काठमाडौँ । नेपालमा महँगा मूल्यको स्मार्टफोनको प्रयोग उच्च दरमा बढ्न थालेको छ । चालू आर्थिक वर्ष २०८१/८२ को ११ महिना (साउन–जेठ) मै स्मार्टफोन आयातमा ३२ अर्ब ८ करोड ७८ लाख १ हजार रुपैयाँ बाहिरिएको हो ।
यस अवधिमा विभिन्न मूलुकबाट १९ लाख ७५ हजार ५१३ वटा स्मार्टफोन भित्रिएका छन् । यी स्मार्टफोन आयात गर्दा आयातकर्ताले ५ अर्ब ९८ करोड २१ लाख २ हजार रुपैयाँ राजश्व बुझाएका छन् ।
भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार गत आर्थिक वर्षको सो अवधिको तुलनामा यो वर्ष पौने ६ अर्ब बढीको स्मार्टफोन आयात भएको हो । गत आव २०८०÷८१ को ११ महिनामा २६ अर्ब ३३ करोड १० लाख ६५ हजार रुपैयाँको १७ लाख १० हजार १३५ वटा स्मार्टफोन नेपाल भित्रिएको थियो ।
कुन कुन देशबाट आउँछ स्मार्टफोन
चालु आवको ११ महिनामा नेपालमा चीन, भारत, अमेरिका, यूएई, जापान, अष्ट्रेलिया, कतार, कोरिया, यूके, लगायत ६३ वटा मुलुकबाट स्मार्टफोन आयात भएको छ ।
सो अवधिमा सबैभन्दा बढी चीनबाट २२ अर्ब २२ करोड ५१ लाख ९६ हजार रुपैयाँ बराबरको १५ लाख ७० हजार ५४० वटा स्मार्टफोन नेपाल भित्रिएको छ ।
भारतबाट पनि नेपालमा स्मार्टफोन उल्लेख्य मात्रामा आयात भएको छ । सो अवधिमा भारतबाट ३ लाख ९७ हजार ३६८ वटा फोन ९ अर्ब २९ करोड ५२ लाख २५ हजार रुपैयाँमा आयात भएको हो ।
त्यसैगरी अमेरिकाबाट सो अवधिमा १ हजार १९८ वटा स्मार्टफोन भित्रिएको छ । उक्त फोन आयातबाट १३ करोड ६० लाख ९९ हजार रुपैयाँ बाहिरीएको छ । भने यूएईबाट १ हजार ११ वटा फोन ११ करोड १ लाख ७० हजार रुपैयाँमा आयात भएको हो ।
त्यस्तै, जापानबाट ७ करोड ८६ लाख ६ हजार रुपैयाँको ९६४ वटा स्मार्टफोन आयात भएको छ । अष्टेलियाबाट पनि ५८५ वटा स्मार्टफोन भित्रिएको हो । सो फोनबाट ७ करो ७० लाख ८४ हजार रुपैयाँ बाहिरीएको छ ।
कतारबाट ५ करोड ८ लाख ४६ हजार रुपैयाँको ३९१ वटा, कोरियाबाट ५२९ वटा ३ करोड ७३ लाख २५ हजार रुपैयाँमा स्मार्टफोन नेपाल भित्रिएको छ । भने यूकेबाट २ करोडको १९३ वटा र हङकङबाट १२८ वटा १ करोड २० लाख ७४ हजार रुपैयाँमा स्मार्टफोन आयात भएको भन्सार विभागले जनाएको छ ।
प्रतिक्रिया