उड्डयन प्राधिकरणको निर्णय: मौसम सफा नभई आन्तरिक उडान अनुमति नदिने

0
Shares

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले मौसम सफा नभई आन्तरिक उडानका लागि अनुमति नदिने भएको छ ।

तारा एअरको विमान दुर्घटना भएसँगै हवाई दुर्घटनाको जोखिम न्यूनीकरणका लागि प्राधिकरणले इन रुट अर्थात् विमान उड्ने र पुग्ने स्थान उडान मार्गको मौसम अनुकूल नभएसम्म उडान अनुमति नदिने निर्णय गरेको हो ।

मौसम खराबीले तारा एयरको ट्वीनअटर विमान दुर्घटनामा परेको प्राधिकरणले प्रारम्भिक निष्कर्ष निकालेको थियो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक एवं प्रवक्ता देवचन्द्रलाल कर्णले इनरुटको मौसम सफा नभएको अवस्थामा उडानको अनुमति नदिने निर्णय गरिएको जानकारी दिए ।

उनका अनुसार यस्तो निर्णय भिएफआर (भिजुअल फ्लाइट रुल्स) बाट उडान गर्ने विमान र विमानस्थलका लागि मात्रै लागू हुनेछ ।

पहिले विमान उड्ने विमानस्थल र विमान पुग्ने विमानस्थलको मौसम सफा भएमा प्राधिकरणले उडान अनुमति दिने गरेकोमा अब इनरुट मौसम पनि सफा हुनुपर्ने निर्णय गरिएको र यसले यसले हवाई दुर्घटना कम गर्न मद्दत गर्ने विश्वास लिइएको छ ।

हवाई उडानलाई सुरक्षित र भरपर्दो बनाउन माग

सांसदहरुले मुलुकको हवाई उडानलाई सुरक्षित र भरपर्दो बनाउन माग गरेका छन् ।

राष्ट्रिय सभाको आजको बैठकमा आर्थिक वर्ष २०७९/८० को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि सुरु भएको सैद्धान्तिक छलफलमा सहभागी हुँदै सांसदहरुले हवाई सेवालाई गुणस्तरीय बनाउन सरोकारवाला निकायले विशेष ध्यान दिन जरुरी भएको उल्लेख गरे ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सांसद उर्मिला अर्यालले मुलुकभित्र बढ्दो हवाई दुर्घटना नियन्त्रण तथा हवाई उडानलाई व्यवस्थित र सुरक्षित बनाउन सरोकारवालाको ध्यानाकर्षण गराए ।

देशभित्र बारम्बार भइरहेका हवाई दुर्घटनाको अनुसन्धान गरी यसको निर्मुलिकरणका उपाय अपनाउन सबै निकायले चासो दिनुपर्ने उनको भनाइ थियो ।

नेकपा (एकीकृत समाजवादी) का सांसद मदनकुमारी शाहले हवाई यातायातलाई सुरक्षित र व्यवस्थित बनाउन माग गरे । उनले अहिले नेपालमा ४० वर्ष भन्दा बढी पुराना जहाज चलिरहेकाले उडान सुरक्षामा चुनौती थपिएको भन्दै हवाई यातायातलाई गुणस्तरीय र विश्वसनीय बनाउ सरकारको ध्यान जान जरुरी भएको उल्लेख गरे ।

यही जेठ १५ गते पोखराबाट जोमसोमका लागि बिहान ९ः५५ बजे उडेको तारा एयरको ट्वीनअटर विमान सम्पर्कविहीन भई सोमबार बिहान मुस्ताङ्को थासाङस्थित सानोसुरे भन्ने स्थानमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको थियो । उक्त विमानमा सवार तीन चालक दलका सदस्य र १९ यात्रुगरी कूल २२ जनाको दुःखद् निधन भएको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १७ जेष्ठ २०७९, मंगलबार  १८ : ०८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।