बजारमा ‘कालो सुन’ को प्रयोग बढ्दो, बैंकहरुले आयात गरेको सुन ‘स्टक’मा

0
Shares

बजारमा गरैरकानुनी रुपमा भित्रिएको सुन ‘ब्ल्याक गोल्ड’ को कारोबार बढेको छ । औपचारिक माध्यमबाट आएको सुन लिने प्रक्रियागत झन्झट तथा आवश्यकता अनुसार नपाइने भएपछि गैरकानुनी बाटोबाट आएको सुनको कारोबार बढको हो ।

औपचारिक माध्यमबाट नेपाल बैंकर्स संघको सिफारिसमा वाणिज्य बैंकहरुले पालैपालो हरेक दिन २० केजी सुन आयात गर्ने गरेका छन् । तर, बजारमा समान्य अवस्थामा ३० केजी तथा सिजनको समयमा ४० किलो सुनको माग रहेको छ । यो मागलाई अनौपचारिक माध्यमबाट भित्रिएको सुनको प्रयोग मार्फत सम्बोधन हुने गरेको व्यवसायीहरु बताउँछन् ।

बैंकहरुले आयात गर्ने सुन भन्दा बजारको माग ५० देखि १५० प्रतिशतले धेरै रहेको छ । माग नै उच्च भएको अवस्थामा पनि बैंकहरुले आयात गरेको सुन बिक्री नभई स्टक रहने समेत गरेको छ । नेपाल बैकर्स संघका अनुसार गत मंसिर १२ गतेसम्ममा बैंकहरुले आयात गरेमध्ये कुल ९०.५० केजी सुन स्टकमा रहेको छ । औपचारिक माध्यमबाट आएको सुन पूर्ण बिक्री नहुँदा व्यवसायीहरुले नै कालो सुनलाई प्रोत्साहन गरेको स्पष्ट हुन्छ ।

बैंकहरुले आयात गरेको सुन स्टकमा रहन्छ । सिजन वा अफ सिजनमा बजारमा सुनको माग दैनिक ३० र ४० केजी छ । तरपनि सुनको अभाव भने कहिल्यै हुँदैन् । सुनचाँदी व्यवसायीहरुले सरकारी निकायसँग सुन आयातको कोटा बढाउने माग पनि निरन्तर राख्दै नै आएका छन् ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मणिक रत्न शाक्यका अनुसार बजारमा सुनको माग उच्च भएपछि ‘ब्ल्याक गोल्ड’ को प्रयोग पनि बढेको छ । “मंसिर महिना सुरु हुनुभन्दा केही दिन अघि सुनको हाहाकार नै भयो,” शाक्यले भने,“बजारमा ब्ल्याक सुन पनि चल्यो, मूल्यमा पनि धेरै अन्तर पर्यो तर अहिले त्यस्तो छैन् ।”

काठमाण्डौको बानेश्वरका सुनचाँदी व्यवसायी विनोद शाह (नाम परिवर्तन) का अनुसार बैकहरुले आयात गर्ने दैनिक २० किलो सुन देशभरका व्यापारीले लैजाने भएकाले एक एक तोला समेत भाग लगाउन पुग्दैन् । “सिजनको समयमा एक जनाबाटै १६ तोलासम्मको अर्डर आउँछ,” उनले भने, “पालो पर्खेर सुन ल्याउन सम्भव नै नहुने भएपछि ब्ल्याकगोल्ड नकिनेर के गर्ने ?”

महासंघका अध्यक्ष मणिक रत्नशाक्य तस्करीको सुनले बजारको माग टारेको कुरालाई भने स्वीकार गर्दैनन् । “अहिले तस्करीको सुन व्यापारीले प्रयोग गरेको सुनिँदैन,” उनले भने, “पछिल्लो समयमा औपचारिक माध्यमबाट अर्थात बैंकहरुले आयात भएकै सुनले पुगि रहेको छ ।” अहिलेको समय सुन बजारका लागि मध्यम समय हो । मध्य सिजन लागेसँगै अफ सिजन सुरुहुने भएकाले सुनको माग दैनिक ३० किलो मात्र रहेको उनले बताए ।

शाक्यको भनाई र बजारको अवस्था भने मेल खाँदैन । सुनको मागलाई व्यापारीले भने तस्करीले ल्याएको सुन प्रयोग गर्ने गरेको स्पष्ट देखिन्छ । पछिल्लो समयमा सुन तस्करीहरु समातिने घटना पनि बढेको छ । त्यति मात्र नभई सरकारले दिएको वैदेशिक यात्रामा ५० ग्रामसम्मका सुनका गरगहना ल्याउँदा भन्सार शुल्क नलाग्ने व्यवस्थालाई पनि तस्करीले प्रयोग गरेको देखिन्छ ।

उदाहरणका लागि नेपाल प्रहरीले कार्तिक १४ गते काठमाण्डौंको मित्रनगर स्थितहोटल परेली डिलक्सबाट २५ किलो सुन सहित एक जनालाई पक्राउ गरेको थियो ।

त्यसैगरी सोमबार मात्रै त्रिभुवन अन्तर्राट्रिय विमानस्थल भन्सार कार्यालयले वैदेशिक रोजगारी र घुम्न गएर फर्किएका नेपालीलाई भरिया बनाएर बाला र बेरुवा बनाएर नेपाल भित्र्याइएको २१ किलो गहना आकारका सुन बरामद गरेको छ । दुबई, कतार र मलेसियाबाट नेपाल फर्किएका ४१५ जना यात्रुले बालाको आकारमा ल्याएको सुन नियन्त्रणमा लिइएको भन्सार विभागले जनाएको छ । यसरी विमानस्थल, चीनसँग जोडिएका जिल्लाहरुबाट सुन तस्करी हुने गरेको नेपाल प्रहरीका प्रवक्ता बसन्तबहादुर कुँवरले जानकारी दिए ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।