करिब एक दर्जन लघुवित्तलाई मर्जर तथा प्राप्ती पश्चात संस्थापक सेयर र सर्वसाधारण सेयर पुँजीको अनुपात मिलान गर्नुपर्ने अवस्था छ ।
मर्जर तथा प्राप्तीका कारण संस्थापक र साधारण सेयरको विद्यमान कानुनी संरचना बिग्रिएपछि ती कम्पनीहरुले प्रिमियममा एफपीओ निष्कासन गरेर तोकिएको सेयर अनुपात कायम गर्न लागेको हुन् । यहि भीडमा थपिएको छ महुली लघुवित्त ।
नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत नभएका लघुवित्त संस्थाहरुसँगको सूचीकृत कम्पनीहरुले मर्जर तथा प्राप्ती गरेपछि बनेका एकीकृत संस्थालाई एफपीओ निष्काशन गरेर संस्थापक र सर्वसाधारणको हिस्सा कायम गर्नुपर्ने अवस्था आएको हो ।
सर्वसाधारणमा ३० प्रतिशत सेयर निष्काशन गरेर सूचीकृत भएका लघुवित्तले सर्वसाधारणमा सेयर जारी नगरेका संस्थालाई प्राप्ति तथा मर्जर गरेपछि बढ्ने संस्थापकको हिस्सालाई घटाउन थप सार्वजनिक निष्काशन अर्थात फर्दर पब्लिक अफरिङ (एफपीओ) निष्काशन गर्नु पर्ने हुन्छ ।
सेयर संरचना मिलाउनुपर्ने लघुवित्तमध्ये ६ कम्पनीले ३२ कराेड २० लाख ३ हजार १६४ रुपैयाँ बराबरको थप सार्वजनिक निष्काशन (एफपीओ) जारी गर्न नेपाल धिताेपत्र बाेर्डसँग अनुमति मागेका छन् । ती कम्पनीहरुले बोर्डसँग २५ लाख २६ हजार ५४१ कित्ता एफपीओ निष्कासन तथा स्वीकृतिको अनुमति माग्दै निवेदन दिएका हुन् । बाँकी कम्पनीहरूले पनि प्रकृया अगाडि बढाउँदै लगेका छन् ।
बत्तिस करोड मूल्यको एफपीओ निष्काशन तयारीमा ६ लघुवित्त
सप्तरीमा रहेको महुली सामुदायिक लघुवित्त (तत्कालीन महुली लघुवित्त) ले पनि संस्थापक र सर्वसाधारणको सेयर अनुपात मिलाउनका लागि एफपिओ निष्काशनको प्रकृया सुरु गरेको हो ।
महुली लघुवित्तले सर्वसाधारणमा सेयर जारी नगरेको नवकिरण लघुवित्तसँग १००ः९५ सेयर स्वापमा मर्जर सम्पन्न गरेर महुली सामुदायिक लघुवित्तको नामबाट एकीकृत कारोबार गर्न थालेको थियो ।
लघुवित्तमा संस्थापक शेयरको हिस्सा ७० प्रतिशतभन्दा माथि पुगेपछि एफपीओबाट त्यसलाई घटाउनका लागि ४ लाख १६ हजार १४७ कित्ता थप नयाँ सेयर निष्काशन गर्न लागेको हो ।
लघुवित्तले उक्त संख्यामा एफपीओ निष्काशन गर्ने प्रस्ताव २०७८ पुस २४ गते सम्पन्न साधारण सभाबाट पारित गरेको थियो । उक्त निर्णय अनुसार एफपीओको निष्काशन तथा बिक्री प्रबन्धकत्व गर्नका लागि इच्छुक मर्चेण्ट बैंकरसँग आवेदन माग गरेको छ ।
विसं २०७७ मंसिर ८ गतेदेखि मर्जर पूरा गरी एकीकृत कारोबार थालेको लघुवित्तको चुक्ता पूँजी १८ करोड ६६ लाख २० हजार रुपैयाँ कायम भएको थियो । मर्जर पहिले १२ करोड २४ लाख रुपैयाँ रहेको महुलीको पूँजीमा नवकिरणको ६ करोड ७६ लाख रुपैयाँ पूँजीमध्ये ९५ प्रतिशत स्वाप बराबरको ६ करोड ४२ लाख २० हजार रुपैंया पूँजी थप भएको थियो ।
मर्जर पहिलेको महुलीको १२ करोड २४ लाख रुपैयाँ पूँजीमा ७० प्रतिशत अर्थात ८ करोड ५६ लाख ८० हजार रुपैयाँ संस्थापकको र ३ करोड ६७ लाख २० हजार रुपैयाँ सर्वसाधारणको पूँजी थियो ।
नवकिरणको ६ करोड ४२ लाख २० हजार रुपैयाँ संस्थापक पूँजी थपिएपछि संस्थापक र सर्वसाधारणको हिस्सा ८०.३२ प्रतिशत र १९.६८ प्रतिशत कायम भएको थियो । मर्जरपछिका वर्षहरुमा बोनस सेयर वितरण गर्दा पनि लघुवित्तको सेयर संरचनामा परिवर्तन भएको छैन भने पूँजीको आकार बढ्दै गएको छ ।
एकीकृत कारोबार सुरु भएयता लघुवित्तले वितरण गरेको बोनसपछि अहिले महुली सामुदायिक लघुवित्तको चुक्ता पूँजी २८ करोड २१ लाख ६९ हजार रुपैयाँ छ । ४ लाख १६ हजार १४७ कित्ता एफपीओबाट ४ करोड १६ लाख १४ हजार रुपैयाँ पूँजी थप भई ३२ करोड ३७ लाख ८३ हजार रुपैयाँ पुग्नेछ भने संस्थापकको हिस्सा ७० र सर्वसाधारणको ३० प्रतिशत कायम हुनेछ ।
विसं २०७० जेठ ३० गतेदेखि कारोबार महुली लघुवित्तको नामबाट कारोबार सुरु गरेको संस्थाले २०७४ बैशाखमा १ करोड २० लाख रुपैयाँ बराबरको १ लाख २० हजार कित्ता सेयर सर्वसाधारणमा निष्काशन गरेको थियो ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।












प्रतिक्रिया