मतदातालाई रकम बाँड्ने क्रममा मोरङको कानेपोखरीमा झडप


मोरङको कानेपोखरीमा गाउँपालिकामा नेकपा एमाले र नेपाली काङ्ग्रेस कार्यकर्ताबीच झडप भएको छ । बुधबार राति साढे १० बजे कानेपोखरी गाउँपालिका २ दलेली बजार नजिकै दुई पक्षबीच झडप भएको हो । झडपमा युवासंघ मोरङका अध्यक्ष नवीन पौडेल घाइते भएका छन् ।

प्रहरी स्रोतका अनुसार दुवै समूह मध्यरातमा मतदातालाई प्रभावित पार्नका लागि दलेली बजार नजिक रहेको विपन्न बस्ती पुगेका थिए । दुई समूहबीच जम्काभेट भएपछि झडप भएको हो । झडपमा घाइते भएका पौडेलको टाउकोमा चोट छ । इलाका प्रहरी कार्यालय पथरीबाट पुगेको प्रहरी टोलीले घटना स्थलबाट एउटा मोटरसाइकल बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक शान्तिराज कोइरालाले घटनाको अनुसन्धान भइरहेको जानकारी दिएका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।