दुई हाइड्रोपावरको सेयर आजदेखि दोस्रो बजारमा कारोबार खुल्दै, ओपनिङ्ग रेञ्ज कति ?

0
Shares

पिपुल्स पावर लिमिटेड र सयपत्री हाइड्रोपावर लिमिटेडको आज ( असोज ३० गते ) देखि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सेयर कारोबार खुल्दैछ । आज स्पेशल प्रि ओपनिङ्ग सेसनमा कारोबार भई दुबै कम्पनीको नियमित कारोबारमा आउन लागेको हो ।

स्पेशल प्रि ओपनिङ्ग सेसनमा कारोबार म्याचिङ्ग नभएको खण्डमा भने जुन दिन म्याचिङ्गसम्भव हुन्छ सोही दिनदेखि नै नियमित कारोबार सुरु हुनेछ ।असोज २७ गते बिहीबार दुबै कम्पनीको गरी कुल ९२ लाख २६ हजार कित्ता सेयर सूचीकृत भएको थियो ।

पिपुल्स पावरको सेयर कारोबारका लागि नेप्सेले पीपीएल कारोबार संकेत र सयपत्री हाइड्रपावरलाई नेप्सेले एसपीएचएल कारोबार संकेत प्रदान गरेको छ । दुबै कम्पनीको तोकिएको कारोबार संकेतमा असोज ३० गते आइतबारदेखि धितोपत्र कारोाबारमा सुरु हुन लागेको हो ।

असोज २७ गते बिहीबार सेयर सूचीकृत भएसँगै दुबै कम्पनीको धितोपत्रको दोस्रो बजारमा सेयर कारोबार खुल्ने भएको हो । पिपुल्स पावरको सेयरलाई नेप्सेले पहिलो कारोबारका लागि न्युनतम ९४.९६ रुपैयाँ देखि अधिकतम २८४.८८ रुपैयाँ ओपनिङ्ग रेन्ज प्रदान गरेको छ । यस्तै सयपत्री हाइड्रपावरलाई नेप्सेले न्युनतम ६४.९६ रुपैयाँदेखि १९४.८८ रुपैयाँसम्म ओपनिङ्ग रेन्ज प्रदान गरेको छ ।

नेप्सेका अनुसार पिपुल्स पावरको ६२ लाख २६ हजार कित्ता तथा सयपत्री हाइड्रोपावरको ३० लाख कित्ता सेयर सूचीकृत भएको हो । पिपुल्स पावरले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दालाई बिक्री गरेको ६ लाख ३२ हजार ६०० कित्ता, सर्वसाधारण सेयरधनीहरुलाई बिक्री गरिएको २४ लाख ६७ हजार ४०० कित्ता गरी ३१ लाख कित्ता र संस्थापकहरुले लगानी गरेको ३२ लाख २६ हजार कित्ता सहित कुल ६३ लाख २६ हजार कित्ता सेयर बिहीबार नेप्सेमा सूचीकृत गराएको हो ।

यस्तै सयपत्री हाइड्रपावरले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दालाई बिक्री गरेको ३ लाख कित्ता, सर्वसाधारणलाई बिक्री गरिएको ६ लाख कित्ता र संस्थापकहरुको २१ लाख कित्ता गरी कुल ३० लाख कित्ता सेयर सूचीकृत भएको हो ।

पिपुल्स पावर लिमिटेडले सर्वसाधारणलाई साउन ३१ गतेदेखि भदौ ५ गते प्रतिकित्ता १०० अंकित मूल्यका २४ लाख ६७ हजार ४०० कित्ता सेयर बिक्री गरेको थियो । सो मध्ये २२ लाख ९४ हजार ६८२ कित्ता सेयर भदौ १२ गते सर्वसाधारणमा बाँडफाँड भएको थियो । बाँडफाँडमा २ लाख २९ हजार ४६८ जनाले गोलाप्रथाबाट १० कित्ता र त्यसमध्ये २ जनाले थप १र१ कित्ता सेयर पाएका थिए । बाँकी ४९ हजार ३४८ कित्ता कम्पनीका कर्मचारीहरुका लागि र १ लाख २३ हजार ३७० कित्ता सामूहिक लगानी कोषहरुमा बाँडफाँड गरिएको थियो ।

सयपत्री हाइड्रोपावर लिमिटेडले साउन १३ गतेदेखि १७ गतेसम्म सर्वसाधारणलाई प्रतिकित्ता १०० अंकित मूल्यका ७ लाख २१ हजार ६० कित्ता सेयर बिक्री गरेको थियो । सो मध्ये ६ लाख ७० हजार ५८६ कित्ता सेयर साउन २४ गते सर्वसाधारणमा बाँडफाँड भएको थियो । बाँडफाँडमा ७६ हजार ५८ जनाले गोलाप्रथाबाट १० कित्ता र त्यसमध्ये ६ जनाले थप १र१ कित्ता सेयर पाएका थिए । बाँकी १४ हजार ४२१ कित्ता कम्पनीका कर्मचारीहरुका लागि र ३६ हजार ५३ कित्ता सामूहिक लगानी कोषहरुमा बाँडफाँड गरिएको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: ३० आश्विन २०७९, आइतबार  १० : ३४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।