पुनर्बीमा कम्पनीले डिम्याट खातामा पठायो बोनस सेयर


नेपाल पुनर्बीमा कम्पनीले गत पुस २२ गतेको साधारण सभाबाट पारित भएको बोनस सेयर डिम्याट खातामा पठाएको छ । अघिल्लो आर्थिक वर्षको आम्दानीबाट बितरण गर्ने भनी पारित गरेको बोनस साधारण सभाको झण्डै ६ महिना पछि डिम्याट खातामा जम्मा गरेको हो । 

कम्पनीले हाल कायम चुक्ता पुँजीको १६.५ प्रतिशत बोनस सेयर डिम्याट खातामा जम्मा गरेको जनाएको छ । 

कम्पनीले २०७८ पुस १३ गतेसम्ममा सेयर अभौतिक गराएकाहरूको हकमा मात्र डिम्याट खातामा बोनस सेयर जम्मा गरिएको जनाएको छ । कागजी सेयर धारण गरेकाहरूलाई सेयर डिम्याट गर्न आग्रह गर्दै इन्स्योरेन्सले सो पश्चात मात्र डिम्याट खातामा बोनस सेयर जम्मा हुने बताएको छ । 

पुस १३ पछि सेयर अभौतिक बनाएका लगानीकर्तालाई क्रमिक रुपमा बोनस सेयर जम्मा गर्दै जाने जनाएको कम्पनीले उक्त दिनसम्म कम्पनीको सेयर धितो बन्धक राखेकाहरूलाई सम्बन्धित बैंकमा सम्पर्क गर्न आग्रह गरेको छ । यस्ता लगानीकर्ताले पाउने बोस सेयर बैंक वित्तीय संस्थाको नाममा रोक्का जनाई सम्बन्धित लगानीकर्ताको डिम्याट खातामा जम्मा गरिसकिएको कम्पनीले जनाएको छ ।

कम्पनीको छैटौँ वार्षिक साधारण सभाबाट पारित १६.५० प्रतिशत बोनसलाई अर्थ मन्त्रालयले समयमा नै वितरणका लागि स्वीकृति नदिँदा साधारण सभाबाट पारित लाभांश वितरणमा ढिलाई भएको हो ।

अर्थको ढिलाईले पुनर्बीमाको नयाँ बोनस घोषणा भइसक्दा पनि पूरानो सूचीकृत भएन

छैटौं वार्षिक सभाबाट पारित चुक्ता पूँजीको २.५० प्रतिशत नगद लाभांश भने कम्पनीले सभा सम्पन्न भएको १५ दिनभित्रै सम्बन्धीत सेयरधनीको बैंक खातामा वितरण गरेको थियो ।

पुनर्बीमा कम्पनीले सेयर प्रिमियमबाट वितरण गरेको लाभांशलाई बीमा समितिले रोकेको थियो । समितिले प्रिमियमबाट भएको आम्दानीलाई लाभांशको रुपमा वितरण गर्दा आयमा गणना गरी कर तिर्नुपर्ने भन्दै फिर्ता गरेको थियो । कम्पनीले कर तिर्नुभन्दा प्रिमियबाट दिन खोजिएको रकम बराबरको लाभांश घटाएर समितिमा स्वीकृतिका लागि पठाएको थियो । त्यसपछि संसोधित लाभांश स्वीकृत भएको थियो ।

कम्पनीले सुरुमा १६.५० प्रतिशत बोनस र ३.५० प्रतिशत नगद प्रस्ताव गरी बीमा समितिको स्वीकृति मागेको थियो । प्रिमियमबाट भएको आम्दानीलाई लाभांश वितरण गर्न स्वीकृति नपाएपछि कम्पनीले आर्थिक वर्ष २०७६।७७ को लाभांशबाट १ प्रतिशत नगद लाभांश घटाएको थियो ।

कम्पनीले असार ५ गते आइतबार मात्रै पछिल्लो आर्थिक वर्ष २०७७।७८ बाट सेयरधनीलाई चुक्ता पूँजीको ५ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १२ असार २०७९, आइतबार  ११ : १५ बजे