श्रमिकको योगदानको उचित कदर हुनेगरी काम गछौं – श्रममन्त्री कुँवर


श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले श्रमिकको योगदानको उचित मुल्यांकन हुनेगरी काम गर्ने प्रतिबद्धता जनाएका छन् ।

मन्त्रालयमा आइतबार भएको सामाजिक सरक्षा कोष र श्रम तथा व्यवसायजन्य सुरक्षा विभागको ब्रिफिङ कार्यक्रममा बोल्दै मन्त्री कुँवरले देश तथा विदेशमा रहेका सबै श्रमिकको उचित कदर हुनेगरी काम गर्ने प्रतिबद्धता गरेका हुन् ।

उनले श्रमिकको हक हित संरक्षणका लागि ट्रेड यूनियन र राजनितिक दलका भातृ संगठनले विरोध भन्दा पनि अनुशासित तरिकाले लाग्नु पर्ने बताए । उनले भने, ‘म पनि श्रमिकको न्यायको पक्षमा काम गर्ने छु । त्यसैले बन्द, हड्ताल, ताला बन्दी भन्दा पनि शान्तिपूर्ण तरिकाले श्रमिकलाई न्यायको अनुभुति हुने काम गरौं ।’

मन्त्री कुँवरले वैदेशिक रोजगारीमा गएका युवाले पठाएको रेमिटेन्सले देशको रोयल्टी बढाउने काम गरेकाले उनीहरुको उचित मुल्यांकन हुनेपर्ने बताएका छन् ।

श्रमिकलाई काम गर्ने वातावरण सहज बनाउनका लागि कानुनमा भएका केही झन्झटीला प्रावधानलाई संसोधन गर्न पनि सहयोग गर्ने उनले बताए । त्यस्तै उनले खाडी मुलुकमा मात्रै नभएर भारतमा रहेका श्रमिकका समस्यालाई पनि ध्यानमा राखेर काम गर्न सन्बन्धित विभागलाई आग्रह गरेका छन् ।

कार्यक्रममा सामाजिक सरक्षा कोषले अहिलेसम्म गरेका काम र भएका उपलब्धीका साथै आगामि दिनमा गर्न सकिने कामको बारेमा कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालिले जानकारी गराएका थिए ।

त्यस्तै श्रम तथा व्यवसायजन्य सुरक्षा विभागको बारेमा विभागका महानिर्देशक उमाकान्त आचार्यले जानकारी गराएका थिए । श्रममन्त्री कुँवर मन्त्री नियुक्त भएपछि मन्त्रालय अन्तरगतका विभिन्न विभागहरुको ब्रिफिङ लिइरहेका छन् ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।