अर्बौंको पोलिसी सरेण्डरले नेपाल लाइफ र एलआईसीलाई धक्का, सरेण्डरको ७५ प्रतिशत भार


बीमा पोलिसी सरेण्डरको क्रम बढेसँगै बीमा कम्पनीहरुको व्यवसाय पनि प्रभावित बन्न थालेको छ । ठुलो रकमको पोलिसी सरेण्डर हुँदा बीमा कम्पनीको व्यवसाय मात्र नभई समग्र वित्तीय अवस्थामा नै असर पार्ने किसिमले गत आर्थिक वर्षमा अर्बौ रुपैंया बिमितले फिर्ता लिएका छन् । यसले समग्रमा बीमा कम्पनीहरुको व्यवसायमा असर पार्दै गर्दा ठुला कम्पनीहरुमा पर्ने असर पनि ठुलै हुने देखिएको छ ।

जीवन बीमा कम्पनीहरुमा अग्रणी स्थानमा रहेका नेपाल लाइफ इन्स्योरेन्स र लाइफ इन्स्योरेन्स कर्पोेरशन (एलआईसी नेपाल) बाट बिमितहरुले गत आर्थिक वर्षमा झण्डै साढे ७ अर्ब रुपैंया फिर्ता लिएका छन् । जीवन बीमा व्यवसायमा ठुलो हिस्सा ओगटेका उल्लेखित २ बीमा कम्पनीबाट ४२ हजार ७४३ वटा पोलिसी सरेण्डर गर्दै बिमितहरुले ७ अर्ब ३९ करोड २० लाख १४ हजार रुपैयाँ नगद फिर्ता लगेका छन् ।

जीवन बीमा बजारमा अलग पहिचान बनाएका नेपाल लाइफ र एलआईसीका अभिकर्ताहरुको कमजोरी तथा कम्पनीहरुले अभिकर्तालाई लक्षित गरेर परिवर्तन गर्ने नीतिका कारण व्यवसाय खस्किने अवस्था बनेको देखिएको हो । जसको सीधा असर दुई बीमा कम्पनीमा पर्न जान्छ । १९ जीवन बीमा कम्पनीमध्ये शीर्ष २ कम्पनीका रुपमा स्थापित दुई कम्पनीका बिचमा व्यवसायिक प्रतिष्पर्धा पनि तिब्र छ । तर बजार हिस्सा अनुसार ठुलो संख्या र रकममा पोलिसी सरेण्डर हुँदा कम्पनीहरुको व्यवसाय वृद्धिको गतिमा असर परेको छ ।

जीवन बीमामा विविभिन्न कारणले विश्वास गुम्दै जाँदा सरेण्डरको क्रम तिब्र बनेको हो । बजारमा अन्य कम्पनीको तुलनामा अब्बल कम्पनीका रुपमा पहिचान बनाएका नेपाल लाइफ र एलआईसी नै बिमितको बीमाप्रतिको बुझाईको शिकार बनेका हुन् ।

गत आर्थिक वर्षमा दुई कम्पनीमा ७ अर्ब ३९ करोड २० लाख १४ हजार रुपैयाँ बराबरका ४२ हजार ७४३ वटा बीमालेख सरेण्डर हुनुले पनि कम्पनीका साथै बीमाप्रतिको विश्वास गुम्दै गएको पुष्टि हुन्छ । यो अवधिमा नेपाल लाइफमा ३ अर्ब ८५ करोड ५२ लाख ८९ हजार रुपैयाँ बराबरका २० हजार ४७६ पोलिसी सरेण्डर भएका छन् भने एलआइसी नेपालमा ३ अर्ब ५३ करोड ६७ लाख २४ हजार रुपैयाँ बराबरका २२ हजार २६७ वटा बीमालेख सरेण्डर भएका छन् ।

पछिल्लो समय बीमामा पोलिसी सरेण्डर गर्ने प्रवृति बढ्दै गएको बीमा समितिले पनि स्वीकार गरेको छ । बीमा अभिकर्तालाई जीवन बीमा व्यवसायको मूख्य पात्रका रुपमा लिइने गरे पनि उनीहरुको कमजोरीका कारण नै सरेण्डर गर्नेको संख्या बढ्दै गएको समितिको ठम्याई छ । अभिकर्ताले बीमा पोलिसी बिक्रि गर्नु पूर्व बीमितलाई पोलिसीको बारेमा राम्रोसँग बुझाउन नसक्नु पोलिसी सरेण्डरको एउटा मुख्य कारण रहेको समितिको दाबी छ । बढ्दै गएको यस्तो सरेण्डरको दरलाई रोक्नका लागि अध्ययन गर्ने तयारी थालिएको समितिले जनाएको छ ।

बीमा पोलिसी सरेण्डरका घटना बढ्दै जानुमा बीमा कम्पनी, बीमित तथा अभिकर्ता तीनै पक्षको उत्तिकै हात रेहको एलआइसी नेपालका सूचना अधिकारी तथा कम्पनी सचिव सुदर्शन गिरी बताउँछन् । पोलिसी सरेण्डर बढ्न नदिन नियामक निकाय बीमा समितिले उचित नियम गर्नु पर्ने र यसका लागि कानुन् नै बनाउनु पर्ने उनको भनाई छ । “कुनै पनि बीमा पोलिसी ५/१० वर्ष भन्दा कम समयमा सरेण्डर गर्न नपाउने व्यवस्था ल्याउन समितिलाई आग्रह गरेका छौं,” उनले भने, “बीमा भनेको करार हो । करारमा दिएको सुविधाको दुरुपयोग भएको छ ।”

गत आर्थिक वर्षमा पोलिसी सरेण्डर बढ्नुको कारण विश्वमा फैलिएको कोरोना माहामारी भएको उनको बुझाई छ । “समय परिस्थिति राम्रो भएन, मान्छेलाई खान लाउन नै समस्या पर्ने स्थिति आयो, जसले गर्दा गत वर्ष सरेण्डर धेरै भएको हो” उनले भने ।

बीमितहरु गाह्रो पर्यो भन्दै पोलिसी त्याग गर्न आउने गरेको र कम्पनीले त्यसको असरका सम्बन्धमा बुझाउने कोशिस गर्ने गरेको गिरीको भनाई छ । “बिमितहरु अफ्ट्यारो पर्यो भनेर आउनु हुन्छ, हामीले तपाईहरुलाई पनि राम्रो हुँदैन, हामीलाई पनि राम्रो हुँदैन भनेर कन्भियन्स गरिरहेका हुन्छौं” उनले भने ।

एक दुई वटा पोलिसी ल्याउने, पेशामा निरन्तर लाग्न नसक्ने अभिकर्ताले गर्दा सरेण्डरका घटना बढेको गिरीको स्वीकारोक्ती छ । “कम्पनीले अभिकर्तालाई लाइसेन्स दिएपछि थप नियम ल्याएर व्यवसायिक बनाउनु पर्छ,” उनले भने । व्यवसायिक अभिकर्ता मात्रै व्यवसायमा रहनु पर्ने तर्क गर्ने गिरी भन्छन्, “सही र सज्जन अभिकर्ता मात्रै यो व्यवसायमा रहनु पर्छ, यसका लागि बारम्बार विभिन्न फोरममा आवाज उठाई रहेका छौँ ।”

सरेण्डर संख्या एलआइसीको धेरै, रकमका आधारमा नेपाल लाइफ अघि

गत आवमा लाइफ इन्स्योरेन्स कर्पोरेशन(नेपाल) को सरेण्डर संख्या धेरै छ भने रकम नेपाल लाइफको छ । लाइफ इन्स्योरेन्स कर्पोरेशन(नेपाल) मा ३ अर्ब ५३ करोड ६७ लाख २४ हजार रुपैयाँ बरारबरका २२ हजार २६७ वटा बीमालेख सरेण्डर भएका छन् । नेपाल लाइफ इन्स्योरेन्समा ३ अर्ब ८५ करोड ५२ लाख ८९ हजार रुपैयाँ बराबरका २० हजार ४७६ वटा बीमालेख सरेण्डर भएका छन् ।

गत आर्थिक वर्षमा यस्तो थियो दुई कम्पनीको व्यवसाय

अभिकर्ताको लोभ र कमजोरीले ‘पोलिसी सरेण्डर’ बढ्यो, कडाई गर्दै समिति

गत आर्थिक वर्षमा नेपाल लाइफ इन्स्योरेन्सले १ लाख ५६ हजार ६५१ वटा कुल बीमालेख जारी गरेको तथ्यांकले देखाउँछ । कम्पनीले ८ अर्ब ७३ करोड ११ लाख ६४ हजार रुपैंया बराबरको प्रथम व्यवसाय र २३ अर्ब ४७ करोड ६ लाख १२ हजार रुपैयाँ बराबरको नबीकरण बीमाशुल्क गरि कुल ३२ अर्ब २० करोड १७ लाख ७५ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेको थियो ।

यता, एलआइसी नेपालले १ लाख १५ हजार १६५ वटा कुल बीमालेख जारी गरेको थियो । बीमा समितिबाट प्राप्त तथ्यांक अनुसार कम्पनीले १७ अर्ब १४ करोड ३६ लाख ४८ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो । कम्पनीले प्रथम व्यवसायबाट ३ अर्ब ५५ करोड ८२ लाख ८५ हजार रुपैयाँ र १३ अर्ब ५८ लाख ५३ लाख ६२ लाख रुपैयाँ नविकरण बीमाशुल्क गरी उक्त रकम संकलन गरेको थियो ।

यस तथ्यांकका आधारमा हेर्दा एलआईसीको गत आर्थिक वर्षको प्रथम व्यवसाय बराबरको पोलिसी सरेण्डर भएको हो । उता नेपाल लाइफको पनि गत आर्थिक वर्षको प्रथम व्यवसायको ४५ प्रतिशत हाराहारी रकम सरेण्डर भएको देखिन्छ ।

सरेण्डर सम्बन्धि के छ कानूनी व्यवस्था ?

बीमितले बीमालेख खरिद गरेको मितिले तीन वर्ष पूरा भए पछि मात्र बीमालेख सरेण्डर गर्न पाउने व्यवस्था गरेको छ । बीमालेख खरिद गरेका बीमितले एक वर्षमै पोलिसी त्याग गर्न पाउने साविकको व्यवस्थालाई परिमार्जन गर्दै समितिल सरेण्डरमा नयाँ नियम लागू गरेको थियोे ।

समितिले जीवन बीमालेख सम्बन्धि निर्देशिका, २०७८ जारी गर्दै बीमालेख समर्पणमा नयाँ व्यवस्था कामय गरेको हो । समितिले कायम गरेको नयाँ व्यवस्था बमोजिम बीमितले तीन वर्षसम्म पोलिसी समर्पण गर्न पाउँदैनन् । समितिले बीमा कम्पनीहरुमा एकल बीमालेखमा देखिएका वेतिथि रोक्ने भन्दै यस्तो व्यवस्था गरेको थियो ।

बीमा समितिद्धारा जारी जीवन बीमालेख सम्बन्धी निर्देशिकाको १० नम्बर बँुदामा बीमालेख समर्पण सम्बन्धी व्यवस्था गरिएको छ । बीमकले बीमालेख अन्र्तगत पूरा तीन वर्षको बीमा शुल्क प्राप्त भई बीमा प्रारम्भ मितिबाट तीन वर्ष पूरा भए पश्चात तथा एकल बीमाशुल्क भुक्तानी गर्ने बीमालेखहरुको हकममा समेत बीमा प्रारम्भ मितिबाट तीन वर्ष पूरा भए पश्चात मात्रै बीमालेख समर्पण तथा बीमालेख धितो राखि कर्जा दिन सक्ने व्यवस्था छ । बीमितले बीमालेख समर्पण गर्दा समर्पण मूल्यको गणना गरि कम्पनीले रकम प्रदान गर्ने व्यव्स्था छ ।

एक वर्षमा १० अर्बका पोलिसी सरेण्डर

गत आर्थिक वर्षमा मात्र ९ अर्ब ८८ करोड १४ लाख ९४ हजार रुपैंया बराबरका पोलिसी सरेण्डर भएको बीमा समितिको तथ्यांकले देखाउँछ । यस क्रममा गत आर्थिक वर्षमा ६३ हजार ३३१ वटा पोलिसी सरेण्डर भएका हुन् । यो आँकडा १९ जीवन बीमा कम्पनीको हो । उल्लेखित आँकडामा रकमका आधारमा नेपाल लाइफ र एलआईसीको हिस्सा ७५ प्रतिशत हो । बाँकी २५ प्रतिशत पोलिसी अरु १७ वटा कम्पनीका बिमितले सरेण्डर गरेका हुन् ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।