तिज लागेसँगै बजारमा सुनको माग अत्याधिक, आपूर्ति कम हुँदा व्यवसायीलाई माग धान्न कठिन

0
Shares

महिलाहरुको विशेष पर्व हरितालिका तिजले अहिले छपक्कै छोपिसकेको छ । हिन्दु महिलाहरुको महान् चाड हरितालिका तिज लागेसँगे नेपाली बजारमा सुनको माग अत्याधिक बढेको छ ।

हरितालिका तिज लागेपछि तिजका लागि चाहिने सरसामान किन्नका लागि हरेक ठाउँका बजार तथा पसलहरुमा महिलाहरुको बाक्लो उपस्थिति देख्न सकिन्छ । त्यही बाक्लो जमातबाट अछुतो छैन सुनचाँदी व्यवसाय पनि ।

नेपालमा अन्य समयको तुलनामा धार्मिक तथा सांस्कृतिक मान्यता कारण पनि चाडवाडको समयमा सुनको खपत बढी हुने गरेको पाइन्छ । त्यसमा पनि महिलाहरुको विशेष चाड पर्व तिजमा भने अन्य समय भन्दा दोब्बर सुनको कारोबार हुने गरेको छ । त्यसबाहेक विवाहको सिजन र अन्य चाडपर्वमा पनि सुनको कारोबार बढी हुने गरेको सुनचाँदी व्यवसायीहरु बताउँछन् ।

तिज नजिकिएसँगै सुनचाँदीको ब्यापार अत्याधिक बढ्न थालेको छ । नेपालमा आपूर्ति हुने सुनले धान्नै नसक्ने गरी सुनको कारोबार बढेको व्यवसायीहरु बताउँछन् ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मणिक रत्न शाक्य हाल बजारमा ३० किलोभन्दा बढी सुनको माग रहेको बताउँछन् । उनले भने, “अहिले बजारमा ३० किलो सुनको माग छ, ग्राहकबाट ठूला अर्डर आयो भने व्यवसायीले अर्डर लिनै सक्दैनन् । दैनिक आयात हुने २० किलो सुनले बजारको माग धान्न मुस्किल छ । ”

शाक्य मात्र होइन नेपाल सुनचाँदी, रत्न तथा आभूषण महासंघको अध्यक्ष रमेश महर्जन पनि सुनको आपूर्ति कम हुँदा सुनचाँदी व्यवसायीहरुले कालोबजारीको सुन समेत बिक्री गर्नुपर्ने अवस्था रहेको बताउँछन् ।

नोटबजारसँगै कुराकानी गर्दै महर्जनले भने, “अहिले बजारमा सुनको माग अत्याधिक छ तर आपूर्ति कम छ । अहिले आपूर्ति हुने सुनले बजार धान्न नसकेको कारणले सुन कारोबारमा कालोबजारीको सुन बढी मूल्य लिएर बिक्री भइरहेको छ ।”

सरकारले दैनिक ३० किलो सुन आयात गर्न अनुमति दिएको खण्डमा मात्र बढ्दो सुनको मागलाई धान्न सकिने र यसले व्यवसायीलाई पनि राहत मिल्ने महर्जनको भनाई छ ।

सरकारले भदौ १७ गतेदेखि उपत्यकामा जारी निषेधाज्ञा हटाएपछि विभिन्न संघ संस्थाहरुले दर कार्यक्रमहरु पनि मनाउँदै आइरहेका छन् । पछिल्लो समय एक आपसमा दरखाने कार्यक्रमको आयोजना गर्ने क्रम बढ्दै जाँदा यस्तो कार्यक्रमले लत्ताकपडा, चुरापोते जस्ता श्रृङ्गारीक समाग्रीसँगै मात्र होइन महङ्गो पहेँलो धातु सुनको माग पनि अत्याधिक बढेको हो ।

कोभिड संक्रमण नियन्त्रणका लागि सभा सम्मेलन जस्ता कार्यक्रमहरु गर्न पूर्ण रुपमा रोक लगाइएकोमा एक साताअघिदेखि काठमाण्डौं उपत्यकाका पार्टी प्यालेसहरु आधा क्षमतामा सञ्चालनको अनुमति दिएको छ । यसले करिब डेढ वर्षयता ब्यापार ठप्प रहेको पार्टी प्यालेसहरुलाई एकातिर राहत मिलेको छ भने अर्कोतिर कोभिडका कारण लामो समय एक आपसमा जमघट हुन नपाएका महिलाहरुले तिजको अवसरमा कार्यक्रम आयोजना गरी तिज मनाउन थालेका छन् । प्रतिस्पर्धात्मक रुपमा झरिझराउ गरगहना लगाउने प्रवृत्तिका कारणले पनि बजारमा दिनै २० किलो आपूर्ति हुने सुनले देशभरका व्यवसायीलाई ग्राहकको माग धान्न कठिन परेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष शाक्यका अनुसार बजारको उपलब्ध सुन अत्यन्त कम भएकाले सम्बन्धीत निकायमा सुनको कोटा बढाउन माग गर्ने तयारीमा महासंघले पहल गर्ने भएको छ ।

सुनचाँदी व्यवसायीहरुको अर्को छाता संगठन नेपाल सुनचाँदी, रत्न तथा आभूषण महासंघको अध्यक्ष रमेश महर्जनले सुनको आयात कोटा बढाउन र आपूर्तिलाई व्यवस्थित गर्ने माग गर्दै केही दिनमा नै राष्ट्र बैंकका गर्भनरसम्म जाने तयारी रहेको बताए । बजारमा उपलब्ध सुनले माग धान्न कठिन भएकाले सरकारले दैनिक ३० किलो सुन आयात गरिदिए व्यवसायीलाई सहज हुने उनको भनाइ छ ।

रत्न तथा आभूषण महासंघका महर्जन सुनचाँदी व्यवसायी कहिले कोरोना महामारीले थलिएको त कहिले सुनको अभावका कारण सिजनमा नै व्यवसाय गर्नबाट बञ्चित हुनुपरेको बताउँछन् । व्यवसायीहरुले पालो कुरेर कच्चा पदार्थ लिएर गहना अर्डर गर्नुपर्ने अवस्था रहेकाले सुनको अभावका कारण ग्राहकबाट अर्डर लिन पनि नसकिने समस्याले सुनचाँदी व्यवसायी मारमा परेको उनले बताए । सरकारले दैनिक ३० किलो सुन आयात गरिदिए व्यवसायीलाई सहज हुने उनको भनाइ छ ।

नेपाल राष्ट्र बैंकलाई मौद्रिक नीतिमा सुझाव दिए पनि कार्यन्वयन नभएको महर्जनले बताउँछन् । सरकारले सार्वजनिक गरेको मौद्रिक नीतिमा देशका ९ ठाउँबाट व्यवसायीहरुलाई सुन वितरण गर्ने निती ल्याए पनि त्यसलाई कार्यन्वयन नगरिएकाल अहिले पनि सुनको डिस्ट्रिब्यूसन काठमाण्डौबाट मात्र हुने भएकाले व्यवसायीहरु सुन लिन काठमाण्डौ नै धाउनुपर्ने बाध्यता रहेको उनको गुनासो छ ।

महर्जनको सरकारलाई प्रश्न छ, राज्यले राजस्व लिएर व्यवसाय गर्न अनुमति दिने तर कच्चा पदार्थ नदिने ?

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।