पूँजी बजारका सम्बन्धमा बल्ल बोल्यो एफएनसीसीआई, लगानीकर्ता भन्छन् “एफएनसीसीसीआई पनि छ ?”


निरन्तर ओरालो लागेको पूँजी बजारबाट लगानीकर्ता पलायनको अवस्थामा पुगे पछि नेपाल उद्योग वाणिज्य महासंघले विज्ञप्ति जारी गरेको छ । आम लगानीकर्ताले गत साता नै महासंघले बजारका सम्बन्धमा भएका नीतिगत व्यवस्था र त्यसको असरका सम्बन्धमा आवाज उठाउने आँकलन गरे पनि महासंघले ढिला गरेर मुख खोलेको हो ।

सोमबार विज्ञप्ति जारी गर्दै महासंघले निरन्तरको नीतिगत परिमार्जनका कारण पूँजी बजारमा देखिएको अस्थिरताप्रति ध्यानाकर्षण भएको जनाएको हो ।

उता लगानीकर्ता तथा बजार सम्बद्ध व्यक्तिहरुले भने महासंघले समय बिते पछि विज्ञप्ति निकालेको भन्दै महासंघको कार्यशैलीप्रति असन्तुष्टि जनाएका छन् । महासंघले पछिल्ला केही दिनदेखि पूँजी बजारका सम्बन्धमा भएका घटनाक्रमका सम्बन्धमा आवाज उठाउन लागेको चौतर्फी चर्चा भईरहँदा सातासम्म पनि मौन बस्नुलाई लगानीकर्ता, शेयर दलाल व्यवसायीका साथै सम्बद्ध पक्षले अर्थपूर्ण रुपमा लिएका छन् ।

नोटबजारसँगको कुराकानीमा लगानीकर्ताका संघ संगठनमा प्रतिनिधित्व गर्ने एक नेताले उद्योग वाणिज्य महासंघ भन्ने संस्था पनि छ र ? भन्दै प्रतिप्रश्न गरेका छन् । लगानी सखाप भए पछि स्वार्थ बाझिएका व्यक्तिको इशारामा महासंघले फेरी लगानीकर्तालाई फसाउने शैलीमा विज्ञप्ति जारी गरेको भन्दै आपत्ती जनाएका छन् । “अब महासंघले फेरी कसको पछि लागेर स्वार्थमा विज्ञप्ति निकालेको हो भन्नेमा लगानीकर्ता चनाखो हुनु पर्ने देखिन्छ” उनले भने ।

एक ठूला लगानीकर्ताले भने “महासंघले पूँजी बजार फोरम गठन गरे पनि त्यसलाई मृत अवस्थामा राखेको बताए । आजसम्म फोरमले कुनै कृयाकलाप गर्न नसक्नु, लगानीकर्ताको हीत र नीतिगत अष्पष्टताका सम्बन्धमा बोल्न नसक्नुले समग्र महासंघ नेतृत्वप्रति प्रश्न उठाउने आधार बनेको छ ।”

एक शेयर दलाल व्यवसायीले नोटबजारसँगको कुराकानीमा महासंघले सार्वजनिक गरेको विज्ञप्तिका सम्बन्धमा भने, “बिग्रिनु पर्ने अनि भत्किनु पर्ने सबै सकिए पछि नीजि क्षेत्रको प्रतिनिधिमुलक संस्थाले मुख खोल्नु समग्र लगानीकर्ताप्रतिको उपेक्षा हो,” उनले भने, “रक्सी उद्योगमा भएको लगानी अनि महासंघका एक व्यक्तिले पदीय आचरण विपरित गरेको कामको खण्डन गर्न मिनेट पनि हतारो नगर्ने महासंघले लाखौं लगानीकर्ताका सम्बन्धमा बोल्न नखोज्नु अर्थपूर्ण छ ।”

निरन्तरको गिरावटले शेयर बजार पूँजीकरण ३६ खर्ब तल झर्यो

अर्का एक शेयर दलाल व्यवसायीले पछिल्लो सातादेखि लगानीकर्ताले महासंघका साथै नीजि क्षेत्रका अरु छाता संगठनले पूँजी बजारका सम्बन्धमा मुख खाल्ने अपेक्षा गरे पनि त्यस्तो नहुँदा लगानीकर्ताले छाता संगठनलाई हेर्ने नजर फेरिएको बताए । ढिलो गरेर भए पनि महासंघले मुख खोल्दा बजारलाई केही राहत हुने उनको अपेक्षा छ । “तर यतिका दिनसम्म महासंघ मौन बस्नुको पछि कुनै कारक छ भन्ने विषयलाई लगानीकर्ताले बिर्सिनु हुँदैन,” उनले भने ।

महासंघले विज्ञप्ति जारी गर्दै कोभिड १९ महामारी र त्यसलाई नियन्त्रण गर्न लगाइएको वन्दावन्दीका बेला अर्थतन्त्रमा नकारात्मक असर परे पनि नेपालको पूंजी बजार भने यस अवधिमा गतिशील रही इतिहासमा सर्वाधिक राजस्व समेत प्रदान गर्न सफल रहेको जनाएको छ । आम लगानीकर्ताको पुँजी बजारप्रतिको विस्वास बढ्नुको कारण पनि महामारीमा बजारको विकास भएको महासंघको भनाई छ ।

बजारमा प्रविधिको प्रयोग र बैंक वित्तिय संस्थामा अधिक तरलता रहंदा धेरै लगानीकर्ताले अवसर पाउँदा डिम्याट खाता खोल्ने लगानीकर्ताको संख्या ४५ लाख नाघ्नुले आकर्षण बढ्दै गएको महासंघको बुझाई छ ।

“मूलतः अर्थतन्त्रको अवस्था र लगानीकर्ताको मनोविज्ञानले प्रभाव पार्ने बजारको स्वच्छ स्वस्थ र प्रतिष्पर्धी विस्तार एवं विकासका लागि नीतिगत स्थायित्व र प्रष्टता आवश्यक रहन्छ । केही समय यताको नीतिगत अस्थिरताका कारण पनि पूँजीबजारमा उतार चढाव आएको महसुस गरिएको छ,” महासंघले भनेको छ ।

ब्याजदर बढेपछि बैंकहरुमा निक्षेप बढ्न थाल्यो, सातामै ३८ अर्ब थपियो

मूल्य जस्तो संवेदनशील विषयमा अन्य निकायहरुको हस्तक्षेप हुनु, बैँक तथा वित्तिय र बीमा कम्पनीहरुको लगानी सीमालाई संकुचन गरिनु, शेयर धितो कर्जामा लगाईएको एकल ग्राहक कर्जा सीमा तोक्नु, सूचिकृत कम्पनीलाई आफ्नो आवश्कता अनुसार हकप्रद तथा अन्य विधिबाट पूँजी संकलन गर्न रोक लगाउनु, विद्युत नियमन आयोगबाट संस्थागत लगानीकर्ताले खरीद बिक्री गर्दा १५ दिन अगाडि नै स्वघोषणा गर्नु पर्ने व्यवस्था जस्ता विभिन्न नीतिगत परिवर्तनको कारण शेयरबजारमा असर परेको भन्दै महासंघले यस्ता कृयाकलापप्रति ध्यानाकर्षण भएको जनाएको हो ।

शेयर बजार परिसूचक घटबढ हुने क्रममा भदौ पहिलो साता यता समग्रमा पूँजी बजार ओरालो लागेको छ । यसले आम लगानीकर्तालाई समेत सशंकित बनाएको अवस्थामा यस्ता नीतिगत व्यवस्थाहरुको तत्काल संशोधन एवं परिमार्जन गर्न महासंघले जोडदार माग गरेको छ ।

“पूँजी बजार सम्बन्धी नीति नियम बनाउंदा सरोकारवालाहरुसंग पनि छलफल र विमर्श गर्न महासंघ सम्बन्धित सबैमा आग्रह गर्दछ,” विज्ञप्तिमा भनिएको छ । साथै पुँजी बजारमा जोखिम पनि रहने हुँदा आपूmले कारोबार गर्न खोजेको कम्पनी बारेको वित्तीय लगायतका आवश्यक जानकारी हासिल गरी विवेकपूर्ण लगानी गर्न पनि महासंघले लगानीकर्तालाई आग्रह गरेको छ । संस्थागत लगानीकर्ताहरुको संख्या विस्तार जरुरी रहेको भन्दै महासंघले वाताबरण बनाउनु पर्नेमा जोड दिएको छ ।

“बजार व्यवस्थित बनाउन आवश्यक अन्य नीतिगत व्यवस्था, पर्याप्त सूचना प्रवाह हुने संयन्त्रको निर्माण, प्रविधिको उच्चतम प्रयोग र नयाँ लगानीका साधन एवं उपकरण बढाउन पनि महासंघ सम्बन्धित निकायसमक्ष माग गर्दछ,” महासंघले भनेको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।