व्यालेन्स फण्डबाट लगानीकर्ता खुसी बनाउनेमा विश्वस्त छौं : बद्री प्याकुरेलसँग अन्तरवार्ता


आरविवि मर्चेन्ट बैकिङ लिमिटेडको व्यवस्थापन तथा राष्ट्रिय वाणिज्य बैंकको प्रवद्र्धनमा असार २३ गते बुधबारदेखि आरविवि म्युचुअल फण्ड १ का इकाई निष्काशन भईरहेको छ । दोस्रो बजारमा लगानीकर्ताको संख्या बढेसँगै बजार माथिल्लो विन्दुमा पुगेका बेला आरबिबि मर्चेण्ट बैंकिङले पहिलो म्युचुअल फण्डका इकाई निष्काशन गरेको हो ।

खुल्लामूखी योजनाको अभ्यास सुरु भईसकेको अवस्थामा आरबिबिले भने बजारमा धेरै प्रचलनमा रहेको बन्दमुखी योजनालाई अघि सारेको हो । सात बर्षे अवधिको यो फण्डको आगामी योजना तथा समग्र बजारका सम्बन्धमा नोटबजार डटकमले आरबिबि मर्चेण्ट बैंकिङका प्रमुख कार्यकारी अधिकृत बद्री प्रसाद प्याकुरेलसँग गरेको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ ।

आरबिबि म्युचुअल फण्ड १ का इकाईहरु निष्काशन गरिरहनु भएको छ, ययो योजना कस्तो हो ?

हामीले आरविवि म्युचुअल फण्ड १ योजना संचालन गर्न लागेका हौ । योजनाको कोष प्रबद्र्धक राष्ट्रिय वाणिज्य बैंक हो । योजना ब्यबस्थापनको काम हामीले गरेका छौं । १ अर्ब आकारको ७ वर्षे योजना अवधिको बन्दमुखी योजना हो । योजना अन्तर्गत १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई निष्काशन हुने छ । यसमा बिज लगानी वापत कोष प्रवद्र्धक वाणिज्य बैंकलाई १३ प्रतिशत र हामी आरबिबि मर्चेण्ट बैंकिङलाई २ प्रतिशत गरी १५ प्रतिशत इकाई सुरक्षित गरेर बाँकी ८५ प्रतिशत अर्थात ८ करोड ५० लाख इकाई सर्वसाधारणमा निष्काशन गरिएको हो ।
माग भन्दा बढीको आवेदन परेको खण्डमा योजनाको आकारलाई बढाएर १ अर्ब २५ करोडको पुर्याउन सकिने ब्यबस्था छ । यो अवस्थामा कोष प्रवद्र्धक र व्यवस्थापकको बिज लगानी प्रतिशत १३ र २ नै कायम हुनेछ । न्युनतम १ सय इकाई र अधिकतम १ करोड इकाईको लागि सर्वसाधारणले आवेदन दिन सक्ने व्यवस्था गरिएको छ । पछिल्ला दिनको अभ्यासलाई हेर्दा निष्काशन सुरु भएको ४ दिनको अवधिमा नै फण्डका इकाईहरु बिक्री हुनेमा हामी विश्वस्त छौं ।

फरक फरक उपकरणमा केन्द्रित भएर योजनाहरु आईरहेका छन् । तपाईहरुको योजनाले लगानीका क्षेत्रमा केलाई प्राथमिकतामा राखेको छ ?

धितोपत्र बोर्डको नियमावली र निर्देशिकाको अधिनमा रही इकाई बिक्रीबाट संकलन भएको रकम बोर्डमा दर्ता भएको धितोपत्र, सार्वजनिक निष्काशन भएको धितोपत्र, धितोपत्र बिनिमय बजारमा सूचिकृत धितोपत्र, नेपाल सरकारले जारी गरेको वा नेपाल सरकारको जमानत वा पूर्ण सूरक्षित हुने गरी सरकारी स्वामित्व वा नियन्त्रणमा रहेको कुनै संस्था वा नेपाल राष्ट्र बैंकले जारी गरेको ऋणपत्र, ट्रेजरी वील तथा मुद्रा बजारका अन्य साधनहरुमा लगानी गर्ने छ । बैंक निक्षेप, मुद्रा बजार उपकरण र बोर्डले तोकिदिएको अन्य क्षेत्रमा लगानी गर्ने योजना छ । नियमावलीको व्यवस्थालाई मध्यनजर गर्दै प्रतिफलको आधारमा एक क्षेत्रको लगानीलाई अन्य क्षेत्रको लगानीमा सार्दै जोखिम न्युनीकरणको काम गरिनेछ ।

व्यालेन्स फण्ड भएकाले लगानीका दायरा धेरै हुँदा लगानीकर्ताको लगानी सुरक्षालाई कसरी लिनु भएको छ ?

पक्कै पनि धितोपत्र बजारमा लगानी गर्दा व्यालेन्स फण्ड भएकाले नै हामीलाई निश्चित कम्पनीमा मात्र लगानी गर्नु पर्ने भन्ने बाध्यता हुँदैन । कम्पनी विश्लेषण गरेर राम्रो सम्भावना भएका, प्रतिफल दिन सक्ने, लाभ हुने खालका कम्पनी छनौट गरेर लगानी गर्ने योजना छ । बजारबाट पूँजीगत लाभ पनि लिने किसिमले लगानीका उपायहरुमा पनि काम गर्नेछौं । जसले गर्दा हामीले लगानी गर्ने कम्पनीको संख्या र लगानी गरिने शेयरको परिणाम समय अनुसार फरक फरक हुन्छ ।

बजारमा लगानीकर्ता आफैं पनि सक्रिय भईरहेको अवस्थामा आरविवि कै म्युचुअल फण्डमा लगानी गर्नु पर्ने कारण ?

हाल बजारमा खुलामुखी र बन्दमुखी योजना छन् । हामीले बन्दमुखी योजना संचालन गर्न लागेका हौ । हामीले लगानी गर्दा कम्पनीको आधारभुत विश्लेषण गर्छौ, प्राविधिक विश्लेषण गर्छौ, र अन्य विभिन्न विधि प्रयोग गरेर लगानीको लागि कम्पनी छनौट गर्छौ । अनुभवी र कुशल फण्ड म्यानेजमेन्ट टीमको सहायतामा मात्र लगानीको निर्णय हुन्छ । सुपरिवेक्षक टीममा पनि विभिन्न क्षेत्रको अनुभव बटुलेका विज्ञहरु हुनुहुन्छ । जसले गर्दा कुन क्षेत्र तथा कम्पनीमा बढी लगानी गर्ने, कसरी गर्ने, कुन स्टक बढी होल्ड गर्ने, भन्ने विषयमा निणर््ाय लिन सजिलो हुन्छ । यसकै आधारमा हामीले लगानीकर्तालाई राम्रो प्रतिफल दिन सक्छौं, त्यसैले लगानीकर्ताले आरविवि म्युचुयलमा लगानी गर्न सक्नुहुन्छ । व्यक्तिगत लगानीकर्ताको हकमा मैले भनेको जस्तो अध्ययनको कमी हुने भएकाले पनि हामीले सुरक्षालाई केन्द्रमा राखेका हुन्छौं ।

राम्रो प्रतिफल दिन्छौं भन्नु भयो, लगानीकर्ताले कति अपेक्षा गर्न सक्छन् ?

हामीले पहिलो वर्ष १० प्रतिशत लाभांश, दोस्रो वर्षमा १३ प्रतिशत, तेस्रो वर्षमा १७ प्रतिशत र चौथो वर्षमा १९ प्रतिशत लाभांश वितरण गर्ने प्रक्षेपण गरका छौ । त्यस्तै पाचौ वर्षमा २१ प्रतिशत छैठौ वर्षमा २२ प्रतिशत र सातौ तथा अन्तिम वर्षमा २५ प्रतिशत लाभांश वितरण गर्ने प्रक्षेपण गरेका छौ । यो लाभांशको हिसाबले लगानीमा गरिएको वार्षिक प्रतिफल पहिलो वर्ष १६.३९ प्रतिशात, दोस्रो वर्षमा २१.१७ प्रतिशत, तेस्रो वर्षमा २४,३६ प्रतिशत, चौथो वर्षमा २५.२२ प्रतिशत, पाचौ वर्षमा २५.१६ प्रतिशत, छैठौ वर्षमा २४.५५ प्रतिशत र अन्तिम वर्षमा २३.२६ प्रतिशत हुने प्रक्षेपण गरेका छौ । संचित लगानीमा हुने प्रतिफल पहिलो वर्ष १६.३९ प्रतिशत, दोस्रो वर्ष ३७.५६ प्रतिशत, तेस्रो वर्ष ६१.९२ प्रतिशत, चौथो वर्ष ८७.१५ प्रतिशत, पाचौ वर्ष ११२.३१ प्रतिशत, चौथौ वर्ष १३६.८६ प्रतिशत र सातौ तथा अन्तिम वर्षमा १६०.१२ प्रतिशत हुने प्रक्षेपण गरिएको छ ।

शेयर बजार पर्ख अनि हेरको अवस्थामा छ, यस्तो बेला तपाईहरुले प्रक्षेपण गरेको प्रतिफल दर नतिजामुखी नहुने सम्भावना कत्तिको देख्नु भएको छ ?

प्रतिफल प्रक्षेपण गर्दा ऋणपत्र, बण्ड, मुद्दती लगानी जस्ता स्थीर आम्दानी उपकरणहरुबाट वार्षिक ८ प्रतिशत, नगद लाभांशबाट वार्षिक ३ प्रतिशत, बोनस शेयरबाट वार्षिक ५ प्रतिशत, ब्याज आम्दानीबाट वार्षिक ४ प्रतिशत प्रतिफल आउने प्रक्षेपण गरिएको छ । बजारको उतारचढावबाट प्राप्त हुने पुँजीगत नाफाको प्रक्षेपण २० प्रतिशत मात्र रहेको हुनाले तपाईले भनेको जस्तो अवस्था आउदैन भन्ने हो । त्यस्तो समयमा बजारको गति अनुसार निर्णय लिइने भएकाले भने बजार घट्दो क्रममा बस्दा पनि हामीले प्रक्षेपण गरेकै दरमा लाभांश दिन सक्छौं भन्नेमा म विश्वस्त छु ।

हामीकहाँ म्युचुअल फण्ड लिट्रेसीको काम किन प्रभावकारी नभएको जस्तो लाग्छ ?

म्युचुअल फण्ड संचालनको इतिहास धेरै लामो नहुनु अनि बजार विकासको क्रममा नै रहेकाले यसमा सहभागिता कम भएको हो । विकास क्रममा भएको यस किसिमको सहभागितालाई आधार मानेर लिट्रेसीमा काम भएन वा सहभागिता अपेक्षित भएन भनिहाल्न मिल्छ जस्तो लाग्दैन । बजारको आकारसँगै विकासको चरणमा यो काम पनि सँगै अघि बढ्ने भएकाले आगामी दिनमा लिट्रेसीसँगै सहभागिता झनै व्यापक भएर जाने अवस्था देखेको छु ।

नेपालमा म्युचुअल फण्ड संचालन गर्नको लागि बैंकको कम्पतीमा ५१ प्रतिशत शेयर स्वमित्व भएको क्यापिटलले हुनुपर्ने व्यवस्था रहेको कारण म्युचुअल फण्ड संचालन गर्ने क्यापिटलको संख्या कम थियो । तर पछिल्लो समयमा बैंकहरुले आफ्नो सहायक कम्पनी मार्फत म्युचुअल फण्ड संचालन गर्ने क्रम बढेको छ । नियामक निकाय नेपाल धितोपत्र बोर्डले नियमावली संशोधन गरि इन्स्योरेन्स कम्पनीहरुले पनि म्युचुअल फण्ड संचालन गर्ने सक्ने व्यवस्था मिलाएको छ भने बिकास बैंकहरुले पनि सहायक कम्पनीबाट म्युचुअल फण्ड संचालन गर्ने योजना बनाईराखेको हुँदा म्युचुअल फण्डको संख्या बृद्धिसंगै विस्तारै सर्वसाधारणमा म्युचुअल फण्डको बारेमा जानकारी र सहभागिता बढ्दै जाने देखिन्छ ।

दोस्रो बजारको सन्दर्भमा म्युचुअल फण्डको प्रभावकारिता कम भएको आरोपका सम्बन्धमा यहाँको सहमति वा विमति के छ ?

बजारको स्थायित्वको जिम्मा म्युचुअल फण्डको हो भन्ने किसिमको चर्चाका सम्बन्धमा प्रश्न गर्नु भएको हो भने यसमा मेरो सहमति छैन । किनकी म्युचुअल फण्डमा पनि लगानीकर्ताको सम्पत्ती लगानी भएको हुन्छ । हामीले अरुको लगानी परिचालन गर्दै गर्दा वहाँहरुको लगानी बचाउने र प्रतिफल दिने जिम्मेवारी लिएका हुन्छौं भने बजारको गति अनुसार लगानीको निर्णय हामीले पनि गर्नै पर्छ । यस अर्थमा फण्डहरुले पूर्ण रुपमा बजार सन्तुलनको भूमिका निर्वाह गर्नु पर्छ भन्ने मान्यतालाई मैलै स्वीकार गर्नै सक्दिन, बजारको बुझाई गलत हुन सक्छ । बजारको आकार बढ्दै गईरहेको अवस्थामा म्युचुअल फण्डहरुले जहिले पनि लगानी गर्दा शेयर मुल्यमा प्रभाव पर्ने, सम्पूर्ण विषयको अध्ययन गरेर मात्र लगानी गर्ने र लगानी गर्दा विस्तारै गर्ने हुँदा आम सर्वसाधारणहरुले सोचे जस्तो आजको भोलिने सबै रकम लगानी भने गर्दैनन् ।

धितोपत्रको दोश्रो बजार बढ्दो क्रममा रहेको समयमा म्युचुअल फण्डहरुले गरेको लगानीले भन्दा व्यक्तिगत रुपमा गरिएको लगानीले बढी रिर्टन दिएको हुन सक्छ । तर बजार घट्दो अवस्थामा रहेको बेला भने म्युचुअल फण्ड मार्फत गरिने लगानीले बढी मुनाफा दिन सक्छन । म्युचुअल फण्डमा संकलित रकम पनि स–साना लगानीकर्ताहरुकै रकम हो । उनीहरुको लगानीलाई सुरक्षित गरि उचित प्रतिफल बितरण गर्ने दायित्व हामी फण्ड व्यवस्थापकको हुन्छ । तसर्थ शेयर खरिद बिक्री गर्दा यस्ता कुरालाई मध्यनजर गरेर भएकाले म्युचुअल फण्डप्रति त्यस किसिमको आरोप लागेको हुन सक्छ । योजनाले लगानी गर्दा योजनको रकम सुरक्षित हुने तथा उक्त लगानीबाट उच्च प्रतिफल प्राप्त गर्ने गरि लगानी रणनीति बनाई कार्यन्वयन गरिन्छ ।

बजेटमा आएको म्युचुअल फण्ड सम्बन्धि ब्यबस्थालाई कसरी लिनु भएको छ ?

आगामी आर्थिक वर्षको बजेटले म्युचुअल फण्डको आम्दानीमा कर नलाग्ने भनेर गरेको व्यवस्थाको पक्कै पनि सकरात्मक असर पर्छ । पहिले पनि कर तिर्ने गरिएको थिएन तर नीतिगत रुपमा गरिएको प्रष्ट व्यवस्थाले बजारको मानसिकतालाई सहज बनाउँछ भन्ने लाग्छ । यसबाट आम सेवाग्राही लाभान्वित हुने कुरामा दुईमत रहन्न ।

एक अर्ब रुपैंयाको ‘आरविवि म्युचुअल फण्ड–१’ मा आवेदन खुल्यो

आरविवि मर्चेन्ट बैंकिङ्गले पहिलो पटक १ अर्बको सामुहकि लगानी कोष व्यवस्थापन गर्दै

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।