सट्टेबाजको पछाडि कुद्दा यसरी डुब्छन् सर्वसाधारण लगानीकर्ता, सेबोन र नेप्से रमिते

0
Shares

शेयर बजारलाई अर्को अर्थमा सट्टा बजार पनि भनिन्छ । यही बजारमा केही लगानीकर्ताले अर्बौं कमाउँदा लाखौं लगानीकर्ताले भने दशौं अर्ब गुमाईरहेका हुन्छन् । खासगरी केही सट्टेबाजहरुको पछाडि ठूलो संख्यामा सर्वसाधारण लगानीकर्ताहरु कुदे भने शेयर बजारले ठूलो क्षति भोग्नुपर्छ, जुन अहिले देखिएको छ ।

नेपालका नियमनकारी निकायहरुको कमजोरीको जगमा उभिएर केही सट्टेबाजहरुले पछिल्लो समयमा शेयर बजारमा राम्रैसँग सर्वसाधारण लगानीकर्ताहरुलाई फसाए । सर्वसाधारण लगानीकर्ताहरुको स्वभाव नै हल्ला र अफवाहको पछाडि कुद्ने हुँदा त्यसको फाईदा सट्टेवाजहरुले लिएका हुन् ।

सामाजिक सञ्जाल र क्लब हाउस जस्ता माध्यमको दुरुपयोग गरी सर्वसाधारण लगानीकर्तालाई गलत किसिमले प्रभावमा पारेर सट्टेवाजहरुले बजारलाई अप्राकृतिक ढंगले चलाए । इन्साईडर ट्र्रेडिङ, शेयर कर्नरिङ, सर्कुलर ट्रेडिङ जस्ता अस्त्रहरुको दुरुपयोग गरी सट्टेवाजहरुले बजारलाई उचाल र पछार गरे, त्यसको मारमा अहिले सर्वसाधारण लगानीकर्ताहरुरु परेका छन् ।

पछिल्लो समय शेयर बजारमा शेयरको मूल्य बढ्न थालेपछि ठूलो संख्यामा नयाँ लगानीकर्ताहरु प्रवेश गरेका थिए । कामै नलाग्ने, जीन्दगीमा कहिल्यै लाभांश नबाँडेका, जगेडा कोष करोडौं ऋणात्मक रहेका, ऋणात्मक नेटवर्थका, संस्थागत सुशासन कमजोर रहेका तर बजारमा शेयरको आपूर्ति कम रहेका कम्पनीहरुमा सट्टेबाजहरुले खेल्दा सर्वसाधारण लगानीकर्ताहरु त्यतै तिर दौडिए ।

कम्पनीको अवस्था र आफ्नो जोखिम बहन क्षमता नहेरी सर्वसाधारण लगानीकर्ताहरु कसैले फलानो शेयरको मूल्य यहाँबाट त्यहाँ पुर्याउने रे भन्दै उचालिएर खरिद बिक्री गर्न उत्साहित हुँदा थामिनसक्नुको जोखिम बढेको हो । यसरी सट्टेवाजहरुको लहै लहैमा लाग्दा अहिले नै त्यस्ता कतिपय कम्पनीमा सर्वसाधाारणले ३ महिनाको छोटो समयमा ५० प्रतिशत लगानी गुमाईसकेका छन् भने पछिल्लो समयमा बजारमा आएको गिरावटले झन त्रास बढाएको छ ।

सट्टेवाजहरुले उचालेका कम्पनीको शेयरमा सयौं लगानीकर्ताले लाखौं कित्ता बिक्रीमा राख्दा पनि एक कित्तासम्म किन्ने कोही नहुनु चरम संकटको अवस्था हो । अझ अघिल्लो दिन १० प्रतिशतले मूल्य उचालेर माथि लगेका र भोलिपल्ट लाखौं कित्ता शेयर बिक्रीमा आउँदा खरिदकर्ता एक जना पनि नभएर १० प्रतिशतले नै मूल्य घट्नु निकै सोचनीय विषय हो ।

बजारमा सट्टेवाजहरुले गलत किसिमले सर्वसाधारणलाई भ्रमित पारी खुलेआम लुट मच्चाईरहँदा पनि धितोपत्र बोर्ड र नेप्से जस्ता नियमनकारी निकायहरु टुलुटुलु हेरेर बस्नुले बजारमा सन्त्रास अरु बढेको छ । सामाजिक सञ्जालहरुको प्रयोग गरी फलानो कम्पनीको शेयर मूल्य भोलि म त्यहाँ पुर्याउछु भन्दै घोषणा गर्ने र भोलिपल्ट लाखौं कित्ता खरिद र बिक्री आदेश छिन छिनमा बदलेर म्यानुपुलेशन गर्नेहरुलाई ठेगान लगाउन पूँजीबजारका नियामक निकायहरू धितोपत्र बोर्ड र नेप्से असक्षम हुनुले सर्वसाधारणको लगानीमा जोखिम बढेको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।