कोटा तोकेपछि सहुलियतपूर्ण कर्जा बढ्यो, कुन बैंकको कति ?

0
Shares

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई कोटा नै तोकेपछि सहुलियतपूर्ण कर्जा प्रबाह उच्च दरमा बढेको छ । सहुलियतपूर्ण ब्याजदरको कर्जामा बैंक वित्तीय संस्था आकर्षित नभएपछि कोटा व्यवस्थाले कर्जा करिब तीन गुणाले बढेको हो ।

सहुलियतपूर्ण कर्जा मध्ये व्यवसायिक कृषि तथा महिला उद्यमशिलता शिर्षकको कर्जा तुलनात्मक रुपमा बैंक तथा वित्तीय संस्थाको रोजाइमा परेको देखिन्छ । चालु आर्थिक वर्षको चैतसम्ममा बैंक तथा वित्तीय संस्थाले प्रबाह गरेको कुल सहुलियतपूर्ण कर्जामा यिनै दुई शिर्षकको बाहुल्यता छ ।

चालु आवको चैतसम्ममा बैंक वित्तीय संस्थाले सहुलियतपूर्ण कर्जा अन्तर्गतका विभिन्न १० शिर्षकमा कुल एक खर्ब ६५ अर्ब रुपैयाँ सहुलियतपूर्ण ब्याजदरको कर्जा प्रबाह गरेका छन् । यो कर्जा मध्ये व्यवसायिक कृषि तथा पशुपंक्षि शिर्षकमा ११४ अर्ब कर्जा स्वीकृत गरेका छन् भने महिला उद्याशिलता कर्जा अन्तर्गत ४५ अर्ब ५० रुपैयाँ कर्जा स्वीकृत गरेका छन् । संख्याको दृष्टिकोषणबाट महिला उद्यमशिल कर्जा सबैभन्दा धेरै रहेको छ ।

विगतका वर्षहरुको तुलनामा चालु आवमा सहुलियतपूर्ण कर्जाको आकर्षण उल्लेख्य रुपमा बढेको नेपाल राष्ट्र बैंकका प्रबक्ता देवकुमार ढकालले बताए । “गत आर्थिक वर्षको अन्तिमसम्ममा करिब ३२ हजार ग्राहक रहेकोमा चैतसम्म आइपुग्दा ९० हजार हाराहारीमा पुगेको छ,” ढकालले भने,“राष्ट्र बैंकले अपेक्षा गरे अनुसारको कर्जाको माग तथा वृद्धि भएको छ ।”

चालु आर्थिक वर्षको चैतसम्ममा १४२ अर्ब रुपैयाँ बराबरको सहुलियतपूर्ण कर्जा बक्यौता रहेको छ । यो बक्यौता गत आर्थिक वर्षको सोही अवधिको तुलनामा करिब तीन गुणा धेरै हो । २०७६ चैत मसान्तसम्ममा कृषि तथा पशुपंक्षी व्यवसाय कर्जा अन्तर्गत २३,४०९ ऋणीको ५० अर्ब ४७ करोड कर्जा बक्यौता रहेको थियो भने अन्य शीर्षक अन्तर्गत ५,२५० ऋणीको ३ अर्ब ४१ करोड रुपैयाँ कर्जा बक्यौता रहेको थियो ।

चालु आर्थिक वर्षको चैतसम्ममा बैंक वित्तीय संस्था कुल ४२ हजार ४ सय ४७ ग्राहकलाई ११४ अर्ब ८ करोड रुपैयाँ बरावरको व्यावसायिक कृषि तथा पशुपंक्षी कर्जा प्रदान गरेका छन । यो शिर्षकको कर्जामा ९६ अर्ब ६० करोड ३० लाख रुपैयाँ बक्यौता रहेको छ ।

त्यसैगरी दोस्रोमा रहेको महिला उद्यमशील कर्जा अन्तर्गत बैंक तथा वित्तीय संस्थाले ४५ हजार १ सय २८ जना ग्राहकलाई ४५ अर्ब ५० करोड रुपैयाँ बजारको सहुलियतपूर्ण कर्जा दिएका छन् । सो शिर्षक अन्तर्गत कर्जामा कुल ४२ अर्ब १५ करोड ७८ लाख रुपैयाँ बक्यौता रहेको छ ।

बैंक वित्तीय संस्थाहरुले शिक्षित युवा स्वरोजगार कर्जा अन्तर्गत १३९ जनालाई ७ करोड ३७ लाख, विदेशबाट फर्केका युवा परियोजना कर्जा अन्तर्गत ७४४ जनालाई ६२ करोड ४४ लाख ५८ हजार, दलित समुदाय व्यवसाय विकास कर्जा अन्तर्गत ७९९ जनालाई ५४ करोड ७८ लाख रुपैयाँ कर्जा स्वीकृत गरेका छन् ।

त्यसैगरी उच्च प्राविधिक तथा व्यवसायिक शिक्षा कर्जा अन्तर्गत ८६ जनालाई २ करोड ९२ लाख, भूकम्प पीडितहरुको निजी आवास निमार्ण कर्जा अन्तर्गत २३६ जनालाइ ७ करोड ४ लाख, कपडा उद्योग सञ्चालनको लागि २९५ जनालाई ४ अर्ब ६ करोड ४८ लाख रुपैयाँ कर्जा बैंक तथा वित्तीय संस्थाले प्रबाह गरेका छन् । प्राविधिक तथा व्यवसायिक तालिक परिषदबाट मान्यता प्राप्त संस्थाबाट लिइने तालिम २ जना लाई ४ लाख र युवा वर्ग स्वरोजगार कर्जा अन्तर्गत ३ जनालाई १३ लाख रुपैयाँ स्वीकृत गरेका छन् ।

चालु आवको चैतसम्ममा सबैभन्दा धेरै सहुलियतपूर्ण कर्जा दिने बैंकका कृषि विकास बैंक रहेको छ । बैंकले चैत मसान्तसम्ममा ९ हजार ६ सय २५ ग्राहकलाई १८ अर्ब ९१ करोड रुपैयाँ बरावरको सहुलियतपूर्ण कर्जा स्वीकृत गरेको छ । यसमध्ये बैंकको १६ अर्ब ७२ करोड रुपैयाँ बरावरको कर्जा बक्यौता रहेको छ ।

वाणिज्य बैंकहरु मध्ये सबैभन्दा थोरै सहुलियतपूण कर्जा प्रबाह गर्नेमा स्ट्याण्डर्ड चार्टर्ड बैंक रहेको छ । बैंकले चालु आर्थिक वर्षको चैतसम्ममा एक सय ४४ जनालाई ७८ करोड ३० लाख रुपैयाँ बरावरको कर्जा स्वीकृत गरेको छ । सो अवधिमा बैंकको ६८ करोड २१ लाख रुपौयँ बरावरको सहुलियतपूर्ण कर्जा बक्यौता रहेको छ ।

चालु आर्थिक वर्षको बजेटको व्यवस्था अनुसार मौद्रिक नीतिले वाणिज्य बैंकले कम्तीमा ५०० वा न्यूनतम प्रतिशाखा १० र राष्ट्रिय स्तरका विकास बैकले कम्तीमा ३०० वा न्यूनतम प्रति शाखा ५ मध्ये जुन बढी हुन्छ सोही संख्यामा कर्जा प्रवाह गर्नुपर्ने व्यवस्था गरेको छ । यो व्यवस्था पनि सहुलियत पूर्ण कर्जाको संख्या उच्चदरमा बढेको हो । सरकारले उत्पादन अभिवृद्धि, रोजगारी सिर्जना र उद्यमशिलता विकासका लागि ऋणीलाई ५ प्रतिशत ब्याजदरमा सहुलियतपूर्ण कर्जा उपलब्ध गर्ने व्यवस्था गरेको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।