कफि गफले जुराएको ३ बीमा कम्पनीको मर्जरले २० व्यवसायिक घराना एकै ठाउँमा


प्राइम लाइफ, गुँरास लाइफ र युनियन लाइफ इन्स्योरेन्स कम्पनी एक हुने भएका छन् । तीन जीवन बीमा कम्पनी विचको एतिहासीक र पहिलो मर्जरले विभिन्न क्षेत्रमा लगानी गर्दै आएका २० भन्दा धेरै व्यसायिक घरानालाई एक ठाँउमा ल्याएको छ ।

यसरी जीवन बीमा व्यवसायका लागि एक हुने मूख्य ठुला व्यवसायकि समुह मध्ये एमभी दुगड, टिएम दुगड, तातेड समुह, जगदम्बा, शिवशक्ति, गोल्छा, लक्ष्मी, ‘हाउस आफ राज खेतान’, राजेश हार्डवेयर तथा अग्रवाल समुह भैरहवा लगायतका व्यवसायीक घराना रहेका छन् । यो समुहले जीवन बीमा व्यवसायमा एक भएर काम गर्ने प्रतिवद्धता जनाउदै बिहीबार तीन कम्पनीलाई एक बनाउने प्रारम्भिक सम्झौता पनि गरिसकेको छ ।

कम्पनी अनुसार हेर्दा पनि खोतान समुहको लगानी प्राइम लाइफ इन्स्योरेन्समा रहेको छ भने गुँरास लाइफमा दुगड समुहको लगानी छ । त्यसैगरी यूनियन लाइफमा गोल्छा तथा अग्रवाल समुहको लगानी छ । त्यसैगरी यी ती कम्पनीमा अन्य १७ ठुला व्यवसायिक घरानाको लगानी रहेको ग्रुप आफ राज खोतान समुहका अध्यक्ष राजेन्द्र खेतानले बताए ।

एभरेष्ट इन्स्योरेन्स र हिमालयन जनरल इन्स्योरेन्स कम्पनी एक आपसमा मर्जरमा जाने सहमती पछि तीन जीवन बीमा कम्पनीका अधिकारी बिच भएको कफि गफबाट सुरु भएको २० व्यवसायीक समुह एक हुने प्रक्रिया बिहीबारको प्रारम्भिक सम्झौताले स्पष्ट पारेको खेतानले बताए । दुई निर्जीवन बीमा कम्पनीको मर्जरमा महत्वपुर्ण भूमिका खेलेका राजेन्द्र खेतान आफ्ना साथीहरु विवेक दुगड र सुलभ अग्रवालसँग राजधानीमा कफी गफमा जुटेका थिए । त्यस दौरान कुरै कुरामा उनीहरुले खेतानसँग एभरेष्ट इन्स्योरेन्स र हिमालयन जनरल इन्स्योरेन्सको मर्जरका सम्बन्धमा राखेको जिज्ञासाले नै तीन कम्पनीको मर्जरको अवधारणा सुरु भएको खेतानले बताए ।

“कम्पनीको अध्यक्ष तथा प्रमूख कार्यकारी को हुने भन्ने सन्दर्भमा कसेको पनि स्वर्थ नभएका कारण यो सम्झौता सम्भव भएको हो,” उनले भने, “मर्जरका कम्पनी स्वाप अनुपात भने ड्यू डेलीजेन्स अडिट रिपोर्टमा जे आउस सोही अनुसार निर्धारण हुनेछ भन्ने पनि सहमती भएको छ ।”

ती कम्पनी एक हुँदा लगानीकर्ताको सञ्चालक तथा प्रमूख कार्यकारी अधिकृत कसलाई बनाउने भन्दा पनि कम्पनीलाई ठुलो बनाएर खर्च घटाउने तथा व्यवसाय बढाउने योजना अनुसार यो सम्भव भएको खेतानको भनाई छ । “३ कम्पनी मर्जर भए पछि हाल रहेका कर्मचारी संख्यामा करिब २० प्रतिशत कटौती हुन्छ,” उनले भने, “शाखाहरु व्यवस्थापनमा सजिलो, शाखा संख्या बढ्ने तथा खर्च घट्ने भएकाले कम्पनीको आम्दानीमा वृद्धि हुँदा लगानीकर्ताले अपेक्षा गरे अनुसारको प्रतिफल पाउन पनि सम्भव हुन्छ ।”

मर्जरमा गएका तीन कम्पनी मध्ये सबैभन्दा धेरै चुक्ता पुँजी प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको छ । चालु आर्थिक वर्षको चैतसम्ममा कम्पनीको चुक्ता पुँजी २ अर्ब ७७ करोड ९६ लाख रुपैयाँ छ । त्यसैगरी युनियन लाइफ इन्स्योरेन्स कम्पनीको चुक्ता पुँजी २ अर्ब १५ करोड रहेको छ भने गुँरास लाइफको २ अर्ब ८ करोड रुपैयाँ छ । यी तीनै कम्पनीको मर्जरमा स्वाप रेसिया एक बरावर एक कायम भएको खण्डमा नयाँ कम्पनीका चुक्ता पुँजी ७ अर्ब एक करोड ३८ लाख रुपैयाँ कायम हुनेछ । बीमा समितिको नयाँ व्यवस्था अनुसार जीवन बीमा कम्पनीले चुक्ता पुँजी ५ अर्ब रुपैयाँ हुनु पर्नेछ ।

त्यसैगरी प्रति सेयर नेटवर्थका आधारमा सबैभन्दा बलियो युनियन लाइफ इन्स्योरेन्स देखिन्छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण अनुसार कम्पनीको प्रति सेयर नेटवर्थ १५०.८२ रुपैयाँ रहेको छ । त्यस्तै गुरास लाइफको प्रति सेयर नेटवर्थ १२६.३१ रुपैयाँ रहेको छ भने प्राइम लाइफको ११८.१९ पैसा रहेको छ ।

मर्जर सम्झौता गरेका तीन कम्पनी मध्ये युनियन लाइफको सञ्चिति सबैभन्दा धेरै रहेको छ । चालु आर्थिक वर्षको चैतसम्ममा युनीयनको सञ्चिति एक अर्ब ९ करोड २७ लाख रुपैयाँ रहेको छ । त्यसैगरी गुँरास लाइफको ५४ करोड ८२ लाख र प्राइम लाइफको ५० करोड ५४ लाख रुपैयाँ सञ्चिति रहेको छ ।

चालु आर्थिक वर्षको चैतसम्ममा मर्जरमा गएका जीवन बीमा कम्पनी मध्ये युनियान लाइफले करिब ६ अर्ब खुद जीमा शुल्क संकलन गरेको छ । मर्जरमा रहेको दोस्रो कम्पनी प्र्राइम लाइफको झण्डै साढे ३ अर्ब रुपैयाँ खुद बीमा शुल्क संकलन गरेको छ भने गुँरास लाइफको २ अर्ब ३५ करोड रुपैयाँ छ ।

चालु आवको चैसम्ममा प्राइम लाइफ इन्स्योरेन्सले १८ करोड ९५ लाख रुपैयाँ खुद नाफा गरेको छ भने गुँरास लाइफले १३ करोड १६ लाख रुपैयाँ नाफा गरेको छ । त्यसैगरी युनियन लाइफले सो अवधिमा करिब २ करोड ७५ लाख रुपैयाँ खुद नाफा गरेको छ ।

गत आर्थिक वर्षको असार मसान्त र चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा मर्जरमा गएका तीन कम्पनीको वित्तीय अवस्था यस्तो देखिन्छ ।

तीन जीवन बीमा कम्पनीका बिचमा भयो मर्जर सम्झौता