वरिष्ठ अधिवक्ता गान्धी पण्डित भन्छन् ‘धितोपत्र बोर्डका अध्यक्ष र सदस्यलाई ऐन अनुसार सजाय हुन सक्छ’


पहिलो पटक वुक विल्डिङ प्रणालीबाट सर्वोत्तम सिमेन्टले सर्वसाधारणमा ६० लाख कित्ता शेयर निष्काशनको प्रकृया अघि बढाइरहेको छ । यसै बिच निष्काशन प्रकृया चल्दै गर्दा सर्वोत्तमको १ लाख ३० हजार कित्ता शेयर नियामक निकाय धितोपत्र बोर्डका अध्यक्ष एवं सञ्चालक समितिका सदस्यको परिवार भित्रका व्यक्तिको नाममा भेटिए पछि अहिले चर्चा चुलिएको छ ।

नियामक निकायमा बसेर आफ्नो कर्तव्य पालना भन्दा पनि सर्वोत्तम सिमेन्टको शेयरबाट लाभ लिन बोर्डका अध्यक्ष भिष्मराज ढुङ्गाना र सञ्चालक समितिका सदस्य एवं नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले बढी ध्यान दिएको देखिन्छ ।

नेपाल धितोपत्र बोर्डका अध्यक्ष ढुङ्गानाले आफ्नी छोरी रेबिका ढुंगानाको नाममा सर्वोत्तमको ११ हजार ९१२ कित्ता शेयर लागत कायम भएको छ । त्यस्तै उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष ढकालका भाई एवं नेपाल उद्योग परिसंघका उपाध्यक्ष हेमराज ढकालको नाममा एक लाख १९ हजार ११७ कित्ता शेयर खरिद देखिन्छ ।

प्रतिकित्ता २९० रुपैंयाभन्दा तलको मूल्यमा उक्त कम्पनीको शेयर कारोबार भएको बुझिएको छ । अझ यसमा बोर्डका अध्यक्ष ढुङ्गानाकी छोरीको नाममा कायम भएको शेयर गोल्डेन शेयर हो वा वास्तवमा खरिद नै भएको हो भन्ने अर्को प्रश्न पनि उब्जिएको सन्दर्भमा नोटबजारले वरिष्ठ अधिवक्ता प्राध्यापक डाक्टर गान्धी पण्डितसँग सर्वोत्तम सिमेन्ट र बोर्डका उच्च तहका व्यक्तिको सहभागिताका सम्बन्धमा कानुनी पाटोमा राखेका जिज्ञासाको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ ।

धितोपत्र सम्बन्धि ऐन २०६३ को दफा ९१ र ९२ मा भएको व्यस्था अनुसार धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुङ्गाना र सञ्चालक समिति सदस्य एवं नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाललाई सजाय तथा कार्वाही हुन सक्छ ।

ऐनको दफा ९१ को उपदफा १ मा भित्री कारोबार सम्बन्धमा गरिएको व्यवस्था अनुसार कुनै व्यक्तिले सार्वजनिक नभएका धितोपत्रको मूल्यमा असर पार्न सक्ने भित्री सूचना वा जानकारीको आधारमा आफुले धितोपत्रको कारोबार गरेमा वा अरुलाई धितोपत्रको कारोबार गर्न लगाएमा वा आफुलाई थाहा भएको सूचना वा जानकारी आफ्नो कर्तव्य पालनाको सिलसिलामा बाहेक अरु कसैलाई दिएमा त्यस्तो व्यक्तिले धितोपत्रको भित्री कारोबार गरेको सम्झनु पर्छ ।

साथै भित्री सूचना वा जानकारी भन्नाले कुनै धितोपत्र जारी गर्ने संगठित संस्थाबाट सार्वजनिक नभएको कुनै खास किसिमको सूचना वा जानकारी सार्वजनिक भएमा त्यस्तो धितोपत्रको मूल्यमा असर पर्न सक्ने किसिमका सूचना वा जानकारी भन्ने सम्झिनु पर्ने उल्लेख छ ।

ऐनको दफा ९२ मा भएको व्यवस्था अनुसार यस प्रयोजनका लागि देहायका व्यक्तिलाई कुनै संगठित संस्थाले सार्वजनिक नगरेका भित्री सूचना जानकारीमा पहुँच भएको मानिने छ भनेर खण्ड (क) मा भनिएको छ : सो संगठित संस्थाका संचालक, कर्मचारी वा शेयरवालाको हैसियतले कुनै सूचना वा जानकारी प्राप्त गर्न सक्ने व्यक्ति भनेर भनिएको छ । त्यसैगरि खण्ड (ख) मा सो संगठित संस्थालाई पेशागत सेवा प्रदान गर्ने नाताले कुनै सूचना वा जानकारी प्राप्त गर्न सक्ने व्यक्ति भनिएको छ । खण्ड (ग) मा भनिएको छ कि, खण्ड (क) र (ख) मा उल्लेखित व्यक्ति वा स्रोतमा प्रत्यक्ष वा सम्पर्क भई कुनै सूचना वा जानकारी प्राप्त गर्न सक्ने व्यक्ति ।

ऐनमा भएको उल्लेखित व्यवस्थाका सन्दर्भमा कुरा गर्दा धितोपत्र बोर्डका अध्यक्ष ढुङ्गाना र सञ्चालक एवं उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष ढकालले सर्वोत्तम सिमेण्टको वुकविल्डिङ प्रणालीबाट निष्काशन हुन लागेको शेयरको प्रकृया, मूल्यका साथै कम्पनीका अन्य विविध विषयमा नियामक निकाय नेपाल धितोपत्र बोर्डमा बसेर शुक्ष्म रुपमा सबै किसिमका जानकारी राख्न सक्नु हुन्छ ।
भित्री सूचनाका आधारमा लाभ लिन सकिन्छ भन्नेमा विश्वस्त भएर गरिने गरिने लगानीलाई धितोपत्र सम्बन्धि ऐनले निषेध गरेको छ । यस्तो गरेको पाइएमा बिगो बमोजिम जरिवाना र एक वर्षसम्म कैद हुन सक्ने व्यवस्था छ, भित्री कारोबार भएको हो भन्ने प्रमाणित भएको खण्डमा ।

अब विषय जोडिन्छ बोर्डका अध्यक्ष र सदस्यले भित्री कारोबार गरेको हो कि होइन ? अरु व्यक्तिको हकमा भन्दा पनि नियामक निकायमा बसेका व्यक्तिको कुनै न कुनै रुपमा त्यस्तो कम्पनीमा लगानी भएकाले औंला वँहाहरुतर्फ तेर्सिनु स्वभाविक हो ।

सर्वोत्तम सिमेन्टको हकमा अरु पनि धेरैले लगानी गरेको जस्तो देखिन्छ, तर अरुभन्दा वहाँहरु संवेदनशील ठाउँमा भएकाले जवाफदेहिता बढी हुनु स्वभाविक हो । र वहाँहरुले गरेको लगानी भित्री सूचनाका आधारमा भएको हो वा होइन भन्ने निक्र्यौल हुन पर्छ । अरुको हकमाभन्दा वहाँहरुको हकमा यो विषयले महत्व पनि राख्ने भएकाले र ऐनमा भएको व्यवस्थाका आधारमा सजाय हुन सक्ने सम्भावना देखिन्छ ।

निजी क्षेत्रको प्रतिनिधिमुलक संस्था नेपाल उद्योग वाणिज्य महासंघबाट प्रतिनिधित्व गरेर वरिष्ठ उपाध्यक्ष ढकाल बोर्डको सञ्चालक भएकाले पनि सर्वोत्तमको शेयरमा भएको लगानीका सम्बन्धमा शुक्ष्म अनुसन्धान हुन जरुरी देखिन्छ । नियामक निकायमा बसेर आम लगानीकर्ताको हीतमा काम गर्ने जिम्मोवारीमा रहँदा सर्वोत्तमको शेयर सस्तो मूल्यमा तछाड मछाड गरेर किन्न दौडिँदा लगानीकर्तामा नियामक निकायप्रतिको विश्वसनीयतामा आँच आएको अनुभव बजारले गरिरहेको छ ।

र यो पनि … धितोपत्र बोर्डका अध्यक्ष र उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष नै शेयरको भित्री कारोबारमा संलग्न

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।