तेह्रथुम पावरको आईपीओमा आवेदन दिन आज अन्तिम दिन

0
Shares

तेह्रथुम पावर कम्पनी लिमिटेडले निष्काशन गरेको प्राथमिक शेयर (आईपीओ) आवेदन दिने आइतबार अन्तिम दिन रहेको छ ।  कम्पनीले भदौ ९ गतेदेखि सर्वसाधारणका लागि ८ करोड मूल्य बराबरको १०० रुपैयाँ अंकित दरका ८ लाख कित्ता आईपीओ जारी गरेको छ ।

कुल निष्काशनमा आएको ८ लाख कित्तामध्ये १६ हजार कित्ता कम्पनीका कर्मचारीका लागि र ४० हजार कित्ता शेयर म्युचुअल फण्डहरुका लागि छुट्याइएको छ । बाँकी ७ लाख ४४ हजार कित्ताका लागि सर्वसाधारणबाट आवेदन मागिएको छ ।

इच्छुक लगानीकर्ताले न्यूनतम १० देखि अधिकतम ६० हजार कित्तासम्मका लागि आवेदन दिनसक्नेछन् । उक्त आइपीओमा सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका शाखा कार्यालयबाट भदौ १३ गतेसम्म आवेदन दिन सक्नेछन्।

आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई इक्राएनपि आईआर डबल बी माइनस रेटिङ्ग प्रदान गरेको छ। यो रेटिङ्गले कम्पनीले वित्तीय दायित्व पूरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको जनाउँछ ।

उक्त धितोपत्रको निष्काशन तथा बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल लिमीटेड रहेको छ ।

कम्पनीले गत साउन ५ गतेदेखि आयोजना प्रभावित तेह्रथुम जिल्लाका बासिन्दाहरुका लागि प्रतिकित्ता १०० अंकित मूल्यका ४ लाख कित्ता साधारण शेयर निष्काशन गरेको थियो ।

कम्पनीले स्थानीय र सर्वसाधारणलाई गरी कुल १२ करोड रुपैयाँ बराबरको १२ लाख कित्ता आईपीओ निष्कासन गर्ने अनुमति पाएको थियो । कम्पनीले चुक्ता पूँजीको ३० प्रतिशत बराबरको आईपीओ निष्काशन गर्न लागेको हो ।

कम्पनीले तेह्रथुम जिल्लामा ७।५ मेगावटको अपर खोरुङ स्मल हाइड्रोपावर प्रोजेक्ट निर्माण गरिरहेको छ । यस जलविद्युत आयोजनाको प्रतिमेगावट लागत १८ करोड ३० लाख रुपैयाँका दरले कुल लागत १ अर्ब ३७ करोड ६० लाख रुपैयाँ रहेको छ ।

तेह्रथुम पावर कम्पनीले आईपीओबाट संकलन गर्ने रकम निर्माणाधिन अपर खोरुङा स्मल हाइड्रोपावर प्रजेक्टमा लागनी गर्ने जनाएको छ । सन् २००९ मा स्थापना भएको हाइड्रोपावर कम्पनीको चुक्ता पूँजी २८ करोड रुपैयाँ छ । आईपीओ बिक्रीपछि कम्पनीको चुक्ता पूँजी ४० करोड पुग्नेछ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १३ भाद्र २०७८, आइतबार  १० : ४३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।