संघीय र प्रदेश सरकारका पूर्व मन्त्रीहरुसँग नाका नजिकको अस्थायी पुल सञ्चालन गराउन मोरङ व्यापार संघको आग्रह


मोरङ व्यापार संघले विराटनगर नाका जोड्ने भारतको बथनाहा–जोगबनी खण्डको मीरगञ्ज पुलको विकल्पमा संघको पहलमा निर्मित नयाँ पुलको अस्थायी संचालनका लागि भारतका सम्बन्धित निकायहरुमा पहल गरिदिन आग्रह गरेको छ ।

मोरंग व्यापार संघका अध्यक्ष नवीन रिजालले पूर्व अर्थमन्त्री विष्णु पौडेलसँगको भेटमा यस्तो आग्रह गर्दै ज्ञापन पत्र बुझाएका हुन् ।

रिजालसँगको भेटका क्रममा पूर्व अर्थ मन्त्री विष्णु पौडेलले नेपालका लागि भारतीय राजदूतसँग कुराकानी गरी तत्कालिन रुपमा समस्या समाधानका उपाय बारे छलफल गरेको संघद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । प्रतिउत्तरमा भारतीय राजदूतले सो अवस्था बारे आफू पनि जानकार रहेको र समस्या निराकरणका लागि आफू सकारात्मक रहेको बताउँदै समाधानका लागि दर्शाइएका तत्कालिक कदमहरु शिघ्रताका साथ अघि बढाइने आश्वासन दिएको संघले जनाएको छ ।

संघका अध्यक्ष रिजालले पौडेलसहित प्रदेश नं. १ का पूर्व सामाजिक विकास मन्त्री जीवन घिमिरे समक्ष क्षतिग्रस्त मीरगञ्ज पुलले अवरुद्ध हुन पुगेको विराटनगर नाका र त्यसको विकल्पमा प्रयोग गरिएको भीमनगर–भन्टाबारी नाकाका कारण मोरङ–सुनसरी आर्थिक कोरिडोरका औद्योगिक/व्यवसायिक प्रतिष्ठानहरुलाई पर्न गएको नकारात्मक प्रभावका सम्बन्धमा जानकारी गराएका छन् ।

यस्ता समस्याको शीघ्र समाधानार्थ हाल नयाँ पुललाई अस्थायी रुपमा सञ्चालनमा ल्याउन सकिने भन्दै संघका अध्यक्ष रिजालले सोका लागि भारतका सम्बन्धित निकायमा जोडदार पहल गरिदिन अनुरोध गरेका छन् ।

संघका अध्यक्ष रिजालले पूर्व परराष्ट्रमन्त्री प्रदिप कुमार ज्ञवालीसँग समेत भेटघाट गरी उद्योगी/व्यवसायीहरुको विद्यमान समस्याहरु बारे जानकारी गराएका थिए । संघका अध्यक्ष नवीन रिजाल सहित पूर्व अध्यक्ष पवन कुमार सारडा, वरिष्ठ उपाध्यक्ष अनुपम राठी र कार्यकारिणी सदस्य सुशिल सुरानाले सामुहकि रुपमा भेटघाट गरेका हुन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।