आइस्पान अध्यक्ष भन्छन् – सञ्चारमन्त्रीको आश्वासन अनुसार बक्यौता भुक्तानी भए इन्टरनेट काटिँदैन


इन्टरनेट सेवाप्रदायकहरुको छाता संस्था इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आईस्पान) का अध्यक्ष सुधीर पराजुलीले भारतीय कम्पनीहरुलाई तिर्नु पर्ने बक्यौता भुक्तानीका लागि सरकारले सहजीकरण गर्ने आश्वासन दिएको बताएका छन् । सोमबार साँझ सञ्चार सूचना तथा प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीसँग संघका दपाधिकारीले भेटेर समस्याका सम्बन्धमा अवगत गराएसँगै सञ्चारमन्त्री कार्कीले बक्यौता भुक्तानीमा सरकारले सहजीकरण गर्ने आश्वासन दिएको पराजुलीले नोटबजारलाई बताए ।

सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले अत्यावश्यकीय सेवा इन्टरनेट र टेलिभिजनको सेवा प्रवाह कुनै पनि हालतमा अबरुद्ध हुन नहुने भन्दै संघका पदाधिकारीलाई बक्यौता भुक्तानीमा सहजीकरण गर्ने आश्वासन दिएको पराजुलीले बताए । उनका अनुसार नेपाली सेवाप्रदायकहरुले सम्झौता अनुसार भारतीय रुपैंया तथा डलरमा व्याण्डविथको भुक्तानी गर्दै आएका छन् ।

सरकारले सेवाप्रदायकहरुलाई डलर तथा भारतीय रुपैंयामा गरेर झण्डै साढे ३ अर्ब रुपैंया भुक्तानी गर्ने व्यवस्था गरिदिने आश्वासन कार्कीले दिएका हुन् । “सेवा कुनै पनि हालतमा अबरुद्ध हुनु भएन, त्यसमा तपाई हरुले काम गर्नुस्, सरकारको तर्फबाट गर्नु पर्ने काम सरकारले गर्छ, इन्टरनेट काटिने अवस्था आउन दिँदैनौं भनेर मन्त्रीज्युले ढुक्क हुन आग्रह भयो” संघका अध्यक्ष पराजुलीले भने ।

पराजुलीका अनुसार सेवाप्रदायकहरुले विभिन्न भारतीय कम्पनीलाई मासिक ४० देखि ४५ करोड रुपैंया भुक्तानी गर्दै आएका छन् । पछिल्लो ८ महिना यता त्यस्तो रकम भुक्तानी हुन नसके पछि भारतीय कम्पनीहरुले भुक्तानीका लागि दवाब दिँदै सेवा बन्द गर्ने चेतावनी दिइरहेका छन् । “अवस्था आफ्नो नियन्त्रणभन्दा बाहिर गएका कारण आगामी सातादेखि इन्टरनेट अवरुद्ध हुन सक्नेतर्फ हामीले ध्यानाकर्षण गराएर समस्या समाधानको पहल मात्र गरेका हौं” पराजुलीले भने ।

सञ्चारमन्त्री कार्कीलाई बेरुजुका सम्बन्धमा वास्तविकता अवगत गराएको बताउँदै पराजुलीले महालेखासँग मन्त्रालयले आवश्यक समन्वय गरी बक्यौताको मुद्धा मिलाइदिन आग्रह गरिएको जानकारी दिए ।

लेखा समितिले समेत सेवाप्रदायकहरुको बेरुजु नराख्न निर्णय गरिसकेको अवस्थामा समन्वयका लागि गरिएको आग्रहमा सञ्चारमन्त्री कार्की सकरात्मक रहेको पनि पराजुलीले बताए ।

गत शनिबार (आईस्पान) ले विज्ञप्ति जारी गर्दै भुक्तानी नभएका कारण आगामी सातादेखि इन्टरनेट तथा टेलिभिजन सेवा बन्द हुन सक्ने चेतावनी दिएको थियो । व्याण्डविथ खरिद गरेको रकम भुक्तानीमा सरकारले सहयोग नगरेको भन्दै (आईस्पान) ले यस्तो चेतावनी दिएको थियो ।

पछिल्लो ६ महिनादेखि इन्टरनेट सेवा प्रदायक र सरकारबीच बेरुजुको विषयमा बढिरहेको विवादका कारण इन्टरनेट सेवाप्रदायकहरुले भारतीय अपलिंक सेवा प्रदायक कम्पनीहरुलाई व्याण्डविथ खरिद वापतको रकम भुक्तान गर्न सकिरहेका छैनन् ।

महालेखा परीक्षकको कार्यालयले वार्षिक प्रतिवेदनमा देखाएको सञ्चार सेवासँग जोडिएको बेरुजु चुक्ता नगरेसम्म विदेशी मुद्रा सटहीमा सहजीकरण नगर्ने अडान मन्त्रालयले लिँदै आएको छ । इन्टरनेट सेवा प्रदायकहरुले भने इन्टरनेटमा उठाइने दुई शुल्कमध्ये मर्मत सम्भार शुल्कमा रोयल्टी, आरडीटीएफ, टीएससी नलाग्ने निर्णय भए अनुसार सेवाप्रदायकले शुल्क तिर्न नसक्ने बताउँदै आएको छ । यही विषयमा महालेखाले सञ्चार मन्त्रालयको नाममा १ अर्ब २२ करोड २४ लाख रुपैयाँ बेरुजु रहेको भन्दै असुल गर्न भनेको थियो । आर्थिक वर्ष २०७६/७७ को प्रतिवेदनमा पनि महालेखाले यस्तो शिर्षकमा १ अर्ब २९ करोड १ लाख रुपैयाँ बेरुजु रहेको भन्दै असुल गर्नुपर्ने उल्लेख गरेको थियो ।

मर्मतसम्भारमा कर नलाग्ने भन्दै सेवाप्रदायकहरुले भने यस्तो शीर्षकमा अर्बौं रुपैंया तिर्न नसक्ने बताउँदै आएका छन् । 

व्याण्डविथ खरिदको भुक्तानी रोकिँदा आगामी साताबाट देशभर इन्टरनेट बन्द हुन सक्ने

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।