त्रिशुली जलविद्युत कम्पनी लिमिटेडले सेयरधनीहरुबाट चुक्ता हुन बाँकी रकम भुक्तानी गर्न थप तीन महिना समय दिएको छ । कम्पनीले मंसिर १८ गतेदेखि फागुन १७ गतेसम्म रकम थप गर्न समय दिएको हो ।
यसरी थपिएको तीन महिना अवधिमा समेत रकम थप नभए सम्बन्धीत सेयरधनीले अग्रिम रुपमा भुक्तानी गरेको रकम र सो रकममा कम्पनीले प्रदान गरेको ब्याज रकमले खामेजति संख्याको सेयर संख्या कायम गरी सेयरधनीहरुको नाममा रहेको बाँकी सेयर भने जफत हुनेछ ।
यसरी जफत गरिएको जनताको जलविद्युत कार्यक्रम (सञ्चालन तथा व्यवस्थापन) कार्यविधिको दफा ८ ले गरेको व्यवस्था बमोजिम संस्थापक समुहले लिनेछ । त्रिशुली जलविद्युत कम्पनीमा नेपाल दूरसञ्चार कम्पनी लिमिटेड र नेपाल विद्युत प्राधिकरण रहेका छन् । कम्पनीमा दुबैकको ३०-३० प्रतिशत लगानी रहेको छ ।
त्रिशुली जलविद्युतमा कुल १ लाख ५४ हजार ५५९ जना सेयरधनी रहेका छन् । तीमध्ये ४६ हजार १७९ जनाले रकम थप गरेका छैनन् । १ लाख ८ हजार ३८० जना लगानीकर्ताले भने रकम थपिसकेका छन् ।
दश रुपैयाँ अग्रिम भुक्तानी गरेका सेयरधनीबाट भुक्तानी हुन बाँकी रकम थप गर्न कम्पनीले यसअघि २०७९ असोज ४ गतेदेखि कार्तिक ७ गतेसम्म समय दिएर आह्वान गरेको थियो । सो समयमा चुक्ता गर्न बाँकी सेयरधनीमध्ये ४६ हजार १७९ जना सर्वसाधारणबाट रकम थप नभएपछि बाँकी सेयरधनीलाई पुनः समय दिएको हो ।
यसरी थपिएको समयमारकम थप गर्ने लगानीकर्ताहरुले भने यसअघि भुक्तानी गरेका सेयरधनीले भुक्तानी गरेभन्दा रकम बुझाउने समय ३ महिनाको वार्षिक ८ प्रतिशतका दरले लाग्ने ब्याजदर रकम प्रतिसेयर थप १ रुपैयाँ ७४ पैसा बढी बुझाउनुपर्नेछ । जसअनुसार अब सेयरधनीले प्रतिसेयर ८८ रुपैयाँ ७४ पैसा भुक्तानी गर्नुपर्ने हुन्छ ।
सेयरधनीहरुले बिक्री प्रबन्धकका साथै नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागि बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ लिमिटेडबाट उपलब्ध गराइएको ‘मेरो सेयर’ सफ्टवेयरबाट समेत सेयरधनीहरुले रकम बुझाउन सक्ने बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जनाएको छ ।
यसअघि (विसं २०७९ असोज ४ गतेदेखि कार्तिक १७ गतेसम्म) रकम भुक्तानी गरेका सेयरधनीहरुबाट भने प्रतिसेयर ८७ रुपैयाँका दरले रकम माग गरिएको थियो । सो समयमा प्रतिकित्ता १० रुपैयाँका दरले रकम भुक्तानी गरेका सेयरधनीहरुलाई बाँकी रहेको ९० रुपैयाँमध्ये भुक्तानी गरेको रकमको ८ प्रतिशत (तीन रुपैयाँ) ब्याज प्रदान गरी प्रतिसेयर ८७ रुपैयाँका दरले मात्र रकम संकलन गरिएको हो ।
नेपाल सरकारको ‘जनताको जलविद्युत कार्यक्रम’ अन्तर्गत सञ्चालित त्रिशुली जलविद्युत कम्पनी लिमिटेडले २०७५ चैत ७ गतेदेखि ११ गतेसम्म साधारण सेयर निष्काशन गरेको थियो । कम्पनीले जारी पूँजी २ अर्ब ४७ करोड रुपैयाँको १५ प्रतिशतले हुन आउने ३७ करोड ५ लाख रुपैयाँ बराबरको प्रतिकित्ता १०० अंकित दरका ३७ लाख ५ हजार कित्ता सेयर निष्कासन गरेको थियो । सो समयमा निष्काशित सेयरको अंकित मूल्यको १० प्रतिशतका दरले सर्वसाधारणबाट प्रतिकित्ता १० रुपैयाँका दरले अग्रिम माग गरि उक्त सेयरको बाँडफाँड २०७५ साल चैत १४ गते गरिएको थियो ।
कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।
नुवाकोटको साविक मनकामना गाविस र रसुवाको लहरेपौवा गाविसको सीमानामा आयोजना रहेको छ । आयोजनाको कूल क्षमता ३७ मेगावाट रहेको छ भने कूल लागत निर्माण अवधिको व्याज समेत गरी कूल आठ अर्ब २२ करोड ७४ लाख रहेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया