आगामी तीन वर्ष भित्र मझगाँउ विमानस्थल सञ्चालनमा आउँछ : पर्यटन मन्त्री आले


संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले पर्यटकीय दृष्टिकोणले पनि मझगाउँ विमानस्थल सञ्चालनमा आउनुपर्ने बताउएका छन् । करिब २६ वर्ष देखि बन्द रहेको विमान स्थल स्तरोन्नती गर्न बुधबार शिलान्यास गदै उनले आगामी तीन वर्ष भित्र सञ्चालन गर्ने गरी काम गरिने बताएका हनु ।

कञ्चनपुरको महेन्द्रनगर स्थित मझगाउँ विमानस्थल शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको छेउमा रहेको रहेको छ । यो विमानस्थल सञ्चालनमा आउन सके भारतलगायत अन्यत्र मुलुकबाट पनि पर्यटकलाई यहाँ आउन सहज हुने उनले बताए ।

दुई दशक भन्दा बढी समयदेखि सञ्चालनमा आउन नसकेको विमानस्थलको क्षेत्रफल विस्तार समेत गरिने उनको भनाइ छ । “२०३० देखि ०५६ सालसम्म सञ्चालनमा आएको विमानस्थल त्यसपछि बन्द रहेछ, ” उनले भने,“आगामी तीन वर्षभित्र निर्माण सक्ने गरी ठेक्का दिइएको छ ।”

उनले धनगढीको विमानस्थल अन्तर्राष्ट्रिय विमानस्थल बनाउने आश्वासन विगतमा दिए पनि आफू मन्त्री भएपछि त्यसका लागि एक अर्ब रुपैयाँ बजेट विनियोजन गरेर काम अघि बढेको जानकारी दिए । “राजमार्गदेखि मझगाउँ विमान स्थलसम्मको सडक चार लेनको बनाउन डिजाइन गर्न पनि भनिसकेको छु ।” उनले भने,“त्यसका लागि यहाँबाट गएर छलफल गरेर बजेट विनियोजन गर्छु ।”

विमानस्थल स्तरोन्नतिमा यहाँका पालिका र प्रदेश सरकारले पनि आवश्यक समन्वय र सहयोग गर्नुपर्नेमा उनको जोड थियो । ४५ करोड ६६ लाख बजेट रहेको उक्त निर्माण कार्यको जिम्मेवारी कान्छाराम केस जेभीले पाएको छ ।

विमानस्थलमा एक हजार ५०० मिटरको रनवे, टर्मिनल भवन र ट्याक्सी स्ट्याण्डलगायतका संरचना निमार्ण हुनेछन् । शिलान्यास कार्यक्रममा मन्त्री आलेसँगै सुदूरपश्चिम प्रदेशका मन्त्री, प्रतिनिधिसभा सदस्य, पूर्वमन्त्री, स्थानीय तहका नगरप्रमुख लगायतको सहभागिता रहेको थियो ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।