दोहोरो अंकको नेप्से घट्दा कुन कम्पनीका लगानीकर्ताले कमाए, कसले गुमाए ?

0
Shares

साताको दोस्रो कारोबार दिन नेप्से दोहोरो अंकले घटेको छ । आइतबार दोहोरो अंकको सुधार आएको बजार सोमबार नै सोही अनुपातमा घटेको हो ।

दोहोरो अंकले घटेको आजको बजारमा गुराँस लघुवित्त र हिमालयन हाइड्रोपावर कम्पनीको सेयरमूल्यमा भने सकारात्मक सर्किट लागेको छ । गुराँस लघुवित्तको सेयरमूल्य १०० रुपैयाँ बढेर ११०० पुग्दा हिमालयन हाइड्रोपावरको २२.८० रुपैयाँ बढेर २५०.८० रुपैयाँ पुगेको छ ।

यसदिन नाफामा उच्च सुधार भएपछि युनिलिभिर नेपाल लिमिटेडको सेयरमूल्य ५.५९, आरबिबि म्युचुअल फण्ड १ को इकाईमूल्य ५.१९ प्रतिशतले बढेको छ । समता लघुवित्तका सेयरधनीले ४.०६ प्रतिशत, सानिमा इक्वीटी फण्ड ३.९६, मेगा म्युचुअल फण्डको इकाईमूल्य ३.७२ प्रतिशत र बिन्धबासिनी हाइड्रोपावरको सेयरमूल्य पनि ३.११ प्रतिशतले बढेको छ ।

उता आजको बजारबाट जानकी फाइनान्सका लगानीकर्ताले सर्वाधिक ४.३१ प्रतिशतले घटेको छ । एनआईसी एशिया सेलेक्ट ३० को इकाईमूल्य ३.८४, सिनर्जी पावर डेभलपमेन्ट ३.५५, एशियन लाइफ इन्स्योरन्स ३.४२, कर्णाली डेभलपमेन्ट बैंक ३.३१, माउन्टेन हाइड्रो नेपाल लिमिटेड ३.२०, र युनाइटेड मोदी हाइड्रोपावरका लगानीकर्ताले ३.१० प्रतिशतका दरले गुमाएका छन् ।

राष्ट्र बैंकले मौद्रिक नीति जारी गरेपछि समीक्षाका लागि बसेको बैंकर्स संघको आइतबारको बैठकमा कम्तिमा असोजसम्म ब्याजदर नबढाउने निर्णय गरेपछि आइतबार बजारमा १०.२७ अंकले बढेको थियो । तर सोमबार बजार पुनः १७.६८ अंकले घटेर आइतबार नेप्से बजार २१०६.१५ बिन्दुमा झरेको छ ।

सोमबारको बजारमा २१४ कम्पनीका २ अर्ब ८५ करोड ७० लाख ७२ हजार ९६१ रुपैयाँ बराबरको ६५ लाख २७ हजार ४१४ कित्ता सेयर खरिद बिक्री भएको छ । आइतबार २ अर्ब ६७ करोड ३३ लाख रुपैयाँको कारोबार भएको थियो । नेप्सेमा सूचीकृत अधिकांश कम्पनीहरुले गत आर्थिक वर्ष २०७८।७९ को वित्तीय विवरण प्रकाशित गरिसकेको अवस्थामा लगानीकर्ताहरुले प्रतिफल केन्द्रीत लगानीमा जोड दिने आंकलन गरेपनि बजारले त्यस्तो अवस्था नदेखाएको हो ।

बजार बढ्ने निश्चित नहुँदा थोरै नाफा हुने बित्तिकै सुरक्षित गर्ने अल्पकालीन लगानीकर्ताको संख्या पछिल्लो समयको बजारमा हाबी छ । धेरै साधारण लगानीकर्ता बजार घटेपछि बाहिरिसकेका छन् भने नियमित कारोबारी मात्र बजारमा सेयर खरिद बिक्रीमा संलग्न रहेका छन् । बजारमा दीर्घकालीन लगानीकर्ताहरु बजार नफर्किँदासम्म नेप्सेमा उच्च अंकको सुधार नआउने अनुभवी लगानीकर्ताहरु बताउँछन् ।

सोमबारको बजारमा कुल २१४ कम्पनीको सेयर कारोबारमा आएकोमा ६३ कम्पनीको मूल्य बढ्दा १३९ कम्पनीको घटेको छ । १२ कम्पनीको भाउ स्थिर रह्यो ।  कारोबार रकमका अधारमा सोमबार पनि शिवम सिमेन्ट नै अग्रस्थानमा रह्यो । कम्पनीको २० करोड ७१ लख ६८ हजारको सेयर करोबार भएको हो । आइतबार पनि कम्पनीको १३ करोड ८९ लाख बढीको कारोबार भएको थियो ।

यस्तै नबिल बैंकको १० करोड ८५ लाख, नागरिक लगानी कोष ८ करोड २१ लाख, नेशनल हाइड्रोपावर ७ करोड ६६ लाख र हिमालयन डिष्टिलरीको ७ करोड १८ लाखको सेयर खरिद बिक्री भएका छन् । अपि पावर, नेष्डो समृद्ध लघुवित्त, एनआईसी एशिया बैंक संस्थापक सेयर, युनिभर्सल पावर र एचआईडिसीएल शीर्ष दश कारोबार हुने कम्पनीमा समेटिएका छन् ।

सोमबारको बजारमा अन्य उपसमुहगत सूचक सर्वाधिक २.४२ प्रतिशतले ओरालो लाग्दा होटल तथा पर्यटन १.६१, लगानी १.३८, विकास बैंक १.३५, फाइनान्स १.३१, जलविद्युत् १.०४ र जीवन बीमा १.०३ प्रतिशतले घटेर पच्छाएका छन् । बैंकिङ ०.४२ प्रतिशत, ब्यापार ०.५१, माइक्रोफाइनान्स ०.३६ प्रतिशत र निर्जीवन बीमाको सबइन्डेक्स पनि ०.४३ प्रतिशतले घटेको छ । उता उत्पादन तथा प्रशोधनमुलक ०.१० प्रतिशत र म्युचुअल फण्डको उपसमुहगत सूचक ०.२७ प्रतिशतले बढेको छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।