अर्थको ढिलाईले पुनर्बीमाको नयाँ बोनस घोषणा भइसक्दा पनि पूरानो सूचीकृत भएन

0
Shares

नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको छैटौं वार्षिक साधारण सभाबट पारित लाभांश साढे पाँच महिना बितिसक्दा पनि सूचीकृत हुन सकेको छैन ।

कम्पनीको छैटौ वार्षिक साधारण सभाबाट पारित १६.५० बोनसलाई अर्थ मन्त्रालयले समयमा नै वितरणका लागि स्वीकृति नदिँदा सभाबाट पारित लाभांश सेयरधनीलाई वितरणमा ढिलाई भएको हो ।

छैटौं वार्षिक सभाबाट पारित चुक्ता पूँजीको २.५० प्रतिशत नगद लाभांश भने कम्पनीले सभा सम्पन्न भएको १५ दिनभित्रै सम्बन्धीत सेयरधनीको बैंक खातामा वितरण गरेको थियो । तर बोनस सेयर भने हालसम्म सूचीकरण हुन सकेको छैन ।

पुनर्बीमा कम्पनीको २०७८ पुस २२ गते सम्पन्न छैटौं वार्षिक साधारण सभाबाट पारित भएको १६.५० प्रतिशत बोनस र बोनसको कर प्रयोजनका लागि समेत २.५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।

कम्पनीले आज (असार ५ गते आइतबार) मात्रै पछिल्लो आर्थिक वर्ष २०७७।७८ बाट सेयरधनीलाई चुक्ता पूँजीको ५ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

कम्पनीको सेयर रजिष्ट्रार आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेडले आर्थिक वर्ष २०७६।७७ बाट वितरण भएको उक्त लाभांश सूचीकरणको अन्तिम चरणमा रहेको बताएको छ ।

“सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडमा दर्ता तथा सूचीकरणको काम सम्पन्न भैसकेको छ । सिडिएसबाट लिस्टिङ्ग भएपछि नेप्सेमा आउँछ । नेप्सेमा सूचीकणरका लागि पनि हामीले आवश्यक कागजात पठाइसकेका छौं ।” नोटबजारसँगको कुराकानीमा आरबिबि मर्चेन्टका एक अधिकारीले भने, “अर्थमन्त्रालयबाटै स्वीकृतिमा ढिलाई हुँदा समयमा नै सेयर सूचीकरण हुन नसकेको हो । अब दुई तीन दिनभित्रै सूचीकरण हुन्छ ।”

पुनर्बीमा कम्पनीले सेयर प्रिमियमबाट वितरण गरेको लाभांशलाई बीमा समितिले रोकेको थियो । समितिले प्रिमियमबाट भएको आम्दानीलाई लाभांशको रुपमा वितरण गर्दा आयमा गणना गरी कर तिर्नुपर्ने भन्दै फिर्ता गरेको थियो । कम्पनीले कर तिर्नुभन्दा प्रिमियबाट दिन खोजिएको रकम बराबरको लाभांश घटाएर समितिमा स्वीकृतिका लागि पठाएको थियो । त्यसपछि संसोधित लाभांश स्वीकृत भएको थियो ।

कम्पनीले सुरुमा १६.५० प्रतिशत बोनस र ३.५० प्रतिशत नगद प्रस्ताव गरी बीमा समितिको स्वीकृति मागेको थियो । प्रिमियमबाट भएको आम्दानीलाई लाभांश वितरण गर्न व्ीकृति नपाएपछि कम्पनीले आर्थिक वर्ष २०७६।७७ को लाभांशबाट १ प्रतिशत नगद लाभांश घटाएको थियो ।

छैटौं वार्षिक साधारण सभा तथा लाभांश वितरणका लागि पुनर्बीमाले २०७८ पुस १४ गते बुकक्लोज गरेको थियो । बुकक्लोज अनुसार पुस १३ गतेसम्म नेप्सेमा सेयर कारोबार भई कायम रहेका सेयरधनीहरुले मात्र उक्त बोनस पाउनेछन् ।

कम्पनीमा सर्वसाधारणको १६ प्रतिशत, विभिन्न कम्पनीको ३९.९६ प्रतिशत र सबैभन्दा धेरै हिस्सा रहेको सरकारको ४४.०४ प्रतिशत छ । पुनर्बीमा कम्पनीको रुपमा नेपालमा भित्रिएको नेपाल पुनर्बीमा कम्पनीले २०७६ साल चैत ४ गतेदेखि ७ गतेसम्म सर्वसाधारणमा आईपीओ बिक्री गरेको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ५ असार २०७९, आइतबार  १८ : ४४ बजे