मर्जरमा रहेको गुराँस लाइफको व्यवसाय घट्दा नाफा कसरी बढ्यो ?


प्राइम तथा युनियन लाइफसँग मर्जरको प्रकृयामा रहेको गुराँस लाइफ इन्स्योरेन्सले अघिल्लो आर्थिक वर्षको तुलनामा खुद नाफा बढाएको वित्तीय विबरण सार्वजनिक गरेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा व्यवसाय घट्दा पनि नाफा बढेको तथ्यांक इन्स्योरेन्सको वित्तीय विबरणमा छ ।

विबरण अनुसार गत आर्थिक वर्षको चौथो त्रैमासमा इन्स्योरेन्सले १७ करोड ५१ लाख ८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षको यसै अवधिमा इन्स्योरेन्सले १२ करोड १३ लाख ७५ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । समीक्षा अवधिमा इन्स्योरेन्सको खुद नाफा ४४.२७ प्रतिशतले बढेको हो ।

खुद बीमाशुल्कका साथै अन्य आयका शीर्षक घटेका कारण बीमा सम्बन्धि व्यवसायबाट हुने कुल आय ४ अर्ब ६५ करोड ७ लाख रुपैयाँबाट घटेर ४ अर्ब १९ करोड ७० लाखमा झरेको कम्पनीको बीमा व्यवसायसँग प्रत्यक्ष जोडिएका खर्च पनि १ अर्ब ६९ करोड ८६ लाखबाट २ अर्ब ३५ करोड ४६ लाख पुगेको छ ।

समीक्षा अवधिमा उल्लेखित आय तथा व्यवको समायोजनबाट हुने बचत रकम २ अर्ब ९५ करोड २१ लाख रुपैयाँबाट १ अर्ब ८४ करोड २३ लाखमा झरेको इन्स्योरेन्सले अघिल्लो आर्थिक वर्षमा २ अर्ब ९३ करोड ३८ लाख रुपैयाँ रकम जीवन बीमा कोषमा सारेकोमा गत आर्थिक वर्षमा १ अर्ब ८५ करोड ६१ लाख मात्र सारेको छ ।

जीवन बीमा कोषमा सारेपछि नोफा नोक्सान हिसावमा सार्ने रकम अघिल्लो आर्थिक वर्षमा १ करोड ८२ लाख ९० हजार रुपैयाँ रहेकोमा गत आर्थिक वर्षमा १ करोड ३७ लाख रुपैयाँले ऋणात्मक भएको छ ।

नाफा नोक्सान हिसाव अन्तरगत १४ करोड १ लाख रुपैंयाको लगानी, कर्जा तथा अन्यबाट हुने आम्दानी रकम बढेर २५ करोड ९ लाख रुपैयाँ पुगेको छ । ६ करोड ५० लाख रुपैयाँको व्यवस्थापन खर्च घटेर ६ करोड २० लाख कायम भएसँगै व्यवसाय घट्दा पनि इन्स्योरेन्सको खुद नाफाको रकम बढेको हो ।

जीवन बीमा कोषमा सार्ने रकमको गिरावट तथा लगानी, कर्जा तथा अन्यबाट हुने आम्दानी बढेका कारण नै इन्स्योरेन्सको खुद नाफा ४४.२७ प्रतिशतले बढेको हो ।

समीक्षा अवधिमा १ अर्ब ९७ करोड ५६ लाख रुपैयाँको चुक्ता पुँजीलाई २ अर्ब ८ करोड ४२ लाख पुर्याएको इन्स्योरेन्सको जगेडा कोष ५३ करोड ८४ लाखबाट ५८ करोड ७४ लाखमा उक्लिएको छ । योसँगै कम्पनीको प्रतिसेयर आम्दानी ८ रुपैयाँ ४० पैसा कायम भएको छ भने प्रतिसेयर नेटवर्थ १३१ रुपैयाँ ३८ पैसा छ ।

१० अर्ब ५९ करोड ३९ लाख रुपैयाँको जीवन बीमा कोषको आकार १२ अर्ब ४५ करोड रुपैंया पुगेको इन्स्योरेन्सले गत आर्थिक वर्षमा १ अर्ब ६२ करोड ८५ लाख रुपैयाँको बीमा दाबी भुक्तानी गरेको छ । अघिल्लो आर्थिक वर्षमा इन्स्योरेन्सले ६६ करोड २७ लाख रुपैयाँको दाबी भुक्तानी गरेको थियो ।

कुल १ लाख ६३ हजार ५११ वटा बीमालेख जारी गरेको इन्स्योरेन्सले १२ वटा बीमा दाबी वापत २० लाख ८२ हजार रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।