बीमा पोलिसी ‘कम्पेयर’ गरेर खरिद गर्ने ‘प्लेटफर्म’ कहिले सम्भव होला ?

0
Shares

सूचना प्रविधिमा आएको तिब्र विकासले सारा संसार नै एउटा मोवाइलमा अटेको छ । संसार अटेको मोबाइलमा नेपाली बीमा क्षेत्र भने अझै अट्न सकेको छैन् ।
संसारभर भईरहेका घटना, जानकारीहरु इन्टरनेटको माध्यमबाट हेर्न सकिने प्रविधिको विकास भएको छ । तर, नेपाली बीमा कम्पनीहरुले सञ्चालनमा ल्याएको बीमा पोलिसीलाई एउटै प्ल्याटफर्ममा तुलना गरेर छनोट गर्ने अवसर प्रदान गर्न सकेका छैनन् ।

अन्य मुलुकको तुलनामा सुस्त गतिले भए पनि नेपालमा पनि सूचना, सञ्चार तथा प्रविधिको क्षेत्रमा उल्लेख्य प्रगति हुँदैे आएको छ । विश्व स्तरमा सूचना–प्रविधि क्षेत्रमा भइरहेका नयाँ–नयाँ विकासलाई नेपालले आत्मसाथ गर्न थाल्दा दुर दराजका गाउँमा समेत सूचना तथा प्रविधिको पहुँच पुगेको अवस्था छ ।

खाना खाजा खाने ठाउँ, साना तथा ठुला सपिङ मल, तरकारी तथा फलफुल बजारमा मात्रै हैन् आजकल बस भाडाँ तिर्दा समेत प्रविधि कै प्रयोग गरिन्छ । तर, बीमाको पोलिसी खरिद तथा दाबी भूक्तानी गर्न भने सकिने अवस्था छैन् । प्रविधिको प्रयोगबाटै दैनिक जीवनमा हुने स–साना कामदेखि लिएर ठुला काम समेत फत्ते गर्न सक्ने अभ्यास नेपालले सुरुवात गरेपनि बीमा कम्पनीहरु परम्परागत शैलिको व्यवसायमा नै रमाएका छन् ।

नेपालमा मोबाइलको माध्यमबाट बैंक खाता, डिम्याट खाता खोल्न सक्ने अभ्यासको समेत विकास भईसकेको छ । आजकल डिजिटल कारोबार मानिसहरुको पहिलो प्राथमिकता जस्तै बनेको छ । सबै क्षेत्रले प्रविधिको आत्मसाथ गरे पनि बीमा क्षेत्रमा प्रविधिको प्रयोग भने न्यून मात्रामा भएको देखिन्छ । लामो समयदेखि नेपालले बीमा व्यवसाय अबलम्वन गर्दै आए पनि यस क्षेत्रमा भने कागजी कामकाजको प्रक्रिया नै चलन चल्तीमा छ ।

सूचना प्रविधिको युगमा नेपाली बीमा क्षेत्रमा भने बीमितहरुले चाहे अनुसारको सुविधा दिन सकेको देखिदैन् । बीमा पोलिसी खरिद गर्नका लागि अभिकर्तामा भर पर्नु पर्ने, कम्पनीका बीमालेखको जानकारी लिन सम्बन्धीत कम्पनी मै धाउनु पर्ने, चाहे अनुसारको जानकारी कम्पनीबाट पनि पर्याप्त मात्रामा प्राप्त गर्न नसकिने लगायतका समस्या नेपाली बीमा बजारका बिद्यमान छन् ।

अन्तराष्ट्रिय अभ्यासलाई हेर्ने हो भने पुर्ण अनलाइन बीमाको सुिवधा छ । अनलाइनबाटै पोलिसी खरिद गरि आफ्नो बीमालेख नविकरण तथा दाबी समेत गर्न सकिने संयन्त्रको विकास भएको देखिन्छ ।

छिमेकी मुलुक भारतमा समेत प्रविधिको प्रयोगबाट एकै क्लिकमा बीमा पोलिसी खरिद गर्न, आफ्नो बीमा नविकरण गर्न र दाबी भुक्तानी गर्न सकिने व्यवस्था छ । भारतमा पोलिसी बजार डटकम नामक अनलाइनमार्फत अधिकांश कम्पनीको बीमा पोलिसी खरिद गर्न, बीमा नविकरण गर्न तथा बीमा दाबी गर्न सक्ने व्यवस्था छ । भारतमा उक्त वेभसाइटमार्फत सबै बीमा कम्पनीमा भएका पोलिसीका प्रकार, बीमा अवधि तथा बीमाशुल्क लगायतका सम्पूर्ण जानकारी लिइ उपयुक्त लागेको पोलिसी सोही माध्यबाट खरिद गर्न पनि सकिन्छ ।
हुन त पछिल्लोे समय सञ्चालनमा आएका केही नेपाली बीमा कम्पनीहरुले अनलाइन बीमा सेवाको शुरुवात गरेका छन् । कम्पनीहरुले दिँदै आएका अनलाइन सेवा त्यति प्रभावकारी हुन नसकेको स्वयम कम्पनीहरु बताँउछन् ।

नेपालमा ईबीमा अनलाइन प्लेटफर्मले प्रविधिमा आधारीत बीमा सेवाको शुरुवात गरेको छ । ईबीमा नामक वेभसाइटले करिब पाँच वर्ष अघिदेखि अनलाइन बीमा सेवाको अभ्यास थालनी गरेको हो । तर, उक्त प्लेटफर्ममार्फत पनि ग्राहकले चाहे जस्तो सेवा पाउन भने नसकेको अवस्था छ ।

अनलाइन प्लेटफर्म भएता पनि ग्राहकले सेवा भने अनलाइनबाट पाउन सक्दैनन् । इबीमाले मार्केटिङ गर्छ तर पोलिसी जारी भने कम्पनी मै गएर गर्ने गर्दछ । एउटै अनलाइन प्लेटफर्ममार्फत बीमा पोलिसी जारी गर्न नेपालको कुनै पनि कानुनी व्यवस्था नभएका कारण पूर्ण रुपमा अनलाइन सेवा दिन नसकेको इबीमाका डाइरेक्टर विकल चौलागाई बताउँछन् ।

आजको प्रविधिको युगमा अनलाइन बीमा सेवाको आवश्यकता महशुस गर्दै इबीमाको अवधारणा अघि बढाएको चौलागाईले बताए । अनलाइन बीमा सेवाको अवधारणा ल्याए पनि बीमा सेवा भने कागजी प्रक्रियाबाट नै दिँदै आएको उनी बताउँछन । नेपालमा बीमा क्षेत्रमा यदि अनलाइन बीमा सेवाको अवधारणालाई कानुनले सम्बोधन गर्ने हो भने बीमाको पहुँच बढ्ने उनको तर्क छ ।

अहिले इबीमाले बीमा पोलिसीको मार्केटिङ गर्छ, सोही अनुसार कुन कम्पनीको कुन पोलिसी खरिद गर्न चाहेको हो सोही कम्पनीमा गएर पोलिसी जारी गर्ने गर्दछ । अनलाइनमार्फत मार्केटिङ गरे पनि पोलिसी जारी भने अफलाइन अर्थात कागजी प्रक्रियाबाट नै हुन्छ ।

चिरञ्जीवी चापाँगाई बीमा समितिमा अध्यक्ष रहँदा एउटै प्लेटफर्मबाट अनलाईन बीमा सेवा दिने प्रस्ताव सहित केही कम्पनीहरु बीमा समिति पुगेका थिए । अरु सबै काम अनलाइनबाट गरे पनि बीमा पोलिसी भने कागजी प्रक्रियाबाट नै गर्नु भन्ने अध्यक्ष चिरञ्जीवी चापाँगाईको भनाई पछि ती कम्पनी पछि हटेका थिए ।

एउटै प्लेटफर्ममाफर्त बीमा सेवा दिनका लागि कानुन नै बाधक रहेको बीमा समितिका कार्यकारी निर्देशक राजु रमण पौडेलले बताए । अहिलेको समयमा प्रविधीमैत्री बीमा सेवाको आवश्यक रहेको उनको भनाई छ । “एउटै प्लेटफर्म मार्फत पोलिसी जारी गर्न हाम्रो विद्यमान कानुनले नै दिँदैन, नयाँ कानुन आए पछि विचार गरौँला” नोटबजारलाई उनले भने,“एउटै प्लेटफर्ममार्फत पोलिसी खरिदबिक्रिको सम्भावना अध्ययन समेत गर्न बाँकी छ ।” यस बारेमा अध्ययन गरे पछि अघि बढ्ने उनको भनाई छ । अहिले पनि केही बीमा कम्पनीले अनलाइन सेवा दिँदै आएको जानकारी उनले दिए । बीमा क्षेत्रमा पनि अनलाइन सेवाको सुविधा विस्तारै आउने उनले बताए ।

सूचना तथा प्रविधिको युगमा एउटै प्लेटफर्ममार्फत अनलाइन बीमा सुविधा लिन सकिने अभ्यासको खाँचो रहेको सरोकारवालाहरु बताउँछन् । अनलाइन बीमा सुविधाको अभ्यासलाई आत्मसाथ गर्ने हो भने बीमाको पहुँच बढ्ने मात्रै हैन नेपालमा बीमा क्षेत्रले पुर्याउने योगदान समेत बढ्ने सरोकारवालाहरुको तर्क छ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।