बीमा समितिले सूर्या, नेशनल लाइफ, जनरल र युनाइटेड इन्स्योरेन्सलाइ चैत १९ भित्र प्रमुख कार्यकारी अधिकृत (सिइओ) नियुक्त गर्न निर्देशन दिएपनि सो अनुसार काम गर्न नसकेका हुन् ।

कम्पनीहरुले बजारमा दक्ष जनशक्तिको अभावका कारण सिईओ नियुक्त गर्न नसकेको बताउँदै आएका छन् । तर पछिल्लो समय बजारमा जनशक्ति हुँदा समेत कम्पनीहरुले सिईओ नियुक्त गर्न आनाकानी गर्दा कम्पनीहरुलाई समितिले निर्देशन नै दिएको थियो । समितिले ती कम्पनीलाई फागुन १९ गतदेखि चैत १९ सम्मको अवधिमा सिईओ नियुक्त गर्न निर्देशन दिएको थियो ।

निर्देशन दिएका कम्पनी मध्ये यूनाइटेड इन्स्योरेन्सले निमित्त प्रमुख कार्यकारी अधिकृत उपासना पौडेललाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने प्रस्ताव बीमा समितिमा पेश गरेको छ । कम्पनीको सञ्चालक समितिले सिफारिस गरेको उक्त प्रस्तावलाई अनुमति दिने प्रक्रियामा बीमा समिति रहेको बीमा समितिका कार्यकारी निर्देशन राजुरमण पौडेलले बताए ।

“युनाइटेडबाट उपासना पौडेलको नाम आएको छ, स्वीकृत हुने प्रक्रिया अन्तिम चरणमा छ” उनले भने,“अन्य कम्पनीलाई समितिमा बोलाएर छिटो नियुक्त गर्न निर्देशन दिएका छौँ, कम्पनीका सञ्चालकहरुलाई समितिमा बोलाएर कुरा गरेका छौँ ।”

निर्देशन दिएको एक महिना वित्दा समेत सिईओ नियुक्त नगर्ने कम्पनीहरुलाई छलफलमा बोलाएको पौडेलले जानकारी दिए । “सूर्या लाइफ, जनरल इन्स्योरेन्स, नेशनल लाइफलाई समितिमा बोलाएर कुरा गरेका छौँ, कम्पनीहरुले अब काम अघि बढाउँछन्,” उनले भने ।

युनाइटेड इन्स्योरेन्सले २०७५ सालदेखि सिइओ नियुक्त गर्न सकेको छैन् । तत्कालिन प्रमुख कार्यकारी अधिकृत शेखर बरालले राजिनामा दिए पछि कम्पनीको कायम मुकायम कार्यकारी अधिकृतमा रमेश कुमार भट्टराई नियुक्त भएका थिए । भट्टराईको कार्यकाल सकिएपछि कम्पनीको निमित्त प्रमुख कार्यकारी अधिकृतमा उपासना पौडेल रहेकी छिन् ।

सूर्या लाइफ इन्स्योरेन्स २०७७ मंसिर १ गतेदेखि निमित्त प्रमुख कार्यकारी अधिकृतको भरमा कामकाज अघि बढाउदै आएको छ । कम्पनीले निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी पवन कुमार खड्कालाई दिएको छ । कार्यकाल सकिन केही दिन बाँकी छँदै प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले पदबाट राजिनामा दिए पछि कम्पनीले पवन कुमार खड्कालाई निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको थियो ।

२०७७ साल पौषमा भरत बहादुर बस्नेतको पदावधि सकिए पछि नेशनल लाइफ इन्स्योरेन्सले सिईओ नियुक्त गर्न सकेको छैन् । कम्पनीको पौष ३ गते बसेको सञ्चालक समितिको बैठकले सुरेश प्रसाद खत्रीलाई नायब प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको थियो ।

जनरल इन्स्योरेन्सले स्थापना कालदेखि नै सिइओ नियुक्त गर्न सकेको छैन् । स्थापनाकालदेखि नै महाप्रबन्धकको जिम्मेवारी समहाल्दै आएका एसके तमोट कम्पनीबाट बाहिरिए पछि कम्पनीले कामु प्रमुख कार्यकारी अधिकृतमा रामचन्द्र श्रेष्ठ नियूक्त गरेको छ । कम्पनीको चैत ३० गते सम्पन्न सञ्चालक समितिको बैठकले नायब प्रमुख कार्यकारी अधिकृत रहेका श्रेष्ठलाई अर्को व्यवस्था नभएसम्मको लागि कम्पनीको प्रमुख रुपमा कार्य सञ्चालन गर्न कामु सीइओको जिम्मेवारी दिइएको हो ।

बीमा समितिद्धारा जारी बीमकको संस्थागत शुसासनमा कम्पनीहरुमा प्रमुख कार्यकारी अधिकृतको अनिवार्य व्यवस्था भए पनि कम्पनीहरुले बीमकको त्यसको पालना गरेका छैनन् । कम्पनीहरुले निमित्त प्रमुख कार्यकारी अधिकृत, महाप्रबन्धको भरमा काम गर्दै आईरहेका छन् ।

केही समय अघिसम्म खालि रहेको नेपाल लाइफ इन्स्योरेन्सको प्रमूख कार्यकारी अधिकृतमा बीमा समितिले चैत्र ११ गते रमेश प्रसाईँलाई नियुक्त गर्न स्वीकृति दिएको थियो । समितिको स्वीकृतीपछि कम्पनीले प्रसाईलाइ आगामी ४ वर्षका लागि सिइओमा नियुक्त गरेको छ । यसअघि नेपाल लाइफको सीइओको रुपमा विवेक झा रहेका थिए । झाको कार्यकाल सकिएसँगै प्रसाईँले कार्यबाहक सीईओका रुपमा कार्य गर्दै आएका थिए ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।