संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम बहादुर आलेले नेपाललाई युरोपेली युनियनको कालोसूचीबाट बाहिर ल्याउन सरकार संवेदनशील रहेको बताएका छन् ।
नेपाल उद्योग परिसंघको प्रतिनिधिमण्डलसँगको भेटमा मन्त्री आलेले युरोपेली युनियनको कालोसूचीबाट बाहिर ल्याउन गर्नुपर्ने कानुनी र नियमनकारी सुधारका लागि संसदमा विधेयक पेश भएको भन्दै ती विधेयक छिट्टै पारित गराउने बताए ।
मन्त्री आलेले भने ‘राष्ट्रिय सभाबाट दुवै विधेयक पारित भइसकेका छन्, अब प्रतिनिधिसभाबाट पनि छिट्टै विधेयक पारित गराएर नेपाललाई युरोपेली युनियनको कालोसूचीबाट बाहिर ल्याउछौं ।’
नेपालबाट बेलायतसम्मको सिधा हवाई उडानको प्रस्ताव पनि आफूले राखेको उनले जानकारी गराएका छन् । मन्त्री आलेले सरकारी कर्मचारीलाई भ्रमण काज बिदा दिने कार्यविधिको मस्यौदा अर्थ मन्त्रालयमा पठाइएको र त्यसलाई पनि छिट्टै जारी जारी गर्ने तयारी अन्तिम चरणमा पुर्याइएको पनि उल्लेख गरेका छन् ।
उनले कोभिड–१९ को गम्भीर प्रभाव परेको पर्यटन क्षेत्रको पुनरोत्थानका काम अघि बढाउन उच्चस्तरीय समिति नै गठन गरेर काम अघि बढाउन लागिएको पनि जानकारी गराएका छन् । यस समितिमा निजी क्षेत्रका प्रतिनिधिलाई पनि समावेश गरिने उनले बताए ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा भएको भेटमा परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले कोभिड–१९ बाट अतिप्रभावित पर्यटन क्षेत्रको शीघ्र पुनरोत्थानका लागि आन्तरिक र बाह्य पर्यटन प्रवद्र्धनका लागि काम गर्नुपर्नेमा जोड दिए । उनले कोभिड १९ विरुद्धको भ्याक्सिनको पूर्ण मात्रा सबै नेपालीलाई शीघ्र उपलब्ध गराई बुस्टर डोज समेत छिटो लगाउने प्रबन्ध मिलाउन आग्रह गरेका छन् ।
अध्यक्ष अग्रवालले कोभिडका कारण शिथिल भएका व्यवसायको पुनरोत्थानका लागि सरकारले दिने घोषणा गरेको राहतका कार्यक्रम अझै कतिपय व्यवसायीले नपाएको गुनासो रहेकाले त्यसको सम्बोधनका लागि पनि आग्रह गरे । उनले बंगलादेशका लाखौँ पर्यटक नेपाल भित्र्याउने गरी दुई पक्षीय सम्झौता गरेर अघि बढ्न पनि सरकारसँग आग्रह गरेका छन् ।
भेटमा परिसंघको पर्यटन समिति सभापति पम्फा धमला, परिसंघका राष्ट्रिय परिषद सदस्य एवं प्रदेश नं १ का अध्यक्ष भीमप्रसाद घिमिरे, परिसंघ पर्यटन समितिका सदस्य हिक्मत सिंह ऐर र परिसंघका महानिर्देशक यादवप्रसाद पौड्यालको उपस्थिति थियो ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया