पर्यटन क्षेत्रमा गरिएको चार खर्ब लगानी जोखिममा पर्नसक्ने भन्दै व्यवसाय खुलाउन माग

0
Shares

पर्यटन व्यवसायी तथा पेशाकर्मीहरुले कोभिड १९ महामारीले गर्दा विगत डेढ वर्षदेखि बन्दाबन्दीका कारण पर्यटन क्षेत्रमा बैंक तथा वित्तीय क्षेत्रको चार खर्ब भन्दा बढीको लगानी जोखिममा परेको भन्दै व्यवसाय सञ्चालन गर्ने व्यवस्था गर्न माग गरेका छन् ।

सबै कामहरु एकै पल्ट शुरु गर्न र सम्पन्न गर्न सम्भव नरहेको भन्दै पर्यटन व्यवसायी तथा पेशाकर्मीहरुले पूर्ण भ्याक्सिन लगाइसकेका र नेपाल आइपुग्दा ९६ घन्टा ननाघेको पीसीआर नेगेटिभ रिर्पोट लिएर आउने यात्रीलाई बिना क्वारेन्टाइन प्रवेश र सहज यात्राको वातावरण निर्माण गर्न, भिजा-अन अराइभलको व्यवस्था पुनः लागू गर्न र नेपालको पर्यटनमा कार्यरत अधिकांश सेवा प्रदायक पर्यटनकर्मी र मुख्य गन्तव्यका स्थानीय समुदायले पनि पूर्ण मात्राको भ्याक्सिन लगाइसकेकाले यस सम्बन्धमा सकारात्मक सन्देश फैलाउन एउटा टाभल एडभाइजरी जारी गर्नुपर्ने माग गरेका छन् ।

विश्वका धेरै देशहरुमा खोप लाउने कार्यलाई तीव्रता (भ्याक्सिनेसन) दिँदै, संक्रमितहरुको यथाशीघ्र पहिचान र उपचारको व्यवस्था (कन्ट्याक्ट टेसिंग तथा टिटमेन्ट) र संक्रमण फैलिन नदिन व्यापक तालीम तथा जन चेतना (म्यासिभ अवरनेस) का कार्यक्रमहरु अपनाएर जिविका, पेशा, उद्यम, उद्योग र व्यवसाय पुनः सुचारु गरिएकाले नेपालमा पनि व्यवसाय सञ्चालन गर्ने व्यवस्था गर्नुपर्ने पर्यटन क्षेत्रका छाता संगठनहरु र पर्यटन पेशाकर्मीहरुले जनाएका छन् ।

उनीहरुका अनुसार महामारीका कारण २५ प्रतिशत भन्दा बढी पर्यटन व्यवसाय तथा उद्यमीहरु फेरि कहिल्यै पुनर्जिवित नहुने गरी बन्द भएका छन् । छिटै पुनरुत्थानका उपाय नखोजिएको खण्डमा यो दर झनै बढ्ने र व्यवसायीको लगानी डुब्दा राज्यको आयस्रोत पनि गुम्ने र राष्ट्रिय उत्पादकत्व पनि घट्ने उनीहरुको दाबी छ । यसकारण खुम्चिएको अर्थतन्त्र सुरक्षाका उपायहरु अपनाउँदै र अंगाल्दै चलायमान बनाउनुपर्ने उनीहरुको धारणा छ ।

सन् २०१९ को तुलनामा २०२० मा आउने पर्यटक आगमन संख्यामा ८१ प्रतिशतले गिरावट आएको छ भने प्रत्यक्ष, अप्रत्यक्ष र यसको प्रत्यक्ष सप्लाई चेन गरी पर्यटन क्षेत्रमा सृजित करीब १० लाख जनशक्तिको रोजगार संकटमा परेको छ ।

महमामारी र त्यसबाट सृजित बन्दाबन्दीले ठूलो मार पर्यटन उद्योगमा नै परेको छ जुन एक ठाउँबाट अर्को ठाउँमा ट्राभल गर्दा गरिने गतिविधिहरुले सृजित हुने अर्थतन्त्र हो । यहि महामारीका कारण होटल, रिजोर्ट, ट्राभल, ट्रेकिंग, ¥याफ्टिंग, एअरलाइन्स, यातायात, हस्तकला तथा उपहार सामग्री, रेस्टुरेन्ट जस्ता पर्यटन क्षेत्रबाट प्रत्यक्ष रुपमा हुने अर्बोैंकोे आय गुमिरहेको छ ।

नेपाल सरकारबाट निजी क्षेत्रको सहकार्यमा पर्यटनका महत्वपूर्ण क्षेत्रका लागि एक सुरक्षा प्रोटोकल सार्वजनिक भैसकेकोे र आन्तरिक र अन्तर्राष्ट्रिय आवागमन पनि सुचारु गरी सकिएकोले पर्यटन उद्योगलाई बचाउन तथा फेरि पुरानै लयमा फर्काउन गर्नुपर्ने कामहरुको सूची लामै रहेको उनीहरुले जनाएका छन् ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।