यती एयरलाइन्सले थप्यो नयाँ विमान

0
Shares

निजी क्षेत्रको अग्रणी वायुसेवा कम्पनी यती एयरलाइन्सले सेवा विस्तार गर्ने क्रममा एटिआर ७२-५०० विमान थप गरेको छ । यतीको यो छैटौं विमान आज दिउँसो १५ः१५ मिनेटमा त्रिभुवन अन्तरास्ट्रिय विमानस्थल काठमाण्डौंमा अवतरण गरेको हो ।

यतीले ७० सिट क्षमताको उक्त विमान अष्ट्रेलियाको एभियसन कम्पनीसँग लिजमा ल्याएको हो । उक्त विमान क्याप्टेन ओलिभर ज्यासन ज्याफ्रीले अष्ट्रेलिया , सिंगापुर, थाईल्याण्ड हुँदै नेपालमा ल्याएको कम्पनीका प्रवक्ता तथा हवाई सुरक्षा प्रमुख सुदर्शन बर्तौलाले जानकारी दिए।

एमएसएन नम्बर ९८६ सिरिजको उक्त बिमानको पहिलो उडान सन् २०११ मा भएको थियो । जम्मा १० हजार साइकल मात्र उडान गरेको उक्त विमान नेपालमा उडान गर्ने अन्य विमानभन्दा पछिल्लो विमान भएको कम्पनीले दाबी गरेको छ । एटिआर विमानको जम्मा साइकल ७० हजार हुन्छ । एक अवतरणलाई एक साइकल गणना गरिन्छ ।

विमान संख्या थप गरेसँगै कम्पनीले हाल उडान गर्ने गन्तव्यमा नै सेवा विस्तार गर्ने नीति लिएको प्रवक्ता बर्तौलाले जानकारी दिए । विमानको आवश्यक कागजी प्रक्रिया पूरा गरी रंगरोगन गरे पश्चात् विमानले दशैं अगाडि नै उडान गर्नेछ, यसले गर्दा दशैंको बेला हुने टिकट अभावलाई पूरा गर्न सहयोग हुने विश्वास लिएका छौं ।

यहि आर्थिक वर्षभित्र अर्को एक विमान थप गर्ने र त्यसपछि नयाँ गन्तब्यहरुमा सेवा विस्तार गर्ने उनले बताए । विमान थप भएपछि ५ वटा विमानलाई आधार बनाई उडान गर्ने र एउटा विमानलाई जगेडामा राखी मर्मत तथा उडान ढिला हुँदा प्रयोग गरिने कम्पनीले जनाएको छ ।

एटिआर ७२-५०० टर्बोप्रप विमानको पछिल्लो पुस्ताको प्रतिनिधित्व गर्दछ । ७० सिटको क्षमताको यो विमान टर्बोप्रप इन्जिन भएको उत्कृष्ट विमान मानिन्छ। पिडब्लू १२७ इन्जिनहरूद्वारा सञ्चालित एटिआर ७२-५०० यस आकारको विमानको लागि उत्कृष्ट मानिन्छ । अन्य विमान भन्दा कम आवाज र कम्पन हुने तथा भित्री इन्टेरियर उत्कृष्ट भएकोले उडानको क्रममा आरामदायी हुनेछ । यो विमान नयाँ पुस्ताका जेटहरू भन्दा प्रति यात्रु किमीमा लगभग ५० प्रतिशत कम कार्बन उत्सर्जन गर्दछ र पुराना विमानहरू भन्दा तीन गुणा कम कार्बन उत्सर्जन गर्दछ । यती एअरलाइन्स दक्षिण एशियामा पहिलो कार्वनन्युट्रल एअरलाइन्स हो ।

एअरलाईन्सले हाल नेपालको सुगम गन्तव्यहरु काठमाण्डौं, चन्द्रगढी, विराटनगर, जनकपुर, सिमरा, पोखरा, भैरहवा, नेपालगन्ज लगायत पर्वतीय उडानहरु गर्दै आएको छ भने अन्तरास्ट्रिय तर्फ चार्टर र नन सेड्युल उडान गर्ने अनुमति पाएको छ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।