योगी बाबा रामदेवको व्यापारको जालो नेपालमा पनि फैलँदै, सन्यासीबाट कसरी बने अर्बपति ?

0
Shares

समय समयमा विविध कारणहरुले चर्चामा आइरहने व्यक्तिहरु मध्येका एक हुन् रामकृष्ण यादव स्वामी अर्थात बाबा रामदेव ।

केही दिन अघि नेपालमा आएर उनले दुईवटा च्यानल (पतन्जली नेपाल र आस्था नेपाल) को उद्घाटन गरेपछी उनको चर्चा थप चुलिएको छ ।

रामदेवसँग प्रतिबद्धता, धैर्यता, संघर्ष, प्रेरणा र दूरदृष्टिको लामो इतिहास छ । पेशाले योगगुरु मानिएका उनको व्यवसायीक जीवन भने निकै चाखलाग्दो छ । पतन्जली आर्युवेद विश्वप्रसिद्द ब्रान्डहरुमा पर्ने एउटा ब्रान्ड पनि हो । रामदेव पतन्जली आर्युवेदको संस्थापक समेत रहेका हुन् ।

भारतको हरियाणा प्रान्त महेन्द्रगण जिल्लाको अलिपुरमा सन् १९६५ डिसेम्बर २५ मा जन्मिएका उनलाई अहिले एक बिज्नेस टाइकुन भन्दा खासै फरक पर्दैन । सन् २०१३ मा उनले आफ्नो व्यक्तिगत सम्पत्तिको कुल मूल्य ११ सय करोड भारु घोषित गरेका रामदेवको सन् २०२१ अगस्टसम्म आइपुग्दा उनको नेट्वर्थ ३०० करोड बढेर १४०० करोड भारु अर्थात् २२ अर्ब नेपाली रुपैयाँ भन्दा धेरै पुगेको छ ।

मासिक रुपमा करिब ५० लाख भारु तथा वार्षिक ५ करोड भारुसम्म कमाउने उनले डुबिसकेको रुचि सोया कम्पनी किनेर घाटामा गैरहेका लगानीकर्ताहरुलाई मुनाफा दिन पनि सफल भएका छन् । उनको यो बुद्धिमता हेर्दा उनी कुनै सन्यासी, योगि नभई एक कुशल व्यापारी जस्तो देखिन्छन् । त्यसैगरी उनले पतन्जली आयुर्वेद, पतन्जली योगपीठ, भारत स्वाभिमान ट्रस्टको संस्थापक भएर पनि काम गरिरहेका छन् । रामदेव संस्थापक समेत रहेका पतन्जली आर्युवेदले आर्थिक वर्ष २०२१ सम्म आइपुग्दा नेपाली ५ खर्ब बराबरको व्यापार गरिरहेको छ ।

योग, एफएमसिजी व्यवसाय (प्याकेज गरिएका उपभोक्ता सामानहरू जुन छिटो र तुलनात्मक रूपमा कम मूल्यमा बेचिन्छन्) र रोयल्टीबाट रामदेवको आय र नेटवर्थ वृद्दिमा सहयोग पुगेको हो  ।

आर्य समाजको परम्पराबाट आएका उनका आमाबाबु दुबै किसान थिए । जन्मको एक दुई महिना पश्चात नै उनको अनुहारको देब्रे साइडमा भाग आंशिक रूपमा पक्षाघात भएको थियो । जन्मजात अपाङ्गता वा बाल्यकालको रोगले गर्दा उनको आँखा नचाँहदा नै झिम्कने भएको थियो । यी सबैका बाबजुत उनले जुन प्रगति हासिल गरे त्यो भने निकै अनुकरणीय छ ।

आठ कक्षासम्मको शिक्षा हासिल गरेपछि उनी खानपुर गाउँमा रहेको योग मठ (गुरुकुल) मा प्रवेश गरे जहाँ उनले योगका प्रविधिहरू सिक्न थाले । गुरुकुलमा, उनले आफ्ना गुरु आचार्य बलदेवको नेतृत्वमा संस्कृत र योगको अध्ययन गरे, र संस्कृत व्याकरण, हिन्दू दर्शन, योग, वेद र उपनिषद्हरूमा विशेषज्ञताको साथ स्नातकोत्तर डिग्री हासिल गरे । गुरुकुलमा बसेपछि सन्यास लिएर नाम परिवर्तन गरेर रामदेव राखे ।

सन्यासी जीवन धारण गर्नु पूर्व उनलाई रामकृष्ण यादवको नामले चिनिन्थ्यो भने सन्यास जीवन पछि ऊनी स्वामी रामदेवको नामले विश्व परिचित हुन पुगेका हुन् । सानै उमेरमा महाऋषि दयानन्द सरस्वतीको दिव्यज्ञानले प्रभावित भएका ऊनी, महाऋषिकै पथ पच्छ्याउँदै योगगुरु भएका हुन् ।

भारतीय ग्रामीण जीवनलाई सुधारिकरणगरि भ्रष्टाचारमुक्त भारत देख्ने सपना सजाएका ऊनी, करिब २५ वर्ष देखि संघसंस्था, विध्यापीठहरुको निर्माण गरि समाजसेवा गरिरहेका छन् भने राजनीतिमा पनि सक्रिय रहेका छन् । विभिन्न देशहरुमा पुगेर योग शिविर सञ्चालन गरी योग तथा प्रणायामलाई सहज ढंगले जनमानसलाई सिकाउँदै आएका छन् ।

द्रुत गतिशील उपभोक्ता सामग्रीको व्यापार गर्ने पतन्जलिको प्रभाव नेपाली समुदायमा पनि उच्च छ । लामो समय देखी नेपालमा पनि पतन्जली आयुर्वेद केन्द्र सञ्चालनमा आइरहेको छ। त्यसका साथसाथै नेपालको पश्चिमी जिल्ला स्याङ्जामा पतन्जलीको योगपीठ पनि सञ्चालनमा रहेको छ ।

नेपालको ७७ जिल्लामध्ये करिब ६५ जिल्लामा पतन्जली सेवा केन्द्र र उपकेन्द्र सञ्चालनमा अएका छन् । स्वामी रामदेवले संस्कृतमा आचार्य सम्मको अध्ययन गरेका छन् । नेपाली बजार र नेपाली जनताको मागलाई नजिकबाट बुझेका उनले नेपालमा योग तथा प्रणायाम सहज तरिकाले सिकाउन शुक्रबार आफ्नै लगानीमा २ वटा टेलिभिजन च्यानल पनि विस्तार गरेका छन् । एक सन्यासीको यस्तो विचित्र कथा थाहा पाउँदा धेरैको मनमा आशंका उब्जन्छ की स्वामी रामदेव सन्यासी तथा योगगुरु भन्दा बढी ब्यापारीको रूपमा स्थापित त हुँदै छैनन् ।

बाबा रामदेवको प्रमुख आम्दानीको स्रोतको रूपमा योग नै रहेको छ । उनले सञ्चालन गर्ने विशेष योग शिविरहरूको सत्रबाट सञ्चालन गरेर हरेक वर्ष २५ करोड रुपैयाँ कमाउने गर्दछन् । रामदेवको देशभरका योग शिविरहरूमा लगभग ५० हजार मानिसहरू सहभागी हुन्छन् र प्रत्येक व्यक्तिले ५ हजार रुपैयाँ दर्ता शुल्क तिर्छन्। उनको योगशिविरहरूमा मानिसहरूको ठूलो भीड लाग्ने गरेको छ ।

यस्तै उनले सन् २०१० मा हरिद्वारमा  १०० करोड लागतमा पतञ्जली विश्वविद्यालय स्थापना गरेका छन् । यो बाबा रामदेवको सपनाको परियोजना थियो। उनको लगानी रहेको हरिद्वारको दिव्या फार्मेसीले वार्षिक ५० करोड रुपैयाँ आम्दानी गर्ने गरेको छ । छण्ण् करोड लगानी रहेको फूड पार्क पनि रामदेवको आम्दानी गर्ने ठाउँ हो।

हरियाणाको रेवारीबाट करिब ८ किलोमिटर टाढा योग गुरुले रामदेवले एउटा शैक्षिक संस्था गुरुकुल चलाउँछन् । सन् १९७९ जनवरीमा गुरुकुल स्थापना हुँदा यो संस्था बाबा रामदेवलाई दिइएको थियो । यसैगरी रामदेवको योग र ध्यान सम्बन्धी पुस्तकहरू र सीडीहरूको बिक्रीबाट वार्षिक ३ करोड रुपैयाँ आम्दानीको हुने गरेको छ । उनको योग र ध्यानका पुस्तकहरूको माग विश्वव्यापी छ ।

योग गुरु ‘बाबा रामदेव’ भनेर चिनिने स्वामी रामदेव विगत केही वर्षदेखि पहिलो योग र त्यसपछि कालो धन फिर्ता ल्याउने उनको आह्वानका कारण चर्चामा छन् । रामदेवको विदेशमा कालो धन लुकाएको बारेमा टिप्पणी समेत हुने गरेको छ । भारत सरकारले यस विषयमा खोजी गरेर स्पष्ट नपार्दा उनी शंकाको घेरामा परेका छन् ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।