ब्याजदर बढेपछि बैंकहरुमा निक्षेप बढ्न थाल्यो, सातामै ३८ अर्ब थपियो

0
Shares

तरलताको हाहाकार भएपछि ब्याजदर बढाएका बैंकहरुमा दशै नजिकिएसंगै निक्षेप बढ्न थालेको छ । चाँडवाँड नजिकिएपछि रेमिट्यान्सको आप्रबाहमा पनि सुधार भएकाले पनि बैंकहरुमा निक्षेप बढेको हो ।

चालु आर्थिक वर्षको असोज महिनाको दोस्रो साता मात्र बैंकहरुमा ३८ अर्ब रुपैयाँ निक्षेप थपिएको छ । यो अवधिमा बैंकहरुले ३९ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् ।

नेपाल राष्ट्र बैंकले उत्पादन मूलक क्षेत्रमा कर्जा लगानी बढाउने उद्देश्य अनुसार पूँजी, कर्जा तथा निक्षेप अनुपातको सट्टा कर्जा तथा निक्षेप अनुपातको नयाँ व्यवस्था ग¥यो । जसले गर्दा बैंकहरुमा तरलताको समस्या देखिन थाल्यो । त्यसका लागि आसोज महिना देखि नयाँ निक्षेप तान्नका लागि बैंकहरुले ब्याजदर पनि बढाए । तर, बैंकहरुले ब्याजदर बढाएको भएपनि तरलताको समस्या भने सहज हुन सकेको छैन ।

बैंकहरुले तरलता व्यवस्थापन लागि दैनिक रुपमा नेपाल राष्ट्र बैंक मार्फत ओभर नाइट रिपो, स्थायी तरलता सुविधा, रिपो मार्फत पैसा ल्याएका छन् । तरलता समस्या जटिल बन्दै गएपछि बैंकहरुको अन्तर बैंक कारोबार नै हुन सकेको छैन । अन्तर बैंक कारोबारमा दिने भन्दा पनि सबै संस्था लिन मात्र खोज्ने भएपछि अन्तर बैंक कारोबार हुन नसकेको हो ।

चालु आर्थिक वर्षको तेस्रो महिना अर्थात असोजको पहिलो सातामा बैंकहरुमा विदेशी मुद्राको निक्षेप १२ अर्ब रुपैयाँले बढेको थियो । तर, असोजको दोस्रो महिनामा विदेशी मुद्राको निक्षेप ४ अर्बले घटेको छ । असोज महिनाको पहिलो सातामा बैंकहरुवाट ३ अर्ब रुपैयाँ स्वदेशी मुद्रा बाहिरिएको थियो ।

चालु आर्थिक वर्षको पहिलो महिना साउनमा बैंकहरुबाट करिब ७८ अर्बले निक्षेप घटेको थियो । यो अवधिमा पनि बैंकहरुले ४३ अर्ब रुपैयाँले कर्जा विस्तार गरेका थिए । भदौमा बैंकहरुबाट बाहिर गएको करिब ७८ अर्ब रुपैयाँ केही रकम फिर्ता भएको देखिन्छ । भदौ महिनामा बैंकहरुले करिब ४८ अर्ब रुपैयाँ निक्षेप बढाएका थिए । सो महिनामा बैंकहरुले १३९ अर्ब रुपैयाँ कर्जा विस्तार गरेका थिए ।

बैंकहरुले असोज १५ गतेसम्ममा कुल ४२ खर्ब १८ अर्ब निक्षेप संलकन गरी ३९ खर्ब ३२ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् । पछिल्ला दिनहरुको बैंकहरुको कर्जा निक्षेप अनुपात पनि ८८ प्रतिशत भन्दा माथि रहेको अवस्था छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।

प्रकाशित मिति: १८ असाेज २०७८, सोमबार  १८ : २८ बजे