सुदेश खालिङले शुक्रबारदेखि एभरेष्ट बैंक व्यवस्थापनको नेतृत्व सम्हाल्दै


बैंकर सुदेश खालिङले २०७८ असोज ८ गते शुक्रबारदेखि एभरेष्ट बैंकको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाल्ने भएका छन् । झण्डै ७ महिना पहिले बैंक सञ्चालक समितिको बैठकले खालिङलाई प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिने निर्णय गरेको थियो ।

एभरेष्ट बैंकले यस अघि पञ्जाव नेशनल बैंकका प्रतिनिधिलाई मात्र प्रमुख कार्यकारी अधिकृत बनाउँदै आएकोमा पहिलो पटक नेपाली बैंकरलाई प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको हो ।

खालिङ सिटिजन्स बैंकको सञ्चलक रहेका बेला गत चैत तेस्रो साता एभरेष्ट बैंकले प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको थियो । यो निर्णय हुनु केही दिन पहिले नै खालिङ्ले सिटिजन्स बैंकको सञ्चालक पदबाट राजिनामा गरेका थिए । ६ महिनाको कुलिङ पिरियड सकाएर उनी एभरेष्टको नेतृत्व सम्हाल्न जान लागेका हुन् ।

पञ्जाव नेशनल बैंकको २० प्रतिशत लगानी रहेको बैंकले २५ वर्षदेखि भारतीय नागरिकलाइ प्रमूख कार्यकारी अधिकृत बनाउदै आएको थियो । बैंकको शेयरधनीको हैसियतले पञ्जाब नेशनल बैंकले व्यवस्थापन नेतृत्वमा आफ्ना कर्मचारीलाई पठाउने गरेको थियो । भारतीय नागरिकले नेपाली बजारमा बैंकिङ व्यवसाय विस्तार गर्न असहज भएको महसुस गरी सञ्चालक समितिले पञ्जाव नेशनल बैंकले पठाएका गजेन्द्रकुमार नेगीलाई १७ महिनामा प्रमुख कार्यकारीको पदबाट हटाएर खालिङलाई नियुक्त गरेको हो ।

सिटिजन्स बैंकको संचालक हुनुअघि खालिङ लक्ष्मी बैंकको प्रमुख कार्यकारी अधिकृत थिए । लक्ष्मी बैंक जानु पहिले स्ट्याण्डर्ड चार्टर्ड बैंकमा समेत काम गरेका खालिङले बैंकिङ क्षेत्रमा तीन दशक भन्दा लामो समय विताएका छन् । जोखिम व्यवस्थापनमा पनि खालिङ एक्सपर्ट मानिन्छन् ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।