पूँजीबजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डले सूचीकृत कम्पनी तथा कम्पनीकाे शेयर रजिष्ट्रारलाई शेयरधनीहरुको नगद लाभांश शेयरधनीको बैंक खातामा पठाउँदा स्पष्ट विवरण खुल्ने गरि पठाउन निर्देशन दिएको छ ।
सोमबार एक निर्देशन जारी गर्दै बोर्डले नगद लाभांश भुक्तानी गर्दा स्पष्ट रुपमा कम्पनीको नाम, आर्थिक वर्ष, दर आदि खुल्ने गरी पठाउन निर्देशन दिएको हो ।
बोर्डका का.मु उपकार्यकारी निर्देशक कृष्णप्रसाद घिमिरेद्धारा जारी गरिएको निर्देशनमा भनिएको छ, ‘सूचीकृत कम्पनी आफैँ वा आफ्नो शेयर रजिष्ट्रार मार्फत शेयरधनीको बैंक खातामा नगद लाभांश भुक्तानी गर्दा स्पष्ट रुपमा कम्पनीको नाम, आर्थिक वर्ष, लाभांश दर आदि खुल्ने गरी पठाउनु तथा यस कार्यलाई सहजीकरण गर्न नेपाल क्यिरिङ्ग हाउस लिमिटेडले हालै तोकिएको ढाँचामा (२८ सेप्टेम्बर, २०२१) अनिवार्य रुपमा सूचित गर्नुपर्ने विषयहरु स्पष्ट रुपमा खुलाई पठाउने व्यवस्था गर्न निर्णयानुसार अनुरोध गर्दछु ।’
कम्पनीले आफ्ना शेयरधनीहरुलाई प्रदान गरेको नगद लाभांस शेयरधनीहरुको बैंक खातामा आफै जम्मा गर्दा र आफ्नो शेयर रजिष्ट्रार मार्फत बैंक खातामा जम्मा गराउँदा बैंक स्टेटमेण्टमा उक्त शेयर रजिष्ट्रार (क्यापिटल) को नाम मात्र आउने गरेकोले कुन कम्पनीको लाभांश हो, कुन आर्थिक वर्षको कुन दरको लाभांश हो स्पष्ट हुन नसकेको र हिसाब किताब राख्न सहज नभएको लगायतका व्यहोराको गुनासो बोर्डमा आउने गरेको तर्फ ध्यानाकर्षण भएको बोर्डले जनाएको छ ।
सेबोनले निर्देशनको बोधार्थ सम्पूर्ण शेयर रजिष्ट्रारलाई यस कार्य गराउनको लागि समन्वय गर्न नेपाल मर्चेन्ट बैंकर्स एसोशिएसन र आवश्यक सहजीकरणका लागि क्लियरिङ्ग हाउसलाई पनि पठाएको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया