बलेफी हाइड्रोपावरको आईपीओमा २३.१६ करोडको आवेदन, १० हजार ८०० ले भरे

0
Shares

बलेफी हाइड्रोपावर लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) मा फागनु २३ गते सोमबार बेलुका साँझ ६ बजेसम्ममा २३ करोड १६ लाख ५५ हजार रुपैयाँ बराबरको सेयर खरीदका लागि माग आवेदन परेको छ ।

सोमबार बेलुकासम्ममा २३ लाख १६ हजार ५५० कित्ता सेयर खरीदका लागि आवेदन परेको हो । जुन स्थानीय बासिन्दाका लागि जारी सेयरको १२६.७३ प्रतिशत हो । कम्पनीले सिन्धुपाल्चोकका आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि गत माघ २७ गतेदेखि १८ लाख २७ हजार ९७० कित्ता आईपीओ जारी गरेको हो ।

ग्लोबल आईएमई क्यापिटल लिमिटेडका अनुसार सोमबार साँझसम्म १० हजार ८२२ वटा आवेदन मार्फत २३ लाख १६ हजार ५५० कित्ता सेयर सेयरको आवेदन परेको हो । जसमध्ये आयोजनाबाट अति प्रभावित ४ हजार १८७ बासिन्दाबाट सि आश्वा तथा भौतिक दुबै मार्फत कुल १२ लाख ४९ हजार ४३० कित्ता र आयोजना निर्माणाधीन जिल्लाका अन्य गाविसका बासिन्दाहरुबाट ६ हजार ६३५ जिल्लाबासीहरुबाट १० लाख ६७ हजार १२० कित्ता सेयर खरीदको माग परेको हो ।

कम्पनीले जारी पूँजी १ अर्ब ८२ करोड ७९ लाख ७० हजार रुपैयाँको १० प्रतिशतले हुन आउने १८ करोड २७ लाख ९७ हजार रुपैयाँ बराबरको १८ लाख २७ हजार ९७० कित्ता आईपीओ आयोजना प्रभावितका लागि निष्कासन गरेको हो ।   कुल निष्कासित कित्तामध्ये वातावरण मूल्याङ्कन प्रतिवेदन बमोजिम सिन्धुपाल्चोको आयोजना प्रभावित क्षेत्रहरु क्रमशः जुगल गाउँपालिकाका वडा नम्बर २, ३ र ४ का लागि ६० प्रतिशत अर्थात १० लाख ९६ हजार ७८२ कित्ता र आयोजनाको १३२ केभी प्रसारण लाइनबाट प्रभावित क्षेत्रहरु क्रमशः जुगल गाउँपालिकाका वडा नम्बर ५ र ७, बलेफी गाउँपालिका १, ३, ६ र ७ तथा सुनकोशी गाउँपालिकाका वडा नम्बर ७ का बासिन्दाका लागि ४० प्रतिशत अर्थात ७ लाख ३१ हजार १८८ कित्ता छुट्याइएको छ ।

आयोजना प्रभावित क्षेत्रका बासिन्दाले यो आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिनसक्ने व्यवस्था छ ।
स्थानीय बासिन्दाले आईपीओमा सिन्धुपाल्चोकस्थित कुमारी बैंक (जलविरे शाखा), एनसीसी बैंक (ढाँडे शाखा), ग्लोबल आईएमई बैंक (चौतारा शाखा), लक्ष्मी बैंक (चौतारा शाखा) र लक्ष्मी बैंक (खाँडीचौर शाखा) बाट आवेदन दिन सकिनेछ । आईपीओमा फागुन २७ गते बैंकिङ समयसम्म आवेदन दिन सकिनेछ ।

कम्पनीले आयोजना प्रभावितलाई आईपीओ बिक्री गरेपछि दोस्रो चरणमा सर्वसाधारणका लागि जारी पूँजी १ अर्ब ८२ करोड ७९ लाख ७० हजार रुपैयाँको १० प्रतिशतले हुन आउने १८ करोड २७ लाख ९७ हजार रुपैयाँ बराबरकै आईपीओ जारी गर्नेछ ।

कम्पनीले नेपाल धितोपत्र बोर्डबाट गत माघ ९ गते यो आईपीओ निष्कासनको अनुमति पाएको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २३ फाल्गुन २०७८, सोमबार  १८ : ३९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।