ठगीको माध्यम बन्दै सामाजिक सञ्जाल : वर्ष दिनमा ७० करोड ठगी, ४७० उजुरी

0
Shares

डिभी परेर अमेरिकाको क्यार्लिफेनियामा बस्दै आएको र बिहे पश्चात अमेरिका लैजाने भन्दै ६ लाख ६० हजार ठगी गर्ने २ युवतीलाई प्रहरीले २०७७ साउन ९ गते नियन्त्रणमा लियो ।

माया जालमा पारेर उक्त रकम ठगी गरेको उजुरी आएपछि प्रहरीले प्राविधिक विश्लेषणका माध्यमबाट अनुसन्धान गर्दा उक्त कार्य नेपालमै रहेका दुई युवतीले गरेको पुष्टि हुन आएको थियो ।

उक्त ठगी कार्यमा बाग्लुङ घर भई हाल भक्तपुर बस्ने २७ वर्षिय कोपिला शर्मा र सोही ठाउँ बस्ने १९ वर्षिय अमिसा केशी संलग्न रहेका थिए ।

उनीहरुलाई बुटवलबाट पक्राउ गरी ठगी मुद्धामा आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी वृत ठिमीमा पठाइएको थियो ।

त्यसैगरी केहि समय अघि जागिर लगाइदिने भन्दै फेसबुकमा जब भ्याकेन्सीको पेज बनाएर ४३ जना युवा ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गर्यो, पक्राउ पर्नेमा दोलखा घर भएका काठमाण्डौको काडाँघारी बस्ने शिब खड्का रहेका थिए ।

खड्काले बेरोजगार युवाहरुलाई आकर्षक तलब, सुविधा दिने आश्वासनमा पारेर १५ सय रुपैयाँदेखि ३ हजार ५ सय रुपैयाँका दरले इसेवा मार्फत रकम डिपोजिट गर्न लगाएर फरार भएका थिए । फरार खड्कालाई पक्राउ गरी आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी परिसर ललितपुर पठाइएको थियो ।

पछिल्लो चरणमा यस प्रकारका ठगीका घटनाहरु बढ्दै गएका छन् । प्रविधि र सामाजिक संञ्जालको दुरुपयोगरी ठगी धन्दा गर्नेहरुको सक्रियता बढ्दै जादा सर्वसाधरण व्यक्तिहरु ठगिने क्रम पनि बढेको हो ।

वर्ष दिनमा ७० करोड ठगी, ४७० उजुरी

महानगरीय अपराध महाशाखाका एस.पि कृष्ण प्रसाद कोइरालाका अनुसार सामाजिक सञ्जालको दुरुपयोग गरेर आ.व.२०७७/०७८ मा अनलाइनबाट ठगीएको भन्दै ४७० वटा उजुरी परेका छन् । उक्त उजुरीमा ठगले अनलाइनबाट ७० करोड रुपैयाँ ठगी भएको जानकारी उनले दिए ।

महाशाखाबाट प्राप्त तथ्यांक अनुसार आ.व. २०७७/०७८ अनलाइबाट ठगी गर्ने १९ जना अभियुक्त पक्राउ गरी उनीहरु विरुद्ध मुद्धा चलाइएको छ । अभियुक्तमा १६ जना पुरुष र ३ जना महिला रहेका छन् । उनीहरुले १७ जना पुरुष र २२ जना महिलाबाट ३ करोड ७ लाख ३७ हजार ६०८ रुपैयाँ बराबरको ठगी गरेका थिए । बाँकी उजुरीका आधारमा अनुसन्धान भइरहेको महाशाखाले जनाएको छ ।

ठगीका अनेक तरिका

महानगरीय अपराध महाशाखाका प्रवक्ता कृष्ण प्रसाद कोइरालाका अनुसार, सामाजिक सञ्जाल फेसबुक, इन्स्ट्राग्रामबाट दैनिक जीवनमा प्रयोग हुने सामानहरु होम डेलिभरी गरीदिने भन्दै पिडित संग पहिला रकम असुल्ने र सामान होम डेलिभरी नगरिदिने, विदेशबाट सित्तैमा महंगा गरगहना तथा नगद पठाएको छु भन्दै सामान पार्सलको फोटो सम्म पठाएर भन्सार छुटाउन र एक्सचेन्ज गर्न रकम आवश्यक पर्यो भन्दै बारम्बार पैसा मागेर ठग्ने गरीएको भेटिएको छ ।

यतिमात्र होइन फेसबुकमा महिलाको आकर्षक फोटो राखेर महिलाको नामबाट फेसबुक खाता खोलेर मायाजालमा पार्दै बिभिन्न अश्लिल फोटो पठाउने र आइएमईबाट पीडितलाई रकम पठाउन लाउने र मागेको रकम नदिए आफन्त साथीहरुलाई अश्लिल फोटो पठाइदिन्छु भन्दै ठगी गर्ने गरेको उनी बताउँछन् ।

नोटबजारसंग कुरा गर्दै कोइरालाले भने,“फेसबुक, ह्वाटसप, इन्टाग्रामको प्रयोग गरि विदेशी नागरीक बनेर सुनका गरगहना, आइफोन मोबाइल, कपडाहरु समेत पठाइदिने भन्दै ठगी गर्ने, मिलियन डलर, ब्याग, बहुमूल्य सामानको बक्स पठाइदिन्छु भन्दै पैसा पठाउन लाउने र सामान नपठाउने गरिएको छ ।
साथै फेसबुक, ह्वाटसप, इमो मार्फत लटरी परेको छ भन्दै उक्त रकम प्राप्त गर्नका लागि ट्याक्स तिर्नुपर्छ भनेर विभिन्न खातामा रकम जम्मा गर्न लगाउने, बैंक खाता नम्बर माग्ने, मोबाइल बैंकिङको कोड नम्बर र पासवर्ड माग्दै आम सर्वसाधरणलाई ठग्ने गरेको पाइएको छ । ”

प्रविधिको पँहुच सर्वसाधरणमा जति सहज भयो अर्थात जमाना डिजिटलाइज भयो त्यति नै पीडितहरुको संख्या पनि बढीरहेको छ । महाशाखाका प्रवक्ता कोइरालाका अनुसार, अनुसन्धाका क्रममा बैंक खाता, इसेवा लगायत अनलाइन खाताहरु पनि झुटो विवरणको भेटिएका छन् । अहिले ग्राहक बढाउने उद्धेश्यले बैंक तथा वित्तिय संस्थामा सजिलै खोलिएका खाताहरुबाट पनि त्यस्तो समस्या हुनसक्ने उनले बताए । डिजिटल बैंक खाता खोल्दा, इसेवा, खल्ति, लगायतका खाता खोल्दा भेरिफिकेसनको प्रावधानलाई कडी कडाउ गर्नुपर्ने उनको सुझाव छ ।

सावधानी अपनाउन बैंकर्स संघको आग्रह

पछिल्लो समयमा सोसियल मिडियाको प्रयोग गरी विभिन्न नक्कली अकाउन्ट खोली सहयोगको रुपमा पैसा माग्ने क्रियाकलापहरु भइरहेको प्रतिसचेत रहन नेपाल बैंकर्स संघले समेत औपचारिक रुपमा आग्रह गरेको छ ।

नेपाल बैंकर्स संघका अध्यक्ष भुवन कुमार दाहालले सोसियल मिडियामा प्राप्त भएको अनुरोधको आधारमा मात्र कुनै पनि व्यक्ति/कम्पनीको नाममा पैसा स्थानान्तरण नगर्न सबैमा बैंकर्स  संघले सबैमा आग्रह गरिएको बताए । साथै आफ्नो खाता सम्बन्धी विवरण, पिन नम्बर, मोबाइल/इन्टरनेट बैंकिङ्गसम्बन्धी विवरणहरु, आदि समेत कसैसंग शेयर नगर्न संघले आग्रह गरेको छ ।

कतिपय अवस्थामा अनाधिकृत अकाउन्टहरु छुट्टाउन ग्राहो हुने भएकोले सम्बन्धित व्यक्ति/कम्पनीसंग प्रत्यक्ष रुपमा एकिन गरिसकेपछि मात्र कुनै पनि प्रकारको आर्थिक क्रियाकलाप गर्नुहुन र यस विषयमा थप सचेत रहनुपर्ने दाहालको भनाई छ ।

सामाजिक सञ्जालमा ठगिनबाट बच्न के गर्ने ?

– विभिन्न सामाजिक सञ्जालको प्रयोग गरी साथी बनाएर विदेशबाट पार्सल आएको सूचना पठाएर पैसा माग्ने तथा सस्तो मूल्यमा सामान पठाइदिने भनेर ठगी गर्ने गिरोह नै सक्रिय भएकाले यस्तो प्रलोभनमा नपर्ने ।
– बजार मूल्यभन्दा कममा सामान पाइने भन्दैमा सामाजिक सञ्जालमा प्रकाशित नक्कली विज्ञापनलाई विश्वास गरी कारोबार नगर्ने ।
-यदि तपाईंलाई कुनै पनि प्रकारको चिठ्ठा वा योसँग सम्बन्धित म्यासेज वा फोन आउँछ भने त्यसलाई पूरै बेवास्ता गर्नुहोस् । साथै ठुलो रकम पाउने प्रलोभनमा एटिएम, मोबाइल बैंङ्किङकाेंं पासवर्ड र कोड नदिनु होस ।
– अपरिचित व्यक्तिको खातामा पैसा जम्मा नगर्ने ।
-मेहनत परिश्रम बिनाको (पैसा वा अन्य सामान) कुरामा लोभलाजचमा पर्नु भएन ।
– म मेरो खाता कसरी सुरक्षीत राख्न सक्छु भन्ने कुरा सिकेर बुझेर प्रयोग गर्ने।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।