मौद्रिक नीति आज सार्वजनिक हुँदै, मुद्रा नियन्त्रण र अनुत्पादक क्षेत्रको कर्जामा कडाई

0
Shares

नेपाल राष्ट्र बैंकले आज शुक्रबार चालु आर्थिक वर्षको मौद्रिक नीति ल्याउँदैछ ।

साउनको सुरुवातीमै ल्याउने भनिएको मौद्रिक नीति राजनीतिक दाउपेचका कारण शुक्रबार मात्र जारी हुन लागेको हो ।

गभर्नर अधिकारीले भने मौद्रिक नीतिको सुझाव संकलनका कार्यक्रमहरुमा अर्थतन्त्रका आवश्यक अनुसारको मौद्रिक नीति ल्याउने बताउँदै आएका छन् ।

अहिलेको अर्थतन्त्र अनुसारको मौद्रिक नीति ल्याउन केन्द्रीय बैंकले मनि सप्लाई कम गर्ने नीति लिनुपर्छ । त्यसका साथै अनुत्पादक क्षेत्रको कर्जालाई नियन्त्रण गर्ने र ब्याजदर बढाएर उपभोगमा नियन्त्रण गरी मूल्य वृद्धि कन्ट्रोल गर्नुपर्नेछ । केन्द्रीय बैंकले आगामी मौद्रिक नीति मार्फत विगतमा बैंकिङ क्षेत्रलाइ दिँदै आएको सेवा सुविधामा समेत कटौति गरी कर्जा विस्तार नियन्त्रण हुने खालको नीति लिने स्पष्ट छ ।

मौद्रिक नीति कसिलो आउनेमा एडीबी पनि विश्वस्त

“मौद्रिक नीतिको सन्दर्भमा राष्ट्र बैंकको सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने अर्थ सचिव मधुकुमार मरासिनी पनि सोही समितिका लागि समय दिनुपर्ने भएकाले केही ढिला हुन गएको हो,” राष्ट्र बैंक स्रोतले भन्यो ।  मौद्रिक नीति सबै क्षेत्रले अर्थतन्त्रको अवस्था बुझेको हुनाले आवश्यकता अनुसारको आउनुपर्ने सुझाएको हुनाले पनि चालु आवका लागि कसिलो नीति अबलम्बन गरिएको छ । त्यसका लागि केन्द्रीय बैंकले मनि सप्लाइलाई नियन्त्रण गर्ने तथा अनुत्पादक क्षेत्रको कर्जा निरुत्साहित हुने गरी नीतिको तयारी पारिएको स्रोतले जानकारी दियो ।

साउनको पहिलो साताको सुरुवाती मै मौद्रिक नीति ल्याउने बताउँदै आएका गभर्नरलाई पनि राजनीतिक आलोचना र गभर्नरको राजीनामाको माग गर्दै केही समुह सडक प्रदर्शनमा उत्रिएपछि गभर्नरले नीति सार्वजनिक गर्न केही समय पर्खिएका हुन् ।

अर्थमन्त्री विवादमा परेपछि गभर्नर तर्फ पनि राजनीति आक्रमण सुरु भएपछि चालु आवको मौद्रिक नीति त्यसकै चेपुवामा पर्न पुग्यो । अर्थमन्त्रीले बजेट निमार्णका क्रममा अनाधिृत व्यक्ति सहभागी गरी करका दर परिवर्तन गरेको तथा सीसीटीभी फुटेज डिलिट गरेको अरोप लागेपछि संसदीय समितिले छानबिन सुरु गरेको थियो । सोही छानवीका कारण अर्थ सचिव मधु कुमार मरासीनीले समय निकाल्न नसक्दा साउन महिनाको पहिलो साताको सुरुवातीमा ल्याउने भनिएपनि नसकिएको नेपाल राष्ट्र बैंक स्रोतले जानकारी दियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।