व्यापारीक उत्पादन सुरु गरेका जलविद्युत कम्पनीले २ सय प्रतिशतसम्म हकप्रद बिक्री गर्न सक्ने

0
Shares

जलविद्युत कम्पनीहरुलाई २ सय प्रतिशतसम्म हकप्रद शेयर निष्कासन गर्ने बाटो खुलेको छ । सञ्चालनमा आएका जलविद्युत कम्पनीले सहायक कम्पनी मार्फत लगानी गर्न वा निमार्ण पुरा नभएको आयोजना पुरा गर्नका लागि २ सय प्रतिशतसम्म हकप्रद शेयर निष्कासन गर्न सक्ने भएका हुन ।

विद्युत नियमन विभागले विद्युतसम्बन्धी कम्पनीको शेयर सार्वजनिक निष्कासनको पुर्वस्वीकृति तथा नियमनसम्बन्धी निर्देशिका २०७८ जारी गर्दै नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सुचिकृत भएको कम्पनीले सहायक कम्पनी मार्फत जलविद्युत आयोजनामा लगानी गर्न २ सय प्रतिशत सम्म हकप्रद शेयर निष्कासन गर्न सक्ने व्यवस्था गरेको हो ।

त्यसैगरी अन्य जलविद्युत कम्पनीमा लगानी गर्न भने शत प्रतिशत हकप्रद शेयर निष्कासन मार्फत पूँजी संकलन गरी लगानी गर्न सक्नेछ । तर, अन्य आयोजनामा बहुमत शेयर स्वामित्व नरहनेगरी लगानी गर्नका लागि भने आयोजनाको पुर्वाधार निर्माणको काम २५ प्रतिशत सम्पन्न भएको हुनुपर्ने व्यवस्था निर्देशिकाले गरेको छ ।

जलविद्युत कम्पनीहरुले सार्वजनिक निष्कासन गरिसकेपछि पनि निर्माणको काम पुरा हुन नसकेको अवस्थामा भने एक बरावर एकका दरले हकप्रद शेयर निष्कासन गर्न सक्ने व्यवस्था निर्देशिकाले गरेको छ । तर, सहायक कम्पनी मार्फत वा अन्य जलविद्युत आयोजनामा लगानी गर्नका लागि शकप्रद शेयर निष्कासन गर्ने कम्पनीले आफ्नो आयोजनाको विद्युतको व्यापारिक उत्पादन शुरु गरेको हुनुपर्छ । निर्देशिका अनुसार मूख्य कम्पनीले सहायक कम्पनीको चुक्ता पूँजीको एकाउन्न प्रतिशत वा सोभन्दा बढी अंश ग्रहण गरेको हुनुपर्नेछ ।

त्यसैगरी आयोजनाको विद्युत खरिदबिक्री सम्झौता सम्पन्न भएको हुनुपर्ने समेत निर्देशिकामा उल्लेख छ । आयोजना निर्माणको लागि वित्तीय व्यवस्थापन सम्पन्न भएको हुनुपर्ने तथा आयोजनाको विद्युत उतपादन अनुमतिपत्र प्राप्त भएको हुनुपर्ने व्यवस्था निर्देशिकाले गरेको छ । निर्देशिका अनुसार मूख्य कम्पनी नेपालको धितोपत्र बजारमा सुचिकृत नभएको अवस्थामा हकप्रद शेयर निष्कासन गर्न नपाउने व्यवस्था गरेको छ ।

त्यसैगरी जलविद्युत कम्पनीहरुले अन्य प्रयोजनका लागि पनि हकप्रद शेयर निष्कासन गर्न सक्ने व्यवस्था निर्देशिकाले गरेको छ । निर्देशिका अनुसार हकप्रद निष्कासनबाट संकलन हुने कुल रकमको उपयोग सम्बन्धमा स्पष्ट वित्तीय एव तालिकावद्ध कार्ययोजना सञ्चालक समिति तथा साधारणसभाबाट पारित गरेको अवस्थामा चुक्ता पुँजीको एक बराबर एक हकप्रद शेयर निष्कासन गर्न सक्ने व्यवस्था गरेको छ ।

त्यसैगरी जलविद्युत कम्पनीको शेयरधनीको रुपमा कम्पनी रहेको खण्डमा शेयर कारोबार गर्नु भन्दा १५ दिन अघि आयोगलाई जानकारी दिनु पर्ने व्यवस्था गरेको छ । त्यसैगरी जलविद्युत कम्पनीको ५ प्रतिशतभन्दा धेरै शेयर परिवर्तन हुने भएमा आयोगको पुर्व स्विकृति लिुनपर्ने व्यवस्था निर्देशिकाले गरेको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।