चालु पूँजी कर्जाको सीमा २०% कायम गर्ने राष्ट्र बैंकको प्रस्तावमा व्यवसायीहरु असन्तुष्ट

0
Shares

नेपाल राष्ट्र बैंकले तयार गरेको चालु पूँजी कर्जाको मस्यौदा प्रति व्यवसायीहरु असन्तुष्ट देखिएका छन् ।

व्यवसायीहरुले चालु पूँजीकर्जाको सीमा २० प्रतिशत राख्नु नै व्यावहारिक नभएको बताएका हुन् ।

नेपाल राष्ट्र बैंकले सुझावका लागि सार्वजानी गरेको चालु पूँजी कर्जा सम्बन्धी कार्याविधिको मस्यौदा लागू गर्दा व्यहारिक हुने गरी गर्न समेत सुझाएका छन् । मस्यौदामा उल्लेख गरिउको व्यवस्थाले उत्पादनमुलक उद्योगहरुका लागी व्यवहारिक नभएको समेत उनीहरुको भनाइ छ ।

चालु पूँजी कर्जा लिने भनेको हिजोको व्यवसायका आधारमा भन्दा पनि आजको मागको आधारमा हुनु पर्ने एक व्यवसायीले बताए । “उत्पादनमुलक उद्योगलाई चालु पूँजी कर्जामा नियन्त्रण गर्दा कामै गर्न नसक्ने अवस्था उत्पन्न भई उत्पादनमुलक उद्योगहरु कसरी धारासायी हुन्छन्,” ती व्यवसायीले भने,“यस्तो कर्जालाई नियन्त्रण गरेको खण्डमा उद्योग व्यवसाय नै धरापमा पर्न सक्ने अवस्था आउँछ ।”

नेपाल राष्ट्र बैंकले ल्याएको कार्याविधिको मस्यौदामा अधिकांश व्यवसायीको धारण एक भएपनि संस्थागत रुपमा आवाज भने उठेको थिएन । नेपाल राष्ट्र बैंकले पनि मस्यौदा तयार गरी सुझाव संकलनको क्रममा नै छ । त्यसैले पनि उद्योगी व्यवसायीहरुले आवाज नउठाएको हुनसक्छ । नेपाल राष्ट्र बैंकको चालु पूँजी कर्जाको मस्यौदामा बैंकहरु समेत असन्तुष्ट देखिएका छन् । उनीहरु पनि उद्योग व्यवसायलाई नकारात्मक असर गर्ने बताउँछन् । उद्योगको प्रकृति अनुसार दिनुपर्ने कर्जामा सीमा लगाउँदा धेरै उद्योगलाई असर गर्ने बैंकहरुको बुझाई छ ।

सोही विषयलाइ उद्योग संगठन मोरङले भने संस्थागत रुपमा नै असहमति जनाएको छ । चालु पूँजी कर्जाको सीमा वार्षिक कारोबारको २० प्रतिशतसम्म मात्र भएको खण्डमा उत्पादनमुलक उद्योगहरु बन्द हुने अवस्था आउने संगठनका अध्यक्ष सुयश प्याकुरेलले बताए ।

फर्म, संस्था वा कम्पनीलाई बैंक तथा वित्तिय संस्थाबाट प्रवाह चालू पूँजी कर्जाको सीमा निर्धारण गर्दा वार्षिक अनुमानित कारोबार ̷ बिक्रीको अधिकतम २० प्रतिशत मात्र चालू पूँजी कर्जा सीमा कायम गर्ने व्यवस्था मस्यौदामा रहेको छ । राष्ट्र बैंकले अनुत्पादक क्षेत्रमा भएको कर्जा प्रवाहलाई नियन्त्रण गर्न खोजेको भएपनि चालु पूँजी माथीको नियन्त्रणले उत्पादनमुलक उद्योगहरु उठ्नै नसक्ने अध्यक्ष प्याकुरेलको बुझाई छ ।

वर्षमा एकपटक सिजनमा वर्षभरिलाई चाहिने कच्चा पदार्थ खरिद गरि भण्डारण गरि राख्ने प्रकृतिका उद्योगहरुलाई एकै पटक चालु पूँजीको आवश्यकता पर्ने बताउँदै प्याकुरेलले भने, “त्यस्ता उद्योगहरुले २० प्रतिशतको कर्जा सीमा भएमा बन्द गर्नुपर्ने अवस्था आउँछ ।” कच्चा पदार्थ आयात गर्ने उद्योगहरुको हकमा कच्चा पदार्थ आयातका लागी प्रतितपत्र खोल्ने देखि कच्चा पदार्थ उद्योगसम्म आइपुग्दा करिब ३ महिना लाग्ने तथा बजारबाट पैसा आउन करिब ६ महिना लाग्ने अवस्थामा चालू पूँजीको कर्जाको सीमाले उद्योग बन्द गर्नुको विकल्प नरहने उनको भनाइ छ ।

त्यसैगरी चालु पूँजीको कर्जाको सीमा निर्धारणका लागी सम्बन्धीत कम्पनीको कुन आर्थिक वर्षको कारोबारलाई आधार मानिने हो स्पष्ट नभएको उनले बताए । अघिल्लो आर्थिक बर्षमा कच्चा पदार्थ मूल्य चालु आर्थिक वर्षमा अप्रत्यासित रुपमा वृद्दि हुँदा चालु पूँजीको वास्तविक आवश्यक परेको चालू पूँजीको अभाव हुन गई उद्योग सञ्चालनमा कठिनाई उत्पन्न संगठनले जनाएको छ ।

चालु पूँजी कर्जा सीमा निर्धारण तथा अनुगमन कार्यको र उपयोगलाई पारदर्शी बनाउनुपर्छ । अनुत्पादन क्षेत्रमा हुने वा हुनसक्ने पूँजी पलायनलाई सुक्ष्म निगरानीमा राख्नु समेत उत्तिकै जरुरी रहेको देखिन्छ । तर, सबै उत्पादनमुलक उद्योग व्यवसायहरुको हकमा चालु पूँजी कर्जाको सीमा राख्न नहुने संगठनको सुझाव छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २६ पुस २०७८, सोमबार  १८ : ५८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।