प्लम्बर नपाएपछि सबिलले जन्माएको ‘अर्बान्स नेपाल’, स्टार्टअपमा सयौंलाई रोजगारी


भनाइ नै छ, आफु आवद्ध भएको पेशा वा व्यवसायमा धैर्य भएर खट्न सके पक्कै सफलता हासिल गर्न सकिन्छ । यही भनाई जस्तै धैर्यता र मेहनतलाई आत्मसाथ गर्दै पछिल्ला दिनमा नाम र दाम कमाउँदै आएका एक युवा हुन् सबिल खान ।

पर्साको बीरगञ्जमा २०५३ असारमा जन्मिएका सबिल लगनशीलता र कामको निरन्तरतामा विश्वास राख्छन् । त्यही भएर आज भोलि उनको व्यवस्तता बढेको छ । समयानुकुल सेवा सुरु गरेका कारण सबिल र उनको अर्बान्स नेपालले अहिले राम्रो पहचान बनाई सकेको छ ।

घर, कार्यालय, विद्यलय लगायत क्षेत्रलाई स्यानिटाइज गर्ने काम अहिले अर्बान्स नेपालले धेरै गरिरहेको छ । एउटा घर भित्र आवश्यक पर्ने मर्मत सम्भारका सबै किसिमका काम गर्ने उद्धेश्य लिएर अनलाइनमा आधारित हुँदै स्थापना भएको अर्बान्स नेपाल अहिले व्यवसायिक प्रतिष्ठान, विद्यालय, कार्यालयहरुको सहयात्री बनिरहेको छ । कोरोना महामारीको समयमा नेपालमै पहिलो पटक स्यानिटाइजेशन सेवा दिन थाले यता अहिले अर्बान्स नेपालमा आबद्ध सबैलाई भ्याई नभ्याई छ ।

केही गरेर आत्मनिर्भर बन्नु पर्छ भन्ने सोचले कामलाई निरन्तरता दिने सबिल ‘जसको कामप्रति लगाव हुन्छ, जसले कामलाई माया गर्छ र आफ्नो नित्यकर्ममा सधै तत्पर भएर लागी परिरहन्छ उसले कहिले भोको बस्नु पर्दैन’ भन्ने मान्यतामा आफु रहेको बताउँछन् ।

“काम गर्दा धेरै समस्या र चुनौती खडा हुने भए पनि धैर्य गरेर लागी परिरह्यो भने पक्कै सफलता प्राप्त हुन्छ भन्ने कुरामा म ढुक्क छु,” सबिल भन्छन् । यही सोचका कारण युवा उमेरमा नै उनले थालेको काम सफलताको बाटोमा दौडिरहेको छ ।

फलफुलको व्यवसाय गर्ने पारिवारिक पृष्ठभूमीमा जन्मिएका खानको बाल्यकाल काठमाण्डौंमा बितेको थियो । जन्म बीरगञ्जमा भए पनि आफ्ना बाबुको व्यवसाय उपत्यकामा भएकाले उनी पनि बाबु आमासँग बाल्यकालदेखि नै काठमाण्डौं बस्दै आएका हुन् । सबिलको बाल्यकालको समयमा उनका बाबु भारत, चीन तथा नेपालका विभिन्न जिल्लाबाट फलफुल आयात गरी आन्तरिक बजारमा बिक्री बितरण गर्दथे ।
बाबुको व्यवसायप्रतिको लगावबाट आफुले धेरै कुरा सिकेको बताउने सबिलले काठमाण्डौंको बुद्धनगरस्थित रोजबड विद्यालयबाट १० कक्षसम्मको अध्ययन गरे । त्यसै बेला संयुक्त राष्ट्र संघमा नोकरीको अवसर पाएका उनले अमेरिका गएर उच्च शिक्षा हासिल गरे ।

अमेरिका बसाई पछि नेपाल फर्किएर एपेक्स कलेजमा बिबीए लास्ट सेमेस्टरमा अध्ययनरत सबिलले अर्बान्स नेपालमा आफुजस्तै युवाहरुलाई आबद्ध गराएर स्वरोजगार बनाई रहेका छन् । अर्बान्स नेपालको प्रमुख कार्यकारी अधिकृत रहेका सबिलले फरक अवधारणामा अर्बान्स नेपाललाई जन्म दिएका हुन् ।

अर्बान्स नेपालको जन्म

अमेरिकाबाट स्वदेश फर्किए पछिको एउटा घटनाले अर्बान्स नेपालको जन्म भएको सबिल बताउँछन् । “म फर्किएको केही समय पछि घरमा पाइप मर्मत गर्नु पर्ने भयो र खोजी गर्दा प्लम्बर पाउन सकिएन । बल्ल सम्पर्कमा आएका एक जनाले चार दिन पछि आएर पाइप मर्मत गरेर गए” सबिलले भने, “पाइप मर्मतका दौरान समस्या के थियो भन्ने जानकारी नदिई मर्मत गरेर प्लम्बर गए पछि फेरी समस्या उस्तै भयो । राम्रो दाम दिएर प्लम्बरलाई काम लगाएको केही दिनमा समस्या उस्तै भए पछि मेरो दिमागमा यही कामलाई सेवाका रुपमा प्रभावकारी रुपमा अघि बढाउने सोच आएको हो ।”

संस्थागत रुपमा सेवाप्रदायकहरुले घर तथा कार्यालयमा आवश्यक पर्ने मर्मतको सेवा दिने काम भारतमा सुरु भईसकेको भए पनि नेपालमा नेपाल विकसित रुप लिन नसकिरहेको अवस्थालाई आफुले “क्यास” गर्न खोज्दा सफलता मिलेको सबिल बताउँछन् ।

प्लम्बरबाट धोका पाए पछि अर्बान्स नेपाल सुरु गरेर ग्राहकको समय अनुसार तत्काल सेवा दिने गरेका कारण नै आफुहरुलाई सफलता मिल्दै गएको सबिलको भनाई छ । ३० दिनको ग्यारेन्टी सहित मर्मत सेवा दिँदै आएको अर्बान्स नेपालले मर्मतको बिवबरणका आधारमा पहिले नै अनुमानित खर्च र आवश्यक जानकारीहरु उपलब्ध गराएर विश्वाशिलो सेवा दिँदै आएको सबलि बताउँछन् ।

स्थापना र लगानी

अर्बान्स नेपालले सन् २०१९ डिसेम्बर २८ देखि औपचारिक रुपमा सेवा सुरु गरेको हो । ४० लाख रुपैंयाको लगानीमा सुरु भएको संस्थामा प्रत्यक्ष रुपमा ७ जनाको समुह छ भने आईटीमा अरु १२ जना कार्यररत छन् ।

२५० स्वरोजगार

अर्बान्स नेपालले तलब दिएर प्लम्बर तथा अन्य सेवाका कर्मचारी राखेको छैन । उसले आफ्नो प्लेटवफर्ममा सेवा दिन सक्ने जनशक्तिलाई आबद्ध गराएर सेवाग्राहीसँग सम्पर्क स्थापित गरिदिने काम गर्छ । यस वापत २० प्रतिशत रकम मर्मतकर्ताले अर्बान्स नेपाललाई बुझाउनु पर्छ ।

“हामीले धेरैभन्दा धेरै काममा दक्ष्ता भएका जनशक्तिलाई अर्बान्स नेपालमा जोडिरहेका छौं । अहिले अढाई सय भन्दा बढी हामीसँग जोडिएर दिनहुँ सेवा दिन गईरहनु भएको छ । सजिलो गरी बुझाउनु पर्दा टुटल तथा पाठाओले जसरी नै अर्बान्स नेपालले मर्मतकर्ता र सेवाग्राहीलाई जोड्दै आएको छ,” सबिल भन्छन् ।

अर्बान्स नेपालले के के सेवा दिन्छ ?

कोभिडको समयमा जारी निषेधाज्ञाका कारण उद्योग, कलकारखाना, व्यवसाय र कामदारहरु समस्यामा परे । यो समस्याका बेला अर्बान्स नेपालले भने त्यस किसिमको समस्या भोग्नु परेन ।

कोभिड सुरु भएको केही दिन अब के गर्ने होला भनेर भौतारिएका थिए खान । तर लकडाउन सुरु भएको तेस्रो दिनबाट नै अर्बान्स नेपालले डिसइन्फेक्सनको काम सुरु गर्यो । नेपालमा नै पहिलो पटक यस्तो काम सुरु गर्दा बजारको अनुसन्धान, मेशिन खरिद, सञ्चालनका तौर तरिका सुक्दै सिकाउँदै थालिएको कामको एकाएक अधिक माग भएको सबिल बताउँछन् ।

फार्मेसी, हस्पिटल, विभिन्न सरकारी कार्यालय, तथा बैंक वित्तीय संस्था लगायत खुल्ला रहेका संस्थाहरुमा अर्बान्स नेपालले माग अनुसार डिसन्फेक्सन सेवा उपलब्ध गराई रह्यो । पहिलो पटक आफुले सुरु गरेको कामको प्रतिष्पिर्धी नभएका कारण ६० जनासम्मलाई रोजगारी दिन सकेको सबिर सम्झिन्छन् । अहिले अर्बान्सले कमिशन मोडलमा काम गरेकाले रोजगारी दिनु पर्ने अवस्था नरहेको र आबद्ध भएका सदस्यहरुले भने अनुसार काम पाइरहेका छन् ।

अहिले अर्बान्स नेपालले इलेक्ट्रिसियन, पल्म्बर, कार्पेन्टर, अप्लायन्स एण्ड इलेक्ट्रोनिक रिपेयर्स, सैलुन एट होम, पेष्ट कन्ट्रोलिङ, मेहन्दी, सेनिटाइजेसन, क्लिनिङ सेवा देखि ठुला ठुला बिल्डिङहरुको झ्याल बनाउने जस्ता सेवाहरु दिँदै आएको छ ।

गूगलप्ले तथा एप्पलको एपस्टोरमा अर्बान्स नेपाल नामक एप नै लञ्च गरेर सेवाग्रहीसँग जोडिँदै आएको अर्बान्स नेपालले फेसबुक पेज, इन्स्टाग्राम लगायतका सामाजिक सञ्जालबाट पनि सेवा प्रदान गर्दै आएको छ ।

हाल उपलब्ध सेवाहरुलाई निरन्तरता दिँदै एपमार्फत नै डाक्टर बोलाउन सकिने, गितार टिचर लगायत सेवाहरु थप्दै लैजाने खानले बताए । “अबको ६ महिनाभित्र अरु धेरै किसिमका सेवाहरुलाई थप गरेर सबै किसिमका सेवाहरु एकै स्थानमा दिने योजना अनुरुप अघि बढिरहेका छौं” सबिलले भने ।

छोटो समयमा बढ्दो प्रष्पिर्धा

अर्बान्स नेपालले जस्तै सेवा अरु माध्यमबाट पनि उपलब्ध हुन थाले पछि अहिले प्रतिष्पर्धा बढेको छ । तर, आफुहरुले गूणस्तरीय सेवा दिएका कारण दोहोर्याएर सेवा लिनेहरुको संख्या बढ्दै गएकाले आफुहरु उत्साहित बनेको सबिल बताउँछन् । “बजारमा आफ्नो क्षमता देखाउँदै प्रतिस्पर्धा गर्न पाउँदा उत्साह बढेको छ,” सबिरले भने ।

प्रतिस्पर्धा जतिसुकै बढेपनि त्यसलाई नकरात्मक रुपमा लिन नहुने बताउने सबिर त्यसैबाट स्थापीत हुने कुरामा विश्वास राख्छन् ।

एक वर्षमा २० लाख रुपैयाँ आम्दानी भए पनि नाफा भने ५ लाख हाराहारी मात्र हुने गरेको छ । बाँकी रकम सेवा प्रवाह गर्नेहरुमा जाने गरेको छ ।

नेपालका लागि नेपाली भन्ने सोच

पैसा कमाउनु मात्र आफ्नो उद्धेश्य नरहेको बताउने सबिल युवालाई रोजगारी तथा हौसला प्रदान गर्ने उद्धेश्यलाई पनि केन्द्रमा राखेको बताउँछन् । दैनिक हजारौंको संख्यामा विदेश पलायन भएर त्यो मुलुक बनाउने भन्दा पनि नेपालमै बसेर नेपाल बनाउनु पर्छ भन्ने सोच अनुसार आफुले काम गरिरहेको सबिलको भनाई छ । “नेपालका लागि नेपाली भईयो भने एकातिर आत्मानिर्भर बन्न सकियो, अर्कातिर नेपालीको विश्वास जित्न सकियो,” सबिल भन्छन् ।

व्यापार व्यवसायमा रुची राख्ने सबिलको बुझाई व्यापारले धेरै समस्याको समाधान गर्छ । पैसा, दायित्व, इज्जत कमाउने हो भनेर नै उनी व्यापार तिर आकर्षित थिए । स्वदेशमा नै व्यापार व्यवसाय गर्न सक्दा त्यसले आफुलाई मात्र नभई समग्र मुलुकलाई योगदान पुग्ने उनको बुझाई छ । क्षमता भएका दक्ष जनशक्तिलाई आफुले समेट्दै लैजाने योजना बनाएको अर्बान्सले वैदेशिक रोजगारीमा जानेहरुलाई पनि आकर्षित गर्ने योजना बनाइरहेको छ । “यसका लागि अर्बान्स नेपालले आफ्नो ढोका खुल्ला राखेको छ । कोही पनि क्षमता भएका जनशक्ति हामीसँग जोडिनु भई आय आर्जनमा जुट्न सक्नु हुन्छ,” सबिल भन्छन् ।

अष्ट्रेलियामा सेवा सुरु गर्दै

अर्बान्स नेपालले हाल काठमाण्डौं उपत्यकाका साथै चितवन, इटहरी र पोखरामा पनि सेवा दिँदै आएको छ । यो सेवा देशव्यापी बनाउने अभियानमा रहेको अर्बान्सले अष्ट्रेलियामा पनि सेवा सुरु गर्ने योजना अनुसार काम थालिसकेको छ । अष्ट्रेलियामा व्यवसाय दर्ता भइसकेको भए पनि कोभिडका कारण त्यहाँको सरकारले अख्तियार गरेको नीतिका कारण अहिले सेवा सुरु हुन सकेको छैन । वाताबरण सहज भए पछि त्यहाँ सेवा सुरु गर्ने सबिलले बताए ।

युवा उद्यमी फोरमबाट अवार्ड

अर्बान्स नेपालले केही समय अघि मात्र नेपाल युवा उद्यमी फोरमको स्टार्टअप अवार्ड हात पारेको छ । अरवांस नेपालले आफुलाई शीर्ष १५, ७ र ३ ब्राण्डभित्र अटाउन सकेको हो । १४० प्रतिशपर्धीबाट त्यो स्थानमा आउनु सामान्य कुरा थिएन । कोरोनाकालमा अर्बान्स नेपालले दिएको सेवा र संस्थाको उद्धेश्य अनुसारका कामका आधारमा नै अवार्ड पाएको सबिल बताउँछन् । यसका साथै अर्बान्स नेपालले अमेरीकामा गुड आइडिया अवार्ड पनि प्राप्त गरी सकेको छ । साथै प्रधानमन्त्री निवासका साथै सिंहदरबारमा काम गर्ने अवसर उतैबाट आउँदा उर्जा थपिएको खानले बताए ।

अन्य आबद्धता

खान अर्बान्स नेपालका अलावा सबिल केकेएफसी रेष्टुरेन्टमा एक्जुकेटिभ डाइरेक्टरको रुपमा कार्यरत छन् । ग्रिनविच इनटरनेशनल एजुकेशनमा प्रबन्ध निर्देशक रहेको सबिलले साथीसँग मिलेर टिभिएस टू ह्वीलरको डिलरशीप समेत आज अर्थात असोज १० गतेदेखि सञ्चालनमा ल्याएका छन् ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।