राष्ट्र बैंकको सञ्चालक तथा सञ्चय कोषका अध्यक्ष अर्थ सचिवलाई नौतिक प्रश्न, स्वार्थ बाझिदैन ?

0
Shares

अर्थसचिव कृष्णहरि पुस्कर स्वार्थ बाझिने गरी पदिय जिम्मेबारीमा रहेका छन् । अर्थ सचिब पुस्कर नेपाल राष्ट्र बैंकको सञ्चालक समितिको सदस्य हुँदा पनि कर्मचारी सञ्चय कोषको अध्यक्ष पदमा बाहल रहेका हुन ।

नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा १४ अनुसार अर्थ मन्त्रालयको सचिव राष्ट्र बैंकको सञ्चालक समितिको सदस्य हुने व्यवस्था छ । उक्त व्यवस्था अनुसार अर्थसचिव भएपछि पुस्कर केन्द्रीय बैंकको सञ्चालकको जिम्मेबारीमा छन् । तर, उनले दुबै पदमा रहदै गर्दा हुन सक्ने स्वार्थको द्धन्द्धको विषयमा जानकार भएपनि दुबै पदमा रहेको देखिन्छ ।

कर्मचारी सञ्चय कोषले १४ बैंक/वित्तीय संस्थाको संस्थापक सेयरमा लगानी गरेको छ । कोषले लगानी गरेका बैंक वित्तीय संस्थाको नियमन निकाय राष्ट्र बैंक हो । कोषको सेयर लगानी रहेका कतिपय बैंक वित्तीय संस्थाको सञ्चालक समितिमा कोषका प्रतिनिधि रहेको अवस्था छ । यस्तो अवस्थामा अर्थसचिव पुस्करले सञ्चय कोषको सञ्चालक समितिले गरेको निर्णय पुनः नेपाल राष्ट्र बैंकको सञ्चालक समिति मार्फत निर्णय गर्दा स्वार्थ बाझिने स्पष्ट छ ।

त्यतीमात्र नभई सञ्चय कोष पनि केही समयअघि देखि नेपाल राष्ट्र बैंकको नियमन दायरामा परेको छ । राष्ट्र बैंकले गैर बैंकिङ वित्तीय संस्थालाई नियमन गर्ने गरी गैर वित्तीय संस्था सुपरिवेक्षण विभाग नै खडा गरेको छ । गैर बैकिङ वित्तीय संस्था अन्तर्गत कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, सामाजिक सुरक्षा कोष लगायतका रहेका छन । नियामकको सञ्चालक भएका अर्थसचिव पुष्ष्कर नियमन हुने संस्था सञ्चयकोषको अध्यक्ष रहेका हुन ।

यसभन्दा अघि सञ्चय कोषको अध्यक्ष रहेका तत्कालिन राजस्व सचिव शिशिर कुमार ढुङ्गानाले अर्थ सचिव हुने वित्तिकै कोष अध्यक्षको जिम्मेवारीबाट बाहिरिएका थिए । उनी अर्थसचिव नेपाल राष्ट्र बैंकको सञ्चालक हुने भएकाले केन्द्रीय बैंकले नियमन गर्ने धेरै संस्थामा कोषको लगानी भएकाले स्वार्थ बाझिने भन्दै कोष अध्यक्षको जिम्मेवारीबाट अलग भएका थिए ।

कर्मचारी सञ्चय कोषको अध्यक्ष र नेपाल राष्ट्र बैंकको सञ्चालकमा एकै व्यक्ति हुनु भनेको कानुनी भन्दा पनि नैतिक प्रश्नको विषय रहेको एक पूर्व अर्थसचिवले बताए ।

“राष्ट्र बैंकको बोर्डमा पनि बस्ने र राष्ट्र बैंकले नै नियमन गर्ने संस्थाको अध्यक्षमा बस्दा स्वार्थ बाझिन्छ” ती पुर्व अर्थसचिवले भने,“राष्ट्र बैंकले नियमन गर्ने सन्दर्भमा नै प्रश्न हुन्छ ।” स्वार्थ बाझिने अवस्था रहेको हुनाले त्यसरी दुबै पदमा नबस्दा नै उपयुक्त हुने उनको सुझाव छ ।

पछिल्लो समयमा सञ्चय कोषको सेयर लगानी रहेको बैंक अफ काठमाण्डू ग्लोबल आइएमई बैंकसँग मर्जरको प्रक्रियामा छन् । सो मर्जरका लागि दुबै संस्थाको संयुक्त डीडीए गर्ने क्रममा महालेखाले उठाएको सेयर प्रिमियमबाट लाभांश वितरण गर्दा र मर्जरबाट भएको लाभबाट अर्बौ कर छली भएको विषयलाई उल्लेख नै गरिएको छैन ।

उक्त विषयमा सञ्चय कोषको सञ्चालक समितिले महालेखाले अब्जेक्सन गरेको विषयलाई सम्बोधन नहुँदा पनि मर्जरमा अघि बढाउने निर्णय गरेको छ । अर्थसचिव पुष्करले कोषको तर्फबाट स्वीकृत गरेको उक्त डीडीए प्रतिवेदन नेपाल राष्ट्र बैंकको सञ्चालक समितिले पनि स्वीकृत गर्नुपर्ने हुन्छ । सो प्रक्रियामा पनि अर्थसचिव पुस्कर सहभागि हुने भएपछि त्यो विषयमा उनले फरक मत राख्ने भन्दा पनि आफुले कोषमा गरेको निर्णयलाई नै सदर गर्ने गरी काम गर्ने अवस्था रहन्छ ।

त्यसका साथै उक्त डीडीए कर्ता चार्टर्ड एकाउन्टेन्टस् सुदर्शन राज पाण्डे राष्ट्र बैंकको लेखापरिक्षण गर्ने बंगलादेशी फर्मको नेपाल प्रतिनिधि भएर गत आर्थिक वर्षको लेखापरिक्षण गरेका छन् । त्यसैगरी यो वर्ष पनि राष्ट्र बैंकको लेखापरीक्षण उनले नै गर्नेछन् । उनले राष्ट्र बैंकको लेखापरीक्षणमा महालेखाले औंल्याएको बैंक वित्तीय संस्थाबाट भएको करछलीको विषयमा केन्द्रीय बैंक व्यवस्थापनलाई पत्रमार्फत उठाएका छन् । तर, पाण्डेले डीडीए गर्दा ग्लोबल आइएमई बैंकको मर्जर लाभको करको विषयलाई असर नगर्ने भन्दै वेवास्ता गरेका छन् ।

यसरी बैंक अफ काठमाण्डूमा कर्मचारी सञ्चय कोषको लगानी र कोष अध्यक्ष अर्थ सचिव पुस्कर राष्ट्र बैंकको सञ्चालक रहेका छन् । त्यसैगरी राष्ट्र बैंकका लेखापरीक्षक पाण्डे बैंक अफ काठमाण्डु र ग्लोबल आइएमई बैंकको मर्जर प्रयोजनको संयुक्त डीडीए गर्ने व्यक्ति हुन् । यसले गर्दा ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूको मर्जर निर्णयमा स्वार्थ बाझिने व्यक्तिहरुको हालीमुहाली स्पष्ट हुन आउँछ । यस सन्दर्भमा नेपाल राष्ट्र बैंकले आगामी दिनमा गर्ने निर्णयमा विषेश ध्यान दिनुपर्ने देखिन्छ ।

ग्लोबल आइएमइ बैंकको डीडीएमा मर्जरबाट भएको लाभ बापतको कर दायित्व देखाइएन

ग्लोबल आइएमई र बैंक अफ काठमाण्डूको संयुक्त डीडीएकर्ता पाण्डेले गरे स्वार्थ बाझिने गरी काम

डीडीएमा कर दायित्व नदेखाए पनि बिओके र ग्लोबल आइएमईको मर्जरमा सहमत होला सञ्चय कोष ?

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।