भद्र सहमति टुट्दा बैंकरका गलत अभ्यासले नयाँ रुप लिने जोखिम

0
Shares

बैंकर्स संघले ब्याजदरमा गर्दै आएको भद्र सहमतिलाई औपचारिक रुपमा नै खुला छाडेपछि बैंकिङ क्षेत्रमा गलत अभ्यासले नयाँ रुप लिने जोखिम बढेको छ ।  बैंकहरुको बोली र ब्यवहार एकै नहुँदा टुटेको सहमतिले बढाउने लागत समायोजन गर्न गलत अभ्यासले बढवा पाउने तथा नयाँ रुप लिने संकेत देखिएको हो ।

बिहीबार भद्र सहमति तोडेका बैंकरहरुले शुक्रबार असोज महिनाका लागि ब्याजदर सार्वजनिक गरेका छन् ।

बैंकहरुले असोजका लागि तय गरेको ब्याजदर बचतमा १० प्रतिशत भन्दा माथि छ भने मुद्दती निक्षेपमा १५ प्रतिशत भन्दा माथि पु¥याएका छन् । त्यसैगरी कर्जाको ब्याजदर पनि बढाएर १८ प्रतिशतसम्म पु¥याएका छन् ।

बैंकहरुले बिहीबारसम्म मुद्दती निक्षेपको अधिकतम ब्याजदर ११.०३ प्रतिशतको सहमति गरेका थिए । उक्त सहमतिलाई खुला रुपमा छोड्दा पनि नेपाल राष्ट्र बैंकको निर्देशनले आगामी महिनाका लागि ब्याजदर प्रकाशन गर्दा चालु महिनाको ब्याजदरको १० प्रतिशतले मात्र बढाउन पाउने व्यवस्था गरेको छ । सो अनुसार बैंकहरुको मुद्दती निक्षेपको अधिकतम ब्याजदर १२.१३ प्रतिशत हुनुपर्छ । तर, बैंकहरुले त्यसमा दशमलव पछिका अंकहरुमा थप गरेको देखिन्छ ।

त्यसका साथै नेपाल राष्ट्र बैंकले रेमिट्यान्सलाई बैंक वित्तीय संस्थाको मुद्दती तथा बचतमा राख्दा न्यूनतम एक प्रतिशत विन्दुले धेरै दिन पाउने व्यवस्था गरेको छ । केन्द्रीय बैंकले सो व्यवस्थामा अधिकतमको सीमा तोकेको छैन । त्यसैमा टेकेर बैंकहरुले १५.१३ प्रतिशतसम्म अफर गरेका छन् । यसमा पनि बैंकहरुले प्रतिस्पर्धा सुरु गरेका छन् । यस्तो निक्षेपमा बैंकहरुले एक देखि ३ प्रतिशतको विन्दुले बढी ब्याजदर दिने निर्णय गरेका छन् ।
बैंकहरुको यो अभ्यासले आगामी दिनमा ब्याजदर झनै बढ्ने देखिएको छ । स्रोत अभावमा कर्जा लगानी नगरी बसेका बैंकहरुले आफ्नो निक्षेप जोगाउन भएपनि रेमिट्यान्सलाई निक्षेप राख्दा दिइने ब्याजदर बढाउने निश्चित छ । यसले बैंकिङ क्षेत्रको कस्ट बढाउने मात्र नभई कर्जा लगानी समेत बढ्ने अवस्था हुँदैन । त्यसपछि बैंकहरुले पुराना ग्राहकलाई नै अनेक बाहानामा हस्तान्तरण गर्ने एक बैंकरले बताए ।

“बैंकहरुले संघमा एउटा सम्झौता गर्ने र काम गर्दा त्यसको विपरित गर्ने,” ती बैंकरले भने, “ब्याजदर बढाएर नयाँ स्रोत बढ्ने नभई एक बैंकबाट अर्कोमा जाने मात्र हुने भएकाले त्यस्तो गलत अभ्यास गर्ने बैंकहरुलाई एसोसियशन मार्फत धेरै सम्झाउँदा समेत नभएपछि खुला नै छोडिएको हो ।” साथीहरुले आफैँले हस्ताक्षर गरेको सम्झौता समेत पालना नगरेपछि त्यसलाई कायम राख्न जरुरी नभएको भन्दै छलफल सुरु भएको संघको बैंठक खुला छोड्ने सहमतिमा पुगेपछि सोही निर्णय गरेको उनले जानकारी दिए ।

बैंकहरुले निक्षेप तान्नका लागि दैनिक चक्रिय ब्याजदर, त्रैमासिक भुक्तानी गर्ने भनेको ब्याजदर अहिले मासिकबाट पनि दैनिक रुपमा पदँदै आएको उनले बताए । “कुनै बैकले दैनिक मात्र नभई दिनमै २ पटकसम्म पनि ब्याज भुक्तानी दिने गरेको सुन्नमा आएको छ,” ती बैंकरले थपे ।
सहमतिलाई पालना नगर्ने एनआईसी एसिया बैंक पहिलो रहँदै आएको छ । त्यसको शिकार बैंकका सेयरधनी भए । सेयरधनीले गत आर्थिक वर्षको नाफाबाट लाभांश पाउन सकेनन् । बैंकले जसरी हुन्छ व्यवसाय विस्तार गर्ने नीति लिँदा लगानीकर्ता त्यसको शिकार भएका हुन । एनआईसी एशियाको पछिपछि कुमारी बैंक, ग्लोबल आइएमई लगायतका धेरै बैंकहरु निक्षेप तान्ने, व्यवसायी विस्तार गर्न अनेकन गलत अभ्यासहरुलाई अनुसरण गर्न थाले । बैंकहरुले समग्र बजार विगार्ने तथा गलत अभ्यासलाई अनुसरण गर्नका नेपाल राष्ट्र बैंकको पनि कमजोरी देखिन्छ । राष्ट्र बैंकले तदारुकताका साथ कारबाही नगर्र्दा पनि गलत अभ्यास बढेको देखिन्छ ।

बैंकहरु ब्याजदर बढाउन भेटेसम्मका छिद्रलाई प्रयोग गर्न सुरु गरिसकेको बताउँदै ती बैंकरले भने, “बैंकरहरुले बोल्ने र गर्ने ब्यवहार एक नहुँदा ब्याजदर बढ्ने क्रम उच्च हुने भयो ।” गलत अभ्यास र ब्याजदर बढाएर अर्को संस्थाकोे निक्षेप खोस्ने बैंकहरुलाई पनि आगामी दिन गाह्रो हुने उनको बुझाई छ । “ब्याजदर बढ्दा प्रिमियममा चलखेल गर्ने वा ऋणीलाई दुःख दिने विगतका घट्ना पुनः दोहोरिने स्पष्ट छ,” ती बैंकरले थपे, “अहिले बढेको ब्याजदरले मासिक ५ करोड रुपैयाँसम्म खर्च बढ्ने निश्चित छ । यो खर्च ‘पासअन’ गर्नका लागि बैंकहरुले फेरि अर्को गलत अभ्यास सुरु गर्छन् वा विगतको गलत अभ्यासलाई नयाँ रुप दिन्छन् ।” बैंकहरुले विभिन्न शुल्कहरु बढाउने, प्रिमियममा चलखेल गर्ने लगायत गलत अभ्यासलाई बढवा दिने क्रम दोहोरिने उनको बुझाई छ ।

बैंकहरुको भद्र सहमति टुट्नुलाई राष्ट्र बैंकका अधिकारीहरुले भने सामान्य रुपमा लिएको देखिन्छ । बैंकहरुले राष्ट्र बैंकको व्यवस्था अनुसार असोज महिनाका लागि बढाएर ब्याजदर प्रकाशित गरेको बताउँदै केन्द्रीय बैंकका एक अधिकारीले भने, “रेमिट्यान्सको सन्दर्भमा न्यूनतम एक प्रतिशत विन्दुले बढाउनु पर्ने व्यवस्था गरेको छ । बैंकहरुले त्यो भन्दा बढी दिन पाइँदैन भन्ने छैन ।

अर्थतन्त्रको पछिल्लो अवस्थाले पनि ब्याजदर बढाउनुपर्ने माग गरिरहेको छ ।” बृहत अर्थशास्त्रको स्थायित्वको हिसाबबाट दसैं तिहारको समयमा सर्वसाधारण गर्ने खर्च घटाई केही भएपनि बचत बढाउन समेत यसले मद्दत गर्ने ती अधिकारीको भनाई छ । बैंकहरुले गर्ने गलत अभ्यासको सन्दर्भमा राष्ट्र बैंकले नजिकबाट निगरी राख्दै आएको हुनाले सर्वसाधारणलाई अन्याय हुन नदिने समेत उनले बताए ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।